गाउ बस्ती सुनसान बन्दै, देश काण्डै काण्डमा फस्दै

गाउ बस्ती सुनसान बन्दै, देश काण्डै काण्डमा फस्दै

सामयिक टिप्पणी

*** ***

सुन्दर थिए गाउँ बस्तीहरू, रमाइला थिए बन पाखाहरू
फुल्दैन्न रङ्गी बिरङ्गी फूलहरू, नाच्दैन्न डाफे र मयुरहरू

हाम्रा अग्रजहरूले बिरताको लडाईं लडे पूर्व टिस्टादेखि पश्चिम किल्ला काँगडा, महाकालीसम्मको बिशाल देश निमार्ण गरे । संसारमा नेपाल र बिर गोर्खालीको पहिचान दिए । संसारका कुनै पनि कुनामा नेपालीको शान थियो । राष्ट्रको छबि उच्च थियो । आफ्नै मिहिनेत र पसिनाको कमाइमा निर्भर थिए । आज हाम्रा पुर्खाहरूको पौरखले आर्जेका ती गाउँ बस्तीहरू सुनसान छन् । उत्पादनका मलिला पाखा पखेराहरूमा काँढैकाँढाले भरिभराउ छन् । बनमा रमाउँदै नाच्ने डाँफे, मयुर, सयौँ प्रकारका चराचुरुगीहरू लोप हुँदै छन् । रमणीय सयौँ थरीका बोट बिरूवाले घपक्क ढाकेका अमूल्य जडिबुटीका खानी, हरियो बन नेपालको धन भन्ने संसारभर प्रशिद्ध बनजगङ्ल बिचौलिया र तस्करहरू मिलेर सखाप पारे । पानीका मुहानहरू सुकेर मरुभूमी बने । जङ्गली जनावरको बासस्थान हराए । गाउँ बस्तीमा बाँदरको बिगबिगी आतङ्कले सास्ती छ । गरिखाने युवा शक्ति बेरोजगारको कारण देखाउँदै सबै पलाईन हुँदै जाँदा गाउँमा बृद्ध, बृद्धा, अशक्त, रोगी, अपाङ्ग मात्र देखिन्छन् । बिरामी पर्दा सिटामोल र पानी दिने कोही छैन । मर्दा मलामी जाने मान्छे छैन । जताततै चोरी, चकारी, हत्या, हिंसा, लुटपाट, त्रासैत्रास, ठगी, अबैध धन्दा अबैध लागु औषध, मानब बेचबिखन, बिचौलीया र तस्करहरूको चौतर्फी हालीमुहाली छ । न्याय हरायो देश काण्डै काण्डमा फस्दै गयो ।

ती हाम्रा बिर शहीदहरूका सपना, बिर पुर्खाहरूले साम्राज्यवादीहरू सँग आफ्नो मातृभूमीको लागि बगाएको खुन र पसिनाको अवमूल्यन र अपमान भयो । दलाल पूँजीवादी सामन्ती शासनको बिरूद्ध बिर योद्धाहरूले आफ्नो जीवनको कुनै प्रबाह नगरी जीवनको भिख मागेन्न देश र जनताको नाममा हाँसी, हाँसी मृत्युवरण गरे तर शहीदका सपना चक्नाचुर बन्दै गए । प्रजातन्त्रको नाटकमा देश र जनतालाई भ्रम पार्दै पन्चायती शासनको निरङकुशता जनतामाथि जबरजस्ती लदाइयो । १०४ वर्षको निरङ्कुश राणाशासनको भन्दा अझ बढी दमन अत्याचारको पराकाष्ठाको सिमा नाघ्दै पन्चेहरूले मनपर्दी ढङ्गबाट देशमा ब्रह्मलुट गरेर देशलाई खोक्रो बनाए । शासकहरूका जर्जरता र बर्बता निरङ्कुशताको बिरोधमा नेपाली जनताले पटक पटक बिद्रोह गर्न र बलिदानी गर्न कहिल्यै पछि परेन्न । जनताको अगाडी शासक झुक्नै पर्‍यो । अन्तत जनमत सङ्ग्रहको घोषणा गर्न बाध्य भए तर त्यतिबेला पनि जनताको हार भयो । राष्ट्रको ढुकुटी जनमत सङ्ग्रहको नाममा ध्वस्त बनाए तर जनता चुप लागेनन् । २०४६ मा बहुदलीय प्रजातन्त्रको कागजी नाटकीय घोषणा गरेर दलाल पूँजीवादका ठेकदारहरूले जनतालाई भ्रममा पारेर आन्दोलन बिचमै बिर्सजन गर्दै सम्झौतामा धोका दिए । जनताले सम्झौता धोका हो भन्दै सडक सङ्घर्षको निरन्तरता दिए त्यसपछि अझ ठूलो बलिदानीको आवश्यता हुँदै आयो ।

प्रगतिशील, राष्ट्रप्रेमी, क्रान्तिकारीहरूले बल प्रयोगको बाटो रोज्न बाध्य भए र २०५२ फागुन १ गते जनयुद्धको घोषणा भयो । जनयुद्धको बाटो सहज थिएन । दलाल देशी, बिदेशी, सामन्तवादी, साम्राज्यवादी, दलाल पूँजीवादीहरू र क्रान्ति नचाहने, परिवर्तन नचाहने कम्युनिष्टको खोल ओढेका विभिन्न बाहनाबाजी गर्दै क्रान्तिको भविश्य देख्न नचाहनेहरूले अझै क्रान्ति युद्धको समय आइसकेको छैन भन्दै क्रान्तिको अनुकूल नदेख्नेहरू सँग र आफ्नै भिक्र त्रान्तिको छदमभेषी खोल भिरेकाहरूको चिरफार गर्नु कम चुनौती थिएन तर युद्धले द्रुतगती लियो । युद्धलाई नेपाली जनताले सहर्ष स्वीकार गरे । क्रान्तिको आवश्यकता देखेका आम सर्वहारा वर्ग, मध्यम वर्ग, शोषित पीडित गरिखाने, मजदूर वर्गले आफ्ना सम्पूर्ण घर गृहस्थीमा ताला लगाउँदै जब जनशक्तिको उझार सङ्घर्षमा होमिन थाल्यो तब सामन्तहरूका शुरक्षित किल्लाहरूमा क्रान्तिकारीहरूले धाबा बोल्न थाले । त्रान्ति बिजयको लक्ष्यमा फुग्ने निश्चित बढ्दै जाने क्रममा त्रान्तिमा धोकेबाजहरूका मन मष्तिष्कमा गडबड उत्पन्न हुने सम्भाबना पनि आन्तरिक रूपमा हाबी हुँदै जान थाल्यो । युद्धमा धेरै प्रकारका सोचाईहरूको जमघट थियो । त्यतिबेला पनि एकथरी त जनयुद्धलाई आफ्नो वैयक्तिक स्वार्थ पूरा गर्ने माध्यमका रुपमा लिने गर्दथे । कोही सामन्तका कब्जा गरिएका जमीन बार्गेनिङ गरी कमाउ धन्दामा लागे । कोही पार्टीको नाममा उठाएका चन्दा रकम बोकेर बेपत्ता भए । तर इमान्दार देश र जनताको मुक्तिको सपना बाहेक अन्य नदेख्नेहरू कहिल्यै थाकेन्न । सानातिना घाउ चोट बिमारीले पनि उनीहरूलाई कुनै असर पारेन । निरन्तर पार्टीको आदेशमा अन्तिमसम्म खटिइरहे, लडिरहे । लगाएका गरगहना पार्टीको नाममा बुझाए, आफ्नो सम्पत्ती जनकम्युनको नाममा घोषणा गरेर समाजवादको अझ्यासमा इमान्दारिताका साथ लागे । इमान्दार क्रान्तिकारीहरूलाई त्रान्तिमा धोका होला, भोली हाम्रो बिचलित होला भन्ने कुनै प्रकारको शङ्का गरेनन् । आफ्ना योजना कार्यभार पूरा गर्नमा दत्तचित्त भैरहे तर नेतृत्वले अर्कै क्रान्तिलाई तोडमोड पार्ने गलत सपना देख्न थालेपछि अन्तिम अन्तिमको घडीमा क्रान्तिको सन्निकटको समय आइपुग्नै थालेको बेला युद्ध, क्रान्तिले (सेटब्याक) खायो ।

दलाल पूँजीवाद कती खर्तनाक हुन्छ भन्ने नेतृत्वले बुझ्दा बुझ्दै जान्दाजान्दै विभिन्न बाहना पार्दै अकस्मात १२बुदे सम्झौतामा पार्टीलाई फसाइयो । बिर शहीदहरूको सपना र बेपत्ता, घाइते, अपाङ्ग, सिङ्गो युद्ध, क्रान्तिमा लामबद्ध भै सबै त्यागेर मुक्तिको लागि होमीने, क्रान्तिका शुभेच्छुक राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति सबै सबैको लक्ष्य उद्धेश्य एकछिनमै खरानी बन्न फुगे । जुन दिन दलाल संसदीय व्यवस्थाको बाटोमा क्रान्तिको तिलान्जली गरियो त्यही दिनदेखि त्रान्तिका खोक्रा भाषण गरेर जनयुद्धको नाम भजाइ खाने बाहेक केही रहेन ।

अब बचेखुचेका सच्चा, इमान्दार क्रान्तिकारीहरूले बुझ्नै पर्ने कुरा यो दलाल संसदीय व्यवस्था र यसका ठेकदारहरू काण्डै, काण्डमा रुमलिए, खुदो र लट्टे मिसिए जसरी लटरम्म भैसके । अब त यिनीहरूका विचार, दर्शन, अनुभव, विगतमा सिकेका केही सिद्धान्त केही छैन । भए पनि यिनीहरू जहाँ जान्थे त्यहाँ विगतमा लगाएका फुलमालाको सट्टा जनताले अन्य चिजले अपमान नगर्लान् भन्न सकिन्न । किनभने जनता आक्रोसमा छन् । जसले उनलाई डायरी कलमसम्म बोक्न नदिएर पछि लाग्थे ती भ्रष्टचारी बिचौलीयाहरूले नै साथ दिँदैनन् । केही नपाउनेहरूका पछाडी कोही लाग्दैनन् । तिनीहरू सँग विगतमा जनतालाई युद्धको नाममा दिएको धोका, भ्रम छरेर छेणिक प्राप्त गरेको मानसम्मान, भ्रष्टचारबाट कुम्ल्याएको अबैध धन सम्पत्ती, आफ्नै पारिवारिक जीवनको अस्तब्यस्तता, ढल्दै गरेको जवानी, जहाँतही अपमानित भएर बाँच्नु पर्ने अवस्था प्रति आत्मग्लानी गर्ने र गोहीका आँशु बगाएर कुम्ल्याएको सम्पत्ती बचाउने बिकल्पका चलाखीपन मात्र हो । तिनी सबै कोरा कल्पना हुन् विगतमा धोका पाएकाहरूको जीवन आज कस्तो छ ? कस्तो बनाइयो ? कसैले माफी दिनेवाला छैन । उनीहरूका कानुनले बचाउला तर क्रान्तिका कानुनले छुट दिने छैन । अर्को कुरा हामी आमले बुझ्नै पर्ने कुरा ‘खान पाएँ भन्दैमा अपच हुनेगरी नखानु, हिँड्नु छ भनेर जमजमी नहिँड्नु, बोल्न पाएँ भन्दैमा जथाभावी नबोल्नु, बसेको स्थानमा छोडी जाँदा एकपटक फर्की हेर्नु, अहंता र घमण्ड नगर्नु’ भन्ने कुरा आत्मसात गर्नु जरुरी छ ।

आज फेरी देशले परिवर्तन माग्यो । देशले क्रान्ति माग्यो । देशले असल नेतृत्वको खोजी गर्‍यो । राष्ट्र राष्ट्रियता खतरामा परेको सङ्केत गरिसक्यो । यो गठबन्धनबाट देशले संरक्षित हुन नसक्ने सङ्केत गर्‍यो । गाउँ बस्तीमा युवा मात्र होइन अलिअलि हिँड्न सक्ने महिला पुरुष कोही छैन । बिना मान्छे, बिना नागरिकको देश हुन थालिसक्यो । त्यसकारण पुनः एकपटक देशभक्त, राष्ट्रप्रेमी, क्रान्तिकारीहरू एकताबद्ध भई अन्तिम धक्का दिनेगरी लडाईं नगरी यी भ्रष्ट्रचारीहरूलाई सत्ताबाट सत्ताच्युत नगरी देशले निकाश पाउँदैन । त्यस्तो गर्नका लागि बल प्रयोगको सिद्धान्त बाहेक अन्य कुनै विकल्प छैन । अन्यथा सुनकाण्ड, सहकारी ठगी काण्ड, ललीता निबास काण्ड, बासबारी छाला जुत्ताको जग्गा काण्ड, बालुवाटार काण्ड, हत्या काण्ड, मानब बेचबिखन र मानब तस्कर काण्ड जस्ता काण्डहरुको छानविन जनताले गर्नु र जनस्तरबाटै कारबाही गर्नुपर्ने छ । अन्यथा यिनीहरू त जो जससँग हिसाब, किताब मिल्छ उनैसँग भाका फेरी फेरी देश लुटिरहन्छन् । यिनीहरूमा कुनै लाज श्रम केही छैन । यो सबैको हिसावकिताव जनसङ्घर्षबाट असुलउपर गर्नुको विकल्प छैन ।