‘जेल डायरी’ इतिहास पढाउने सामग्री

‘जेल डायरी’ इतिहास पढाउने सामग्री

शनिबारीय साहित्य : पुस्तक समीक्षा

*** ***

 

नेपाली समाज यतिबेला विचारहीन राजनीतिको रङमा नाचिरहेको छ । समाजका युवा सचेत ढङ्गले बहस–छलफल गरिरहेका छैनन् । विकासे संस्थाहरू अझै डलरले जनताको दिमागलाई पत्रु बनाउन सकिन्छ अनि देशलाई केवल विदेशी कामदारहरूको नर्सरी बनाएर आफ्नो चिल्लो गाला टेलिभिजनमा देखाउन तल्लीन छ । राज्यका अङ्गहरूबेकम्माको हद के हुन्छ त्यही स्थितिमा पुगेका छन् । यस्तो अवस्थामा पनि मान्छेहरू विचारका कुरालाई लिपिबद्ध गरिरहेकै छन् । नेपाल आजसम्म आइपुगेको ठाउँको मुहान कहाँनिर हो त्यो देखाउने चेष्टा गरिरहेकै छन् शब्दशिल्पीहरू । यस्तै शब्दशिल्पीहरूको हरफमा एउटा विचारका योद्धा मोदनाथ मरहट्टा (जन्म वि.सं. २०१२, गोरखा)ले महत्वपूर्ण योगदान गरेका छन् ।

नेपालमा आज प्राप्त गणतन्त्रलाई लुटतन्त्रमै बदलेर स्वाद फेर्नेहरूको विपक्षमा जनमत निर्माण गर्ने हो भने विचारका संवाहकहरूले हिजोको सङ्घर्षपूर्ण दिनलाई पढ्नु पर्ने हुन्छ । राजनीतिलाई व्यापार र व्यापारलाई राजनीतिको रूपमा बुझ्ने एमसिसी परियोजनाका प्रवक्ताहरू नेपालको राजनीतिमा हल्ला खल्ला गरी बहुलाइरहेको बेला दुखेको खुट्टा, प्रोटेस्टले सताएको पिसाब प्रणाली र जेलमा थिलथिलो भएर भतभत पोलेको शरीरले आफ्ना भतिजा महेन्द्र, भतिजी मिना अनि बेपत्ता योद्धा राजेन्द्र ढकाल मात्र होइन इच्छुक, चुनु, शारदाश्रेष्ठजस्ता नेपाल आमाका योग्य सन्तानको सम्झना र प्रेरणामा डोहोरिरहेका छन् संस्मरणकार मोदनाथ मरहट्टा । ६८ वर्षको उमेरमा पहिलेका तथ्यलाई भाषिक रूपमा मसिनो पारेर कष्टहरूको तस्बिरलाई देखाउँदै आजको दिनमा के राज्य सत्ता यस्तै हुनुपर्ने हो ? भन्ने प्रतिप्रश्न समेत गर्न सफल भएका छन् ।

आजभन्दा ठिक ६८ वर्ष अगाडि अर्थात २०१२ साल साउन २ गतेका दिन गोरखा जिल्लाको हर्मीमा जन्मिएका मोदनाथ मरहट्टा निवृत शिक्षक हुन् । गोरखा जिल्लाभित्रै मसाल सल्काउँदै पठनपाठनमा लाग्दै परिवारका सदस्य, आफ्ना प्रिय विद्यार्थी, सहकर्मी मित्रहरू गुमाउँदा पनि कहिल्यै विचलित नभइ क्रान्तिको यात्रामा निरन्तर जुट्ने उनको साहसिक विचार यात्रा कतिका लागि दन्त्यकथा समान लाग्ला । अलिकति पनि परिवर्तन भएको हो भनी नहिचकिचाइ बोल्नेहरूले पढ्नु पर्ने एउटा पाठ हो लेखक मोदनाथ मरहट्टा र उनको जेल डायरी । पाठकले यस विषयमा ध्यान दिँदा प्राप्त नगर्ने सीमा केही छन् जसले गर्दा पाठक पढ्न थाल्दा र पढिसकेर पनि निराश हुनु पर्ने छैन । जे कुराको खोजी गरिन्छ त्यो प्राप्त नहुँदा मान्छे निराश हुन सक्छ । निराशाबाट पाठकलाई बचाउनु र सकारात्मक सोच विचारतर्फ लगाउनु पनि त समीक्षकको भूमिकाभित्र नै पर्दछ ।

लेखक मोदनाथ मरहट्टा र उनको कृति ‘जेल डायरी’ मा मुख्यतः तिन ओटा विषयको कमी रहेको प्रसङ्गलाई यहाँ प्रस्तुत गर्नु पर्ने हुन्छ । १) लेखक मरहट्टा व्यक्तिगत रूपमाजीवन व्यवहारमा जस्तै लेखनमा पनि मीठो बोल्ने, चिल्लो घस्ने र आश्वासन दिने गर्न सक्दैनन् । २) उनका निवन्धले कला कलाका लागि भन्ने सन्दर्भको प्रतिनिधित्व गर्न सक्दैन र गर्न पनि खोज्दैनन् । ३) उनका रचनामा परिस्कारवादी लेखकको जस्तो भाषाको मसिना शब्दजालले पाठकलाई भुल्याउने प्रयास हुँदैन, उनी सजिलो र रुखो बोलिदिन्छन् । विषयमाथि असिना हुँदैन । उनी त जीवनले देखेका, भोगेका र चाहेका विषयलाई मानव जातिको मुक्तिको समवेत स्वरमा घन्काउन मात्र तम्सन्छन् । त्यसैले आजका मितिसम्म प्रकाशित उनका ‘पाइलाहरू शिखरतिर उकासिँदै (कवितासङ्ग्रह २०५५)’, ‘उज्यालो जन्मनुअघि(खण्डकाव्य २०५५)’, ‘लेख्ने विषयको खोजी(निबन्धसङ्ग्रह २०७८)’ र ‘जेल डायरी(संस्मरण २०८०)’ कृतिहरूमा माथिका नपाइने तिन विषय बाहेक अन्य विषयको खोजी गरेर मात्र यी पुस्तकहरूले पाठकलाई केही ऊर्जा दिन सक्छ । यस छोटो लेखमा साहित्यिक व्यक्तित्व मोदनाथ मरहट्टाको ‘जेल डायरी(संस्मरण२०८०)’ मा रहेको विषयलाई पाठकीय प्रतिक्रिया स्वरूप राख्ने चेष्टा गरिएको छ ।

‘जेल डायरी’ लेखक मोदनाथ मरहट्टाको चौथो साहित्यिक कृति र दोस्रो निबन्धात्मक कृतिका हिसाबले प्रकाशनमा आएको छ । संस्मरण भनिएको यस कृति निबन्धात्मक हिसाबको प्रस्तुति शृङ्खलामा रहेकाले यसभित्रका केही भाग नितान्त डायरी लेखनशैलीमा लेखिएका छन् । केही पाठ स्मृति लेख, संस्मरण लेख र टिप्पणी लेखजस्ता शैलीमा प्रस्तुत गरिएका छन् । पुस्तक नेपालको चर्चित र लोकप्रिय व्यावसायिक प्रकाशन भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । पुस्तक मिनिडिमाइ साइजमा आवरण बाहेक १४० पेजमा फैलिएको छ । पुस्तकभित्र लेखकको आफ्नो कुरा र भूमिकाबाहेक जम्मा २५ ओटा संस्मरणात्मक लेखहरू समावेश गरिएको पाइन्छ । केही पाठभित्र दैनिकीको शृङ्खलाबद्ध प्रस्तुति रहेका छन् जो उपलेख वा संस्मरणजस्ता पनि लाग्दछन् । पाठ एकदेखि पन्ध्रसम्मका पाठमा जेल पु¥याउने शृङ्खला र जेल पुगेपछिका अत्यन्त घतलाग्दा विषयवस्तुलाई सरल ढाँचामा प्रस्तुत गरिएको छ । जहाँ पाठक आँखा पु¥याउँछ त्यहाँ लेखक नै पाठक र पाठक नै लेखक भएको अनुभूतिको संवेदना महसुस हुन्छ । लेख सोह्रदेखि पच्चिससम्म भने जेल जीवनभित्रभन्दा बढी जनयुद्धकालीन समयमा बेपत्ता भएको अधिवक्ता राजेन्द्र ढकाल, आफ्नी भान्जी मीना मरहट्टाको सहादत, क्रान्तिमा रहेको योगदान, सुरेश वाग्ले ‘बासु’ को वैचारिक नेतृत्वको चर्चा, जनक्रान्तिको एउटा चम्किलो तारा शारदा श्रेष्ठको सम्झनामा थालिएको शारदा घरदैलो कार्यक्रम बारेको संस्मरण, आफू बाँच्न चाहेको भए सजिलै सक्ने योद्धा भिमसेन पोखरेल, अर्का सांस्कृतिक योद्धा शिव श्रेष्ठ ‘रक्तिम’ नेपाली सांस्कृतिक क्षेत्रमा एउटा आदरणीय नाम घनश्याम ढकाल र नेपालको शैक्षिक आन्दोलनका पर्याय जस्तै बनेका विद्धान माधव मरहट्टा बारेको संस्मरणलाई यस पुस्तकमा स्थान दिएको छ ।

‘जेल डायरी’ न त लेखाइएको पुस्तक हो न त लेख्नका लागि लेखिएको । लाग्छ यतिधेरै कुरा भएका व्यक्तिले किताब नलेखे समाजले केबाट पो सिक्न सक्छ ? पुस्तकभित्र राज्य सत्ताको उछित्तो त काढिएकै छ, तत्कालीन समयमा राज्य सत्ताले राखेको सोच अनुसार बदलिन नचाहँदा विचारका योद्धाहरूले कसरी र कस्तो प्रकृतिको कष्ट भोग्नु पर्दथ्यो भन्ने वर्णन चित्रात्मक शैलीमा प्रस्तुत भएको छ । छोटा छोटा लेख, सानो पुस्तक अनि विचारले भरिएको एउटा क्रान्तिकालीन तथ्यहरूको सङ्ग्रहजस्तो जेल डायरीले नेपालको जनयुद्धलाई आफ्नो अनुकूल प्रयोग गर्ने अनि जनताको हत्या गर्ने आन्दोलन भन्नेहरूलाई वाल्ल पार्ने गरी जवाफ दिएको छ भने २०४० को दशकदेखि २०७० को दशकसम्मको राजनीति गतिविधि र वैचारिक संवहन गर्ने यात्रीहरूको विषयमा बुझ्न सहयोग गर्दछ । राणाकालमा विचार राख्नेहरूलाई देशको तलवभत्ता खाएर मृत्युदण्ड दिने जल्लादकै कोटिमा रहेर जनयुद्धकाल (२०५२ फागुन १ गतेदेखि२०६३ सालसम्म) पनि नफेरिएको दमनचक्र बारे बुझ्न झनै यो पुस्तक जीवित प्रमाण नै हो । पञ्चायतमा धेरैले ज्यान गुमाए । त्यस व्यवस्थालाई एकदलीय व्यवस्था भनिएको थियो । आफूलाई प्रजातन्त्रवादी भन्नेहरूले बहुदलीय प्रतिस्पर्धा र सबै विचारले भाग लिन पाउने व्यवस्था भनी उद्घोष गरी शासन चलाउने ठेकेदारहरूको व्यवहारलाई बौद्धिक र साहित्यिक हिसाबले समेत धज्जी उडाएको छ । दश वर्षे जनयुद्ध हुनुको कारण विचारको निषेध हो भन्ने विचार लेखक मरहट्टाले प्रस्तुत गरेका छन् ।

अन्तर्राष्ट्रिय युद्ध सरदारहरूलाई नेपालमा गुहारेर हतियार किन्ने, विचार बोक्नेहरूलाई जहाँ फेला प¥यो त्यही ठोक्ने अनि अर्का थरी आफ्नो ठोक्सामा पारेर सङ्गठन विस्तार गर्ने सपना बोक्नेहरूलाई समेत जिल्याएर मृत्युको मुखमा पुग्न तयार अग्रदस्ताको तुफानी वेगलाई पनि किताबभित्र स्पर्श गर्न सकिन्छ । विचार समाजलाई गतिशील बनाउने ऊर्जा हो । नेपाली जनताको छातीमा गोली हानेर एकल रजाइँ गर्ने अनि गरिब मारेर गरिबी अन्त्य गर्ने शासकको सपनालाई च्यातचुत पार्न सफल जनमुक्ति सेनाको सारथिको जीवित इतिहास यस कृतिभित्र रहेको विषय सन्दर्भ हो ।

‘‘हाम्रो जेल जीवनको अनुभूति विश्वका विशिष्ट व्यक्तिहरूको जेल अनुभूतिभित्र पर्दैन । यसले कुनै राजनीतिक सन्देश दिँदैनथ्यो, जीवनको एउटा निकृष्ट अमानवीय क्रूर भोगाइ हो । जो औसत जीवनभित्र पर्दछ । –पृ. ५) जेल डायरीको छोटो तर सारपूर्ण भूमिकामा नरनाथ मरहट्टाले प्रस्तुत गरेको विचारबाट नै जेलमा पुग्नु पर्ने जिम्मेवारीबोधलाई ऐतिहासिक मूल्यको कसीमा हेर्न सकिन्छ । आफ्ना मुटुजस्तै सन्तान गुमाएका सहिद पिता एवं जेल बस्दाका साथी दाजु नरनाथ मरहट्टाको भूमिका नै यस पुस्तकको महत्व झल्काउने र नेपाली राजनीतिको गुणात्मक परिवर्तनका लागि योगदान दिने गोर्खाली योद्धाहरूको अभिलेख साहित्यका रूपमा यसले महत्वपूर्ण स्थान बनाएको छ । जनयुद्धमा लाग्ने, समर्थन गर्ने र सहयोग गर्नेलाई निश्चित खालको धराप थापेर सक्ने रणनीतिबारे लेखकले थप तथ्यसहित खुलासा गरेका छन् । हतियारसहितको ठाउँको ठाउँ सिध्याउने, आत्मसमर्पण गराउने वा जेलमा सडाउने र आत्मसमर्पण गराइ एमाले समर्थक बनाउने रणनीतिलाई समेत क्रान्तिकारी योद्धाहरूले परास्त गरेको उल्लेख छ ।

खासगरी २०४८ सालको चुनावमा जनमोर्चाको आधारशक्ति बलियो भएको स्थानमा तत्कालीन अवस्थामा पहिलो र दोस्रो शक्तिका रूपमा रहेका नेपाली काँग्रस र नेकपा एमालेले साझेदारी हिसाबले तय गरेको रणनीति अन्र्तगत गोरखाजस्तो क्रान्तिकारीहरूको दह्रो उपस्थिति भएको जिल्लालाई आफ्नो सङ्गठनको आधार निर्माण गर्न राज्य सत्ताका खेलाडी कहाँ चुक्थे र । राज्यकानिकायहरू र तिनका असल कारिन्दाहरूले आफ्नो कार्य सञ्चालनलाई मौलिक रूपमा नभएर सिधै राज्यको सुरक्षा निकायको छायाका रूपमा मात्र बुझे । जहाँ सयौं शिक्षाका ज्योति बाल्नेहरू गिरफ्तार गर्ने योजनाको सहयोगी मात्र बनेका तत्कालीन जिल्ला शिक्षा अधिकारी शिक्षा प्रशासनका एउटा सामान्य, प्रतिनिधिमूलक उदाहरण र निरीह पात्र मात्र हुन् ।

‘इच्छुकको मृत्युमा शान्ति डकार्नेहरू’ शीर्षकको संस्मरणमा लेखकले जेलभित्रबाटै राखेको विचार मर्मश्पर्शी रहेको छ । के साँच्चै उहाँ भिडन्तमा मारिनु भयो त ? उहाँ त अक्षरको एउटा कालीगर सिवाय केही होइन भन्थेँ म । (पृ.४३) नेपालको साहित्य, पत्रकारिता र राजनीतिका त्रिवेणी ‘इच्छुक’लाई राज्यले निर्ममतापूर्वक हिरासतमा मारेको घटनाले २०४७ सालको संविधानलाई विश्वकै सर्वोत्कृष्ट संविधान भनेर कार्यान्वयन गर्नेहरूको कार्यसम्पादनलाई राम्ररी व्यङ्ग्य गरेको छ । चार सहिद (गंगालाल, धर्मभत्त, शुक्रराज र दशरथ) लाई मृत्युदण्ड दिँदा त दुनियाँले सजिलै थाहा पाएका थिए भने इच्छुकलाई हत्या गरेर कतै सूचनासम्म नदिइ राज्यको तथाकथित सुरक्षा निकायले जनतालाई कसरी र कस्तो सुरक्षा दिएकोरहेछ भन्ने स्पष्ट प्रमाण मिलेको छ । लेखकले जेललाई सुधारगृहको रूपमा कार्यान्वयन गरिरहेको सरकारले जेलभित्र गर्ने व्यवहारको राम्रोसंग व्याख्या विवेचना गरेका छन् । एउटा आस्थाको बन्दीले नेपालको एउटा जिल्लाको सदरमुकाममा रहेको जेलको व्यवस्थापनबाटै अन्यायका विरुद्ध लड्नेलाई गोरखाले दिएको दण्डको एउटा सफेद उदाहरण पेश गरेका छन् । शिक्षकलाई राजनीति चेतको प्रतीकका रूपमा विश्वले स्वीकार गर्दा नेपालको दमनकारी राज्यसत्ताले सकेसम्म मार्ने प्रपञ्च रचेको र अत्याएर विचारबाट पछि हट्न दबाब दिएकोमा सो सफल नभएको घटना धेरै ठाउँमा वर्णनमा आएको छ ।

लेखक मोदनाथ मरहट्टाले आफ्नो पन्ध्र महिनाको जेलको डायरी यहाँ प्रस्तुत गरेका छन् । पन्ध्र महिनाको त के एकदिनको पनि अनुभव यतिधेरै दर्दनाक छ कि त्यो एउटा स्वतन्त्रताको अनुभव गर्न चाहने मान्छेका लागि पत्याउनै नसकिने घटना हो । लेखक एउटा राजनीति आन्दोलनमा देखिएर लागेको नभइ पेशागत क्षेत्रबाट सघाउने पात्र हुन् । त्यसबेला क्रान्ति वा परिवर्तनको पक्षमा कलम चलाउनेको भूमिकाले कति धेरै महत्व राख्दथ्यो । समाजमा रहेको बेथितिप्रति आवाज उठाउन तम्सेको युवा मर्न चाहन्छन् तर आत्मसमर्पण गर्दैनन् भन्ने तथ्य र कथ्य समग्र डायरीभरि नै पाइन्छन् । मोदनाथको अरुले अनुमान गरेको तर नेपाली राजनीतिको पाटोमा लुकेर रहेको महत्वपूर्ण योगदानलाई पुस्तकले उजागर गरेको छ ।

जेल डायरी पढ्दा पाठकलाई पटक पटक खट्किने विषय भनेको तथ्यहरूको जग हो । प्रशासनको प्रत्येक कुकृत्यभित्र रहेका पात्रहरूको न्याय सार्वजनिक नहुनु । त्यस बेलाका केही पात्र मात्र लेखहरूमा समावेश भएको पाइन्छ । जिल्ला शिक्षा अधिकारी ज्ञानी यादव, हर्क बहादुर जस्ता केही खलनायकी भूमिका निर्वाह गर्न विवश पात्रहरूको नाम जान्न पाठक आतुर भएको बखत लेखक सो विषयमा खुलेर विषय राख्न सक्दैनन् । हुन त नेपालको राजनीति यात्रा नै त्यस्तै प्रकारको विषय र घटनाको शिकार भएको छ । आन्दोलन दबाउने, आन्दोलनलाई फाँसीवादी अभ्यास भन्नेहरू नै पटक पटक आन्दोलनकारीको प्रकारान्तरले नेता भएको घटना सुव सेन ओलीदेखि एउटा पार्टीमा सांस्कृतिक कार्वाहीमा परेर वा चरित्रहीनभएका कारण अर्को पार्टीमा प्रवेश गरी नेतृत्व हत्याउनेहरूको मोदनाथ मरहट्टा र उनी जस्ताको चोखो मन र विचारलाई धुलिसात पारेको प्रमाण सहजै फेला पार्न सकिन्छ । जालझेल षड्यन्त्र गरीआफ्नो वैयक्तिक जीवनलाई उन्नत बनाउने अनि निरन्तर क्रान्तिको डम्फु बजाउनेहरू पार्टीभित्र र सांस्कृतिक आन्दोलनभिभत्र नेताको निकट भएको घटनालाई पनि २÷४ ठाउँमा छिचोलेर लेख्न सकेको भए भन्ने पाठकलाई खट्किने विषय हो । स्वाभाविक ढङ्गले गोरखा जिल्ला जनयुद्धको एउटा इपिसेन्टर मात्र नभएर दिल बहादुर रम्तेलले सहादत प्राप्त गरेर सहिदको रगतसँगै गतिविधि केन्द्रित गरेको ठाउँ हो । यही ठाउँमा नेता जनयुद्धभरि नै राज्यले मारेको सबैभन्दा ठूलो नेता सुरेश वाग्ले बासु को वर्णनले पाएको स्थान जस्तै देशभित्र भएको चरम दमनको विविध पक्ष र तथ्यलाई आफ्नो लेखमा लेखेको भए गोरखा डायरी जस्तो बन्ने थिएन कि !

अन्त्यमा लेखकको निजी विचारभन्दा पनि आन्दोलन र आन्दोलनमा लागेर परम्परा तोड्दै अगाडि बढेको वैचारिक यात्रालाई निरन्तर अगाडि बढाउनका लागि पनि यी र यस्ता सामग्रीले पछिल्लो पुस्तालाई आन्दोलनको जानकारी दिने र समकालीन योद्धाहरूलाई पदका निम्ति दावी त्याग्न खोज्ने यात्राबाट समर्थक र त्यागको राजनीतिमा जोड्न मद्दत पु¥याउला कि भन्ने आशा जगाइदिएको छ । नेपाली साहित्यमा २०५२ साल फागुन १ गतेपछिका विषयलाई अत्यन्त इमान्दार भएर लेख्ने कर्मले नेपालको प्रशासन संयन्त्र, सुरक्षा निकाय, राजनीति पार्टी र तिनीहरूको थाप्ने गरेको बल्छी जस्ता पक्षको रोचक तथ्यलाई लेख्य स्वरूपमा ल्याउन लेखक मोदनाथ मरहट्टाले इमान्दार प्रयास गरेका छन् । यो नेपालीराजनीतिको एउटा पढ्नै पढ्ने पाठका रूपमा स्थापित भएको छ । रुकुम, रोल्पा, सिन्धुली, रामेछाप, अछाम, डोल्पा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक आदि गौरवशाली योगदान दिने जिल्लाहरूमा जेलमा र जेल बाहिर मर्न तयार भएर लागेका योद्धाहरूको दैनिकलाई बाहिर ल्याउन उत्प्रेरित गर्ने कार्यमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो साहित्येतिहासको एउटा जीवन्त पाठ हो ।

tejkamere@gmail.com