माक्र्सवादबाट संशोधनवादहुँदै अवसरवादमा संक्रमण

राजनीति भन्नासाथ त्यो बिचार, सिद्धान्त, निष्ठा र आदर्शले चल्ने कुरा हो । जसमा त्यागको पनि त्यतिकै आवश्यकता र महत्व रहेको हुन्छ । जब उपरोक्त सबै कुराहरु बिर्सेर राजनीतिमा व्यक्तिको निहित स्वार्थ हाबिहुँदै जान थाल्दछ, तव यसले संशोधनवादको बाटोहुँदै अवसरवादमा संक्रमण गर्दछ । नेपालमा कतिपयले केही बर्षको अन्तरालमा माक्र्सवादबाट संशोधनवादहुँदै अवसरवादमा गरेको संक्रमण ताजा र ब्याख्या/बिश्लेषण लायक बिषय भएको छ । पछिल्लो समयमा कतिपय पार्टी र देशनै अवसरवादीहरुको हातमा पुगेको अवस्था छ । त्यसैले नेपालका प्राय: दल र देशमै बिभिन्न समस्या र जटिलताहरु बढ्दैगएका छन् । बिचार, सिद्धान्त, निष्ठा र आदर्शशून्य नेतृत्वबाट कुनैपनि पार्टी र देश अगाडि बढ्न सक्दैन । त्यसले पार्टी र देशलाई दुर्घटनामा पुर्‍याउने अनेक घटनाहरुले स्पष्ट गरेका छन् । माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिद्धान्त हो । मालेमावाद संसार बदल्ने बैचारिक हतियार पनि हो । मालेमावादलाई आफ्नो जीवन पद्धतिकारुपमा नअपनाई कोही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्न सक्दैन । माक्र्सवादी दर्शन द्वन्दात्मक भौतिकवादी दर्शन हो । माक्र्सवाद द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणमा आधारित रहेको छ । विश्व सर्बहारा बर्गमा महान नेता लेनिनका शब्दमा हरेक नयाँ परिस्थितिअनुसार आफ्नो व्यवहार बनाउनु, आपूmलाई आपैmले त्यसबेलाका घटनाहरु र राजनैतिक हावापानीअनुसार फेरिदिनु र सर्वहारा वर्गका मुख्य,मुख्य हितहरुलाई क्षणिक फाइदाका लागि दुरुपयोगगर्नु नै संशोधनवादको नीति हो । हालसम्मका घटनाहरुले के देखाएका छन्भने संशोधनवादको मुख्य उद्देश्यनै पूँजीवादी व्यवस्थामा फर्कनु हो । माक्र्सवादी नारा र पूँजीवादी बिचारधारानै उनीहरुको मूल बिशेषता हो । माक्र्सवाद–लेनिनवादको मूलमर्म भन्नुनै सर्वहारा अधिनायकत्व, सशस्त्र संघर्र्ष र निजी सम्पत्तिको उन्मूलनलगायत हुन् । तर संशोधनवादले ब्यवहारमा उपरोक्त कुराहरुको इन्कार गरेको हुन्छ । उनीहरु अन्तत संसदीय राजनीति अपनाउन पुग्दछन् । त्यसैबाट समाजवाद आउने प्रचार पनि गर्दछन् । तर संशोधनवादको उद्देश्य नै समाजवादी व्यवस्थालाई पूँजीवादमा रुपान्तरणगर्नु भएकाले उनीहरुबाट समाजवादको स्थापना हुने कल्पना पनि गर्न सकिँदैन ।
प्रतिक्रियावादीहरु खुलेरै र सोझै माक्र्सवादीहरुको बिरोधमा देखा पर्दछन्भने संशोधनवादीहरु छद्मरुपमा देखापरेका हुन्छन् । जसलेगर्दा क्रान्तिकारीरुका लागि संशोधनवादी शक्ति सबैभन्दा खतर्नाक हो । उनीहरुले समाजमा फैलाएका भ्रमहरुलाई दरोसँग चिरफार र प्रतिवाद नगरेसम्म क्रान्तिकारी शक्ति अगाडि बढ्नै सक्दैन । संशोधनवादलाई समाजको मन्द बिषकारुपमा चित्रणगर्नु उपयुक्त हुन्छ । जसले मुख्यत क्रान्तिकारीहरुलाई पतनको अवस्थामा पुर्‍याइ दिन्छन् । त्यसैगरी क्रान्तिको मुख्य हितलाई छोडेर ससाना र क्षणिक हितहरुलाई अपनाउने दृष्टिकोणनै अवसरवाद हो । क्रान्तिको सम्भावना हुँदाहुँदै पनि शान्तिपूर्ण संघर्र्ष नाममा आत्मसमर्पणवादी नीतिलाई अपनाउनु दक्षिणपन्थी अवसरवाद हो । क्रान्तिका लागि बस्तुगत र आत्मगत परिस्थिति तयार हुनुपर्दछ । तर त्यस्तो परिस्थिति तयार नहुँदै क्रान्तिको आह्वान गर्नुलाई वामपन्थी अवसरवाद भन्ने गरिन्छ । जो अन्तत संशोधनवादी बाटोहुँदै दक्षिणपन्थी अवसरवादमै पुग्दछ । दक्षिणपन्थी अवसरवादले शत्रुलाई पनि मित्र सम्झने र वामपन्थी अवसरवादले मित्रलाई पनि शत्रु सम्झने गरेका नेपालमै अनेक उदाहारणहरु रहेका छन् । सारमा उक्त दुवै खाले अवसरवाद माक्र्सवाद–लेनिनवाद विरोधी हुन् । विश्व कम्युनिष्ट आन्दोलनले संशोधनवाद र अवसरवादको मार निरन्तर रुपमा खेप्दै पनि आएको छ । जसकाबारेमा ठोस परिस्थितिको ठोस बिश्लेणका माद्यमबाट थाहापाउन सकिन्छ । संशोधनवाद फरक मुलुकको र फरक परिस्थितिअनुसार विकसित भएको हुन्छ । तथापि संशोधनवादका बिशेषताहरु प्राय: मिल्दाजुल्दानै रहेका हुन्छन् । कम्युनिष्ट पार्टीहरुले पार्टीमा निरन्तर शुद्धिकरण आन्दोलन सञ्चालन नगरेसम्म यस्ता बिभिन्न किसिमका भड्काउहरुबाट आफू र क्रान्तिलाई कसैगरे पनि बचाउन नसकिने हुन्छ । लेनिनको नेतृत्वमा सोभियत संघमा विश्वमै पहिलोपटक समाजवादी व्यवस्था स्थापना भएको थियो । जहाँ स्टालिनको पालासम्मनै संशोधनवादका बिरुद्ध निर्मम संघर्ष चलाउनु परेको थियो । सन् १९१७ को रुसी क्रान्तिको साथ सोभियत संघ स्थापनाको प्रक्रिया शुुरुभएको थियो । रुसी साम्राज्यको जार (सम्राट) लाई सत्ताबाट हटाएपछि भ्लादिमिर लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीले सत्ता कब्जा गरेको थियो । सन् १९२२ को डिसेम्बरमा बोल्सेभिकले पूर्ण जीत हाँशिल गरेपछि लेनिनले रुस, युक्रेन, बेलारुस र कोकस क्षेत्रलाई समायोजनगरी सोभियत संघको स्थापनाको घोषणा गर्नुभएको थियो । सन् १९२४ मा लेनिनको मृत्युपछि जोसेफ स्टालिन सत्तामा आउनु भएको थियो । उहाँले सोभियत संघमा औद्योगीकरणगर्दै देशलाई अगाडि बढाउनु भएको थियो । सन् १९५३ मा स्टालिनको मृत्युपछि त्यहाँ संशोधनवादले टाउको उठाएको थियो । सन् १९९१ को डिसेम्बर २५ मा मिखाइल गोर्भाचोभले सोभियत संघको राष्ट्रपति पदबाट आधिकारिकरुपमा राजीनामा दिएको भोलिपल्ट त्यहाँको संसदले १५ स्वतन्त्र राज्यहरुको स्वतन्त्रतालाई मान्यता दिएपछि सोभियत संघको अस्तित्व समाप्त भएको थियो । कुनै समयमा विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको प्रतीक चिन्हकारुपमा रहेको हँसिया हतौडा अंकित रातो झन्डा क्रेमलिनमा तल झारिएको थियो । ५४ वर्षको उमेरमा गोर्भाचोभ सन् १९८५ मा सत्तामा आउनु भएको थियो । त्यसपछि नै सुधारवादी राजनीतिलाई तीब्रता दिइएको थियो ।
अन्तिम सोभियत नेता गोर्बाचोभले देशमा ग्लास्नोस्त नामक राजनीतिक खुलापनको आर्थिक ढाँचा ल्याएपछि त्यहाँको कम्युनिष्ट सत्ताको पतन तीब्र भएको थियो । त्यसैगरी माओको नेतृत्वमा सन् १९४९ अक्टोबर एकमा सम्पन्न चिनियाँ नयाँ जनवादी क्रान्तिद्वारा निर्माण भएको चीनको समाजवाद पनि सन् १९७६ सेप्टेम्बर नौका दिन माओको निधन भएको ठीक एक महिनापछि सन् १९७६ अक्टोबर छका दिन संशोधनवादी देङ सियाओ पिङ समूहले चिनियाँ समाजवादमाथि भीषण हमला गरेर प्रतिक्रान्ति गरेको थियो । त्यसपछि चीनमा पूँजीवादको स्थापना भएको हो । मुख्यत रुस, चीन, र भियतनामलगायतका समाजवादी देशहरुमा भएका प्रतिक्रान्तिहरुले विश्व कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुर्‍याएको छ । रुस, चीन, लगायतका देशहरुमा भएका प्रतिक्रान्तिका अनुभवहरुले कुनै देशमा क्रान्तिभन्दा पहिले र क्रान्तिपछि पनि संशोधनवादका विरुद्ध सधैं सर्तक हुनुपर्ने र त्यसका विरुद्ध बैचारिक संघर्ष गर्नुपर्ने शिक्षा दिएको छ । नेपालमा जनयुद्ध उत्कर्षतिर अगाडि बढ्दै गरेको अवस्थामा अवसरवादीहरुले अकस्मात संशोधनवादी बाटो समातेका थिए । त्यतिबेला नेपालका सात संसदवादी पार्टीहरुसँग १२ बुँदे सहमति गरिएको थियो । त्यतिबेलाको संशोधनवादी नीतिले क्रमश: संक्रमण गर्दै गएर आज चरम अवसरवादको बाटो समातेको छ । त्यो अवसरवादी नीतिले सही कम्युनिष्ट शक्ति त आक्रान्त भएकै छ । त्यसबाट एमाले र नेकां लगायतका संसदवादी पार्टीहरुले पनि पटक पटक प्रहार खेप्नु परेको छ ।
पछिल्लो समयमा संशोधनवादीहरुले अन्तराष्ट्रिय बिस्तारवादी र साम्राज्यवादी शक्तिलाई आफ्नो प्रेरणाको श्रोत बनाएको अवस्था छ । कम्युनिष्टहरु सबैभन्दा बढी देशभक्त हुन्छन् भनिन्छ । तर नेपालका संशोधनवादी बाटो अबलम्बन गरेकाहरु त्यसको ठीक बिपरित विदेशभक्त भएका छन् । उनीहरुले खुलेयाम देशमा निरन्तर उथल पुथल गरिरहने घोषणा पनि गरेका छन् । त्यस्तो उथप पुथल देशमा मात्र नभएर आफ्नै पार्टीमासमेत गर्नेगरेको देखिएको छ । स्पष्ट बिचार नभएपछि ब्यवहार पनि स्पष्ट हुने कुरा हुँदैन । माक्र्सवादबाट संशोधनवादहुँदै अवसरवादमा संक्रमण गरेकाहरुको मुख्य दुश्मन भनेकै सही कम्युनिष्टहरु हुन् । पछिल्लो समयमा विश्वकै संशोधनवादी र अवसरवादीहरुले कम्युनिष्ट राजनीतिलाई सखाव बनाउन बिभिन्न षडयन्त्रहरु गरिरहेको देखिएको छ । कम्युनिष्ट राजनीतिबाट संशोधनवादी बाटोहुँदै पलायन भएका कतिपयले त नेपालमा अबको १५ बर्षपछि कम्युनिष्ट पार्टीनै नरहने उद्घोषसमेत गरेका छन् । यसले उनीहरुको अशली भित्री योजनालाई स्पष्ट गरेको छ । पछिल्ला दिनमा उनीहरु पनि संकटग्रस्त भएका कारण संशोधनवादी अर्थात संसदवादी कम्युनिष्ट पार्टीहरुका बीचमा एकता गर्ने/गराउने प्रयास गरिरहेका छन् । तर चरम अवसरवादका कारण उनीहरुका बीचको एकता पनि सफल नहुने स्पष्ट छ । उनीहरुले देखाउँदा कम्युनिष्ट र कामगर्दा कम्युनिष्ट राजनीति बिरोधी गतिबिधि गर्नेगरेका कारण नेपाली जनमानसमा कम्युनिष्ट पार्टी र राजनीतिकाबारेमा बिभिन्न भ्रमहरुको सिर्जना भएको छ । त्यस्ता छद्मभेषि ब्यक्ति र शक्तिहरुको देशब्यापि निरन्तर भण्डाफोर अभियान चलाउनु आजको प्रमुख आवश्यकता हो ।