आभारी छु म

आभारी छु म

अभाव खट्किन्छ
मेरा हरेक दैनिकीमा
तिम्रो अनुपस्थितिले
सबै काम अधुरा लाग्छन्
तिम्रो अनमोल अवलोकनबिना,
हरेक बिहानीमा पाउने गर्थें
तिम्रो स्वस्थ उपहार
स्वस्थ जीवन जिउने उपहार ।

बिहानी चुपचाप छ !
न त आशा नै छ तिमी फर्की आउँछौ भनी
न त बिर्सिन नै सकेको छु तिमी आउँदैनौ भनी
अभाव खट्किन्छ
मेरो हरेक दैनिकीमा
तिम्रो अनुपस्थितिको

अर्पूण लाग्छन् मेरा कविताहरू
मेरो पहिलो पाठकबिना
तिम्रा शक्तिशाली शब्दका बलले
बलवान बन्न पुग्थे अनि पूर्ण हुन्थे
मेरा कविताहरू
अभाव खट्किन्छ तिम्रो अनुपस्थितिले
मेरो हरेक दैनिकीमा

के मूल्याङ्ककन गरूँ तिम्रो !
मसँग न त शब्द नै छ,
न त तिम्रो व्यवहार नै
कहीँ कतैै चुकेको छ
तिम्रा विषेशताहरूको व्याख्या जति गरेपनि
कमी नै भइरहन्छ
अभाव खट्किन्छ हरेक बिहानी तिम्रो अनुपस्थितिको

मलाई हेरिरहेका छौ जस्तो लाग्छ
पर पर क्षितिजझंै
केही भने जस्तो लाग्छ तिमीले मलाई
भो ! नसम्झ मेरो भौतिक शरीर अब
भो नदुखाऊ मन अब
बरु सम्झ मेरा अधुरा सपनाहरू
बरु सम्झ उज्यालो भविष्यका सफलताहरू
बिचलित नहोऊ
विश्वास भर आत्म विश्वास भर आफुसँगै
निरन्तर बढ्दै जाऊ, हताश नहोऊ
समाऊ मेरा विचारका दरिला साथहरू

आभारी म !
पीडामा सहन सिकायौ तिमीले
अभावहरूसँग लड्न सिकायौ तिमीले
मृत्युलाई सहजै स्विकार्न सिकायौ
अभाव खट्किन्छ
तिम्रो सजीव प्रस्तुतिको

हरेक जटिलतामा पनि
सहजै किनारा लगाउने
तिम्रो सभ्य र शिष्ट युक्तिहरूले
मनोबल बढ्दै गयो साहस बढ्दै गयो
अभाव खट्किन्छ तिम्रो
तिमी बिनाका पलहरूमा

पर पर क्षितिजमा
सूर्य र धर्तीको मिलनझैं तिम्रो र मेरो
मिलन भए जस्तो लाग्छ
केही भने जस्तो लाग्छ मलाई
भो ! नदुखाऊ मन मेरो भौतिक शरीर सम्झेर
बरु सम्झ अनि सम्हाल मेरा दृढ सङ्कल्पहरू
भो ! न झार आँसुु घरी घरी
बरु सिकाऊ अभावमा बाँच्ने कसरी
बरु चिनाऊ नयाँ जीवन बन्छ कसरी
आभारी छु म तिम्रो !
सहनशीलता अनि मोह बिनाका कर्महरू प्रति
अभारी छु म तिम्रो ! बिनासर्तको प्रेम प्रति
सलाम गर्छु तिम्रो निस्वार्थ कर्मलाई
आभारी छु म महात्वकाङ्क्षा रहित त्याग प्रति ।