मेलगैरी हत्याकाण्ड

मेलगैरी हत्याकाण्ड

शनिबारीय साहित्य : संस्मरण

*** ***

 

म रुकुम जिल्लामा अध्यापन गर्दै गर्दा देशमा राजनीतिक परिवर्तन भएको थियो । त्यही परिवर्तन सँगै हरेक राजनीतिक घटनाक्रममा मेरो संलग्नता रहन्थ्यो ।

२०४६ को जन–आन्दोलनका समयमा म रुकुमको चौरजहारीमा शिक्षक तालिममा सहभागी थिएँ । त्यहाँ जिल्लाका धेरै शिक्षकहरू सहभागी थियौँ । चैत २४ गते संयुक्त राष्ट्रिय जन–आन्दोलन संयोजन समितिद्वारा नेपाल–बन्दको कार्यक्रम आह्वान गरिएको थियो । त्यस आन्दोलनमा चौरजहारीमा भित्ते लेखनमा सहभागी भइयो । त्यो भित्तेलेखन गरेपछि प्रहरी दमन बढ्यो । त्यतिबेला हिरासतमा बसेका ती दिनहरू याद आइरहन्छ । चैत २५, २६, २७, र २८ गते बिहानसम्म प्रहरी हिरासतमा बिताएका थियौँ । २६ गते तत्कालीन बाममोर्चा र काङ्ग्रेसबाट गरिएको षड्यन्त्रपूर्ण बार्ताले पञ्चायतका ठाउँमा बहुदलीय व्यवस्था घोषणासम्म आउँदा पञ्चायत बिरूद्धको सङघर्षमा रुकुम जिल्लाले खेलेको भूमिकामा मेरो पनि कतै न कतैबाट संलग्नता रह्यो ।

पञ्चायत त ढल्यो, तर देशको सामन्तवादी राज्य संरचना ढलेन । पुरानो व्यवस्थामा नयाँ शासकहरू उदय भए । नयाँ बोतल भित्र उही पुरानो रक्सी भने झैँ खाली बोतल मात्र फेरिएको थियो ।

बहुदलीय व्यवस्था स्थापनासँगै अर्को आतङ्क शुरू भयो । बिपक्षी देख्नेबित्तिकै सिध्याउनुपर्छ भन्ने रणनीति तत्कालीन शाषकहरूले लिए । २०४७ देखि २०५२ फागुनसम्म आउँदा सरकारी दमनले पराकाष्ठा नाघेको थियो । तत्काल संयुक्त जनमोर्चा नेपालका नेता कार्यकर्ता तथा समर्थकहरूलाई अनेकौं झुट्टा मुद्दा लगाउने, जेल कोच्ने, सताउने, जबर्जस्ती काङ्ग्रेस सदस्यता भिडाउने र जेलबाट छुटाउने जस्ता घटनाहरू बढ्दै गयो । जिल्लामा व्यापक दमन गरियो । विशेषत: रोल्पा रुकुममा रोमियो अप्रेशनका नाममा विभिन्न क्षेत्रमा प्रहरी टोली खटाएर दमन गर्ने काम चल्यो । यसका बिरूद्धमा अनेकौं जनसङ्घर्षहरू चले । राज्यसत्ता देशब्यापी दमनमा उत्रियो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकताकेन्द्र (२०५१ पछि माओवादी)ले राज्यका विरुद्ध विद्रोह गर्दै जनयुद्ध शुरु गर्ने निर्णय गर्‍यो । त्यसपछि २०५२ फागुन १ गते जनयुद्धको थालनी भयो ।

जनयुद्ध शुरु भए लगत्तै फागुन १४ गते गोरखामा दीलबहादुर रम्तेलको हत्या भयो भने त्यसको ठिक भोलीपल्ट १५ गते रुकुमको मेलगैरीमा प्रहरीद्वारा सामूहिक हत्याकाण्ड घटाइयो । आज रुकुम मेलगैरी हत्याकाण्डको २९ वर्ष पूरा भएको छ । २०५२ साल फागुन १५ गते रुकुम जिल्ला अर्थात रुकुम पश्चिमको साविक पिपल गाविसको मेलगैरीमा ६ जना खत्रीबन्धुको हत्या भएको थियो । प्रहरीले एकैसाथ एउटैघरमा सुतिरहेका ६ जनाको खत्री बन्धुहरूको हत्या गरेको थियो । जनयुद्ध घोषणापछिको पहिलो सामुहिक हत्याकाण्ड मेलगैरी हत्याकाण्ड हो । प्रहरीले १५ गते मेलगैरीमा पिपलका ६ जना खत्रीबन्धुको एकै चिहान बनाएको थियो ।

बाँफिकोट प्रहरी चौकीबाट प्रहरीको टोलीले मेलगैरीको एक घरमा बसिरहेका सर्वसाधारणको हत्या गरेको थियो । मेलगैरीमा हत्याकाण्ड भएको खबर हामीले १५ गते बेलुकी थाहा पायौं । म कक्षा ३ को नयाँ पाठ्यक्रम अनुसार नयाँ शिक्षा अन्तरगतको पाठ्यक्रम परिचयात्मक कार्यक्रममा सहभागी भएको थिएँ । सो तालिम स्थानीय विद्यालय सेरिगाउँमा चलेको थियो । फागुन १४ गते गोर्खाका ११ बर्सीय बालक दिलबहादुर रम्तेलको हत्या गरिएको थियो । त्यस हत्याको भोलिपल्ट ठुलो सामुहिक हत्याकाण्ड मेलगैरीमा घटाइयो । रेडियो नेपालबाट बेलुकीको समाचारमा ‘माओवादी हतियारधारी जत्थाले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कार्बाहीमा ६ जना स्थानीय माओवादी कार्यकर्ता मारिएको’ खबर सुनाएपछि सिङ्गो रुकुम जिल्ला स्तब्ध भएको थियोे ।

त्यो हत्याकाण्डको खबरले रातभर निन्द्रा लागेन । होटलमा बसेपछि प्रहरी केरकारमा परिने र अनावश्यक काङ्ग्रेस आतङ्क तथा प्रशासनिक झञ्जट ब्यहोर्नुपर्ने भएकाले मेरा लागि होटल त्यत्ती सुरक्षित थिएन । त्यसकारण म मेरो भतिजा नाता पर्ने कृषि बिकाश बैंकमा कार्यरत भक्तबहादुर गैरेले डेरा लिएको कोठा इन्द्रलाल गौतमको घरमा बस्ने निधो गरेँ ।

हाल मेलगैरी बाँफिकोट गाउँपालिका – २ मा पर्दछ । फागुन १३ गते स्थानीय शिक्षक नरजित बस्नेतमाथि माओवादी योद्धाहरूद्वारा हमला भएको थियो । उनीहरूकै उजुरीका आधारमा पिपलमा प्रहरी आएको थियो । फागुन १४ गते बेलुका पिपल पुगेको प्रहरी टोली राती राती मेलगैरी पुगेर उनीहरूको हत्या गरेको थियो ।

६ जनाको हत्या गरेर अरू केही मानिसलाई समातेर यातना दिँदै कारागार चलान गरिएको थियो । कृषि गरेर जिविकोपार्जन गरिरहेका सर्वसाधारणलाई प्रहरीले माओवादीको आरोपमा हत्या गरेको थियो । यद्यपि उनीहरू ६ जना नै सर्वसाधारण किसान र विद्यार्थी थिए । विनाकारण अभिभावक, आफन्त गुमाएकाको पीडा हरेक वर्ष बढ्दै गएको छ । पार्टीले पनि सहिद परिवारका लागि सानातिना कार्यक्रम बाहेक खासै ठूलो कार्यक्रम गरेको जस्तो पाईंदैन भने सरकारले पनि सहिद परिवार लक्षित कार्यक्रम गर्न सकेको छैन ।

१५ फागुन २०५२ को उक्त घटना सधैंका लागि भुल्न नसकिने बिभत्स हत्याकाण्डका रुपमा मेरो मानसपटलमा रहिरहेको छ । यो हत्याकाण्डपछि प्रहरी यसरी बहुलाएको थियो कि जसलाई देखे पनि माओवादी भन्थे । अनेकौं प्रश्न गर्ने, पिट्ने उनीहरूको नियमित काम भएको थियो । राज्यआतङ्क यसरी मच्चियो कि जनतामा सरकार र प्रशासनप्रतिको बिश्वश्नीयता गुम्दै जान थाल्यो । माओवादी पार्टी भने जनताको बिचमा स्थापित हुँदै गयो । यसरी जनयुद्धले दिनप्रति दिन आफ्ना गतिविधि बढाउँदै लग्यो ।

जब फागुन १५ आउँछ मेरो मानसपटलमा त्यही आतङ्कको दृश्य झलझल्ती नाचिरहन्छ ।