प्रकास

शनिबारीय साहित्य : कविता

*** ***

पूर्वी लम्जुङको किनार तटमा हाल्थ्यौ सुसेली मिठो ।
भोको पेट मिचेर खान्छ वनको खोस्रेर कालो गिठो ।।
पक्यो काफल त्यो भनेर वनको खान्थ्यो गुएली मिठो ।
फन्को मार्छ घुरेर हेर्छ पथमा नेपालको यो ठिटो ।।

भन्छौ जाग तिमी भिरेर खुकुरी हुन्छौ नि के काँतर ?
यो नेपाल नयाँ बनाउँन यहाँ साच्चै कसौ कम्मर ।।
झुल्क्यौ ज्योति प्रकाशिलो रहरिलो नेपालको भूमिमा ।
जप्यौँ जप्नु समाजवाद सु:खको सन्देश यो जूनीमा ।।

खान्थ्यौं काफल त्यो टिपेर वनको ऐसेलु मीठो भनी ।
साच्चैं वीर थियो समाज भरको झुक्दैंन कैल्यैं पनि ।।
भन्ने भाइ प्रकास यो समरमा लड्ने सुयोद्धा थियो ।
सारा विश्वभरी प्रकास जसको धप्पैं बलेको दियो ।।

पूर्वी लम्जुङमा प्रकास गतिमा झुल्क्यो बिहानीसंगैं ।
लाग्यो घाम प्रकाशिलो रहरिलो नौलो बिहानीसगै ।।
फारी बादलको प्रकास अहिले घुम्टो तिमी खोलिद्यौ ।
न्यानो पार समाजको अधरमा झुल्के रवी होइद्यौ ।।

कालो बादलले समाज सब यो ढाक्दा अँधेरो भयो ।
पूर्वी लम्जुङको प्रकास अहिले खस्दा उजेलो गयो ।।
भन्दैं लम्जुङको हिमाल निहुरी झुक्दैं छ लज्जाउदैं ।
छाती पोल्छ दुखेर हेर मुटुको त्यो घाउ बल्झाउदैं ।।

साँच्चै घायल भो प्रकास नहुँदा संसार अन्धो सधै ।
खोज्छौ बस्ति प्रकास फेरि घरमा आएन हाम्रो अझैं ।।
खोज्छन् हेर प्रकास त्यी सबजना सम्झेर रुन्छन् कति ।
खै त्यो ज्योति भनेर रात दिन नै खोजेर हिड्छन् कति ।।

पाल्दा यो सरकार भ्रष्ट सबले देखेर उत्कर्षमा ।
पक्कै त्यो गणतन्त्र हुन्छ अब लौं हाम्रो यही वर्षमा ।।
भन्ने काँ छ प्रकास खैं त अहिले छैंनौं तिमी साथमा ।
पर्ने भो गणतन्त्र भन्नु किन खैं त्यै जन्तुको हातमा ।।

सत्ताको बसमा छ मोह रसमा खाएर भत्ता कति ।
नेता हौ पथ भ्रष्ट छौ मुलुकमा राम्रो लिएनौ मति ।।
भन्दै हिड्छ प्रकास गाँउ घरमा त्यो न्यायको पक्षमा ।
बाँकी काम थियो अझै मुलुकमा पुग्नै थियो लक्षमा ।।

रातो ज्योति बनेर यो सगरमा चम्केर आयौं तिमी ।
होला मुक्ति भनेर क्रान्तिपथमा लम्केर आयौं तिमी ।।
बाल्यौ दीप वरीपरी मुलुकमा सारा उजेलो दियौ ।
होला मुक्ति भनेर क्रान्ति पथमा विश्वास गर्दै थियौ ।।

साँढे सात दशा रहेछ उनको बन्यौ दशैको वली ।
खै के बाँच्नु यहाँ प्रकास विचरा लागेछ गोली ढली ।।
राङ्सीको घरमा प्रचण्ड डरमा कामेर बस्दै थिए ।
रोल्पाको भिर कोटगाउँ तिर ती थापेर गोली पिए ।।
१०

(ने.क.पा (माओवादीका) का क्षेत्रिय ब्युरो सदस्य/जनमुक्ति सेनाका विग्रेड सह–कमाण्डर प्रकास रिजालको मिति २०६२ बैशाख ६ गते रोल्पाको कोटगाउँ भिडन्तमा सहादत भएपछि उनको स्मृतिमा लेखेको कविता)