शनिबारीय साहित्य : समीक्षा

*** ***

‘सपनाका मेघमाला’ कवि शीला योगीका बाइस ओटा कविताहरूको सङ्ग्रहित काव्य कृति हो । २०७५ साल वैशाखमा प्रथम संस्करण प्रकाशित यो कविता सङ्ग्रह कविको पहिलो प्रकाशित कृति हो । यी कविताहरूलाई कविले असमानताका पीडाका क्षणहरूबाट जन्मिएका आफ्नो जीवनका विशिष्ट भोगाइ र त्यसले सिर्जित गरेका शब्दहरूको सौन्दर्यका रूपमा लिएका छन् ।

कवि शीला योगी देशमा सदिऔंदेखि व्याप्त वर्गीय, जातीय, लैङ्गिक असमानता र त्यसले उत्पन्न गरेको हिंसा र उत्पीडनका विरुद्ध लड्दै आइरहेका छन् । र, उनमा रहेको त्यही प्रतिरोधी चेतनाले उनको कलमलाई ऊर्जाशील बनाउँदै आइरहेको छ । देशको संविधान नै विभेदकारी रहेको र संविधानले स्थापित गरेको राज्यको पुनर्संरचना, मुलुकको न्याय प्रणाली र कानुनी व्यवस्थाहरू पनि विभेदकारी रहेकोमा कवि प्रतिवाद गर्छन् । देशमा देखिएका राजनैतिक अस्थिरता, वैदेशिक हस्तक्षेप र आर्थिक सङ्कटहरूले कविको मनमा एक किसिमको छटपटी पैदा गर्छ । उनी ती छटपटीहरूलाई आक्रोशमा बदल्छन् र शब्दहरूमा व्यक्त गर्छन् । पाठकले उनका कविताहरूमा प्रवेश गर्नुअघि नै उनी आफ्ना आक्रोशहरूलाई सङ्गठित गर्छन् र आफ्नो भूमिकामा राख्छन् – ‘विशिष्ट काव्यिक मूल्यका दृष्टिले यी कहाँ उभिन्छन्, म त्यसप्रति धेरै चिन्तित छैन । पाठक र समीक्षकको जिम्मा छोड्छु त्यसका लागि । म यतिबेला केमा सन्तुष्टि अनुभव गरिरहेको छु भने नेपाली जीवनलाई नजिकबाट देख्ने भोग्ने क्रममा जन्मिएका अनुभूतिलाई मैले कविताका माध्यमबाट जसरी एउटा पृथक आकार दिने कोसिस गरेकी थिएँ, आज ती एकै ठाउँ, एउटै मालामा उनिएर सार्वजनिक हुँदै छन् ।’

‘कम्लरी’ सङ्ग्रहभित्र रहेको पहिलो कविता हो । कवितामा कम्लरीको पीडा छ । कम्लरी पश्चिम नेपालको तराईमा विद्यमान रहेको बधुवा मजदुरी प्रथा हो । सयौं वर्षदेखि तराईमा थारु महिलाहरूलाई जमिन्दारहरूले बधुवा कामदारको रूपमा प्रयोग गर्दै आइरहेको छ । आज पनि कम्लरीको रूपमा थारु महिलाहरूले भोग्दै आइरहेको यो सामाजिक अन्याय र हिंसाको शृङ्खला निरन्तर छ । कविले ‘कम्लरी’ कवितामा कम्लरीहरूको जीवनको कहालीलाग्दो चित्रलाई कथात्मक रूपमा प्रस्तुत गरेका छन् । साँच्चै नै कम्लरीहरूले बाँच्ने जीवन मान्छेले बाँचिरहेको जीवनजस्तो छैन । कम्लरीहरू आफ्ना रहरहरूले बाँच्दैनन् । उनीहरूका रहरहरू फूलहरूजस्तै फुल्न सक्दैनन् । कम्लरीसँग आफ्नो बालापन हुँदैन । कम्लरीसँग आफ्नै बैंसका सपनाहरू हुँदैन । उसको शरीर हाटबजारमा बिक्री हुने वस्तु समान छ । कतिखेर उसको बालापन हुर्कन्थ्यो र कतिखेर उसको बैंसको सौन्दर्य लुटिन्थ्यो, पत्तो हुँदैनथ्यो ।

मेरा बैंसका रहरहरू
कहिले लुगा धुँदाधुँदै हराउँथे
कहिले कुचो लाउँदा लाउँदै
कसिँगर र धुलो सँगसँगै बढारिन्थे
(पृष्ठ १०)

कविले ‘कम्लरी’ कवितामा मानिसले ‘मान्छे’ भएर बाँच्न पाउने अधिकारको लागि यो सामाजिक यथास्थितिवादको विरोध गरेका छन् । र, कम्लरीहरूको पक्षमा सामाजिक न्यायको माग र विद्रोहको स्वरलाई प्रखर गरेका छन् ।

सधैं डर र लाजले झुक्ने मेरा आँखाहरूबाट
आगो सल्केको पत्तै पाइन
म कम्लरीको ठाउँमा अब काली बनेर
तिमीजस्ता साहेब र मालिकका
टाउका छिनालेर
तिमीजस्ता काला दैत्यहरूलाई
एउटै चिहान बनाउन चाहन्छु
अनि त्यही चिहानमा
महिला मुक्तिको विगुल फुकेर
एउटै जातिको मान्छेको
बस्ती बसाल्न चाहन्छु ।
(पृष्ठ १३)

कवि शीला योगी वैचारिक रूपमा सचेत एक राजनीतिक संवाहक पनि हुन् । त्यसैले पनि उनका कविताहरूमा सामाजिक रूपान्तरणका सचेतनाका प्रयत्नहरू प्रसस्त पाइन्छ । सामाजिक र सांस्कृतिक रूपमा सामन्तवादी सत्ताले हुर्काएका विभेदहरूका विरुद्ध लड्नुजस्तै सिर्जनाको तहबाट सामन्तवादसँग लड्नु पनि साँच्चै सहज छैन । त्यसैले कविको कथन छ – ‘कविता रचनाको प्रक्रिया पनि त जीवन र समाजको रूपान्तरणका लागि गरिने सङ्घर्ष जस्तै न हो । कविता रचना प्रक्रियामा गर्नुपर्ने सङ्घर्षको चुनौती मलाई स्वीकार्य छ ।’
२०४५ सालको पञ्चायती क्रूर र निरङ्कुश व्यवस्था विरुद्ध होस् या २०५२ सालको शसस्त्र जनयुद्ध या २०६३ सालको गणतन्त्र प्राप्तिको आन्दोलन, एउटा आन्दोलनकर्मीको रूपमा कवि शीला योगीको उपस्थिति उत्तिकै देखिन्छ । राज्यद्वारा अन्यायपूर्ण रूपमा नागरिकहरूमाथि गरिएका हिंसा र दमन विरुद्ध उनी सधैं पनि लड्दै आइरहेका छन् । सामाजिक रूपमा रहेका अन्धविश्वास, कुरीति, कुसंस्कार र धार्मिक, सांस्कृतिक र लैङ्गिक विभेदले सिर्जना गरेका असमानताहरू र त्यसका विरुद्ध न्याय र समानताका लागि उनी जहिल्यै पनि एक सामाजिक कार्यकताका रूपमा लागिरहे । ‘सपनाका मेघमाला’भित्र रहेका कविताहरू उनका यिनै सङ्घर्ष र आन्दोलनका उहापोह बिच लेखिएका समयका साक्षी किनारा हुन् ।

हरेक बिहानीमा
नयाँ जिन्दगीको सुरुवात हुन्छ
जन्मिन्छन् इच्छाहरू आफन्तहरू भेट्न
बिहानीले दिएको उपहार जीवनमुक्तिको
आफन्तहरूलाई बाँड्न
बिहानीको उज्यालोमा रमाउने
मान्छेका जमातहरू
बसेर एकचोटि फेरि
बिहानीको घाम बटुल्नु छ ।
(पृष्ठ १४)

‘कम्लरी’, ‘हरेक बिहानीले सुरुवात गर्छ’, ‘अन्तिम इच्छा’, ‘सपनाका मेघमालाहरू’, ‘लोग्ने मान्छे’, ‘छोरीलाई चिठी’, ‘रित्तो काख’, ‘एउटा यात्रा’, ‘सपनाका गीतहरू’, ‘उनकी आमा’, ‘जुकाहरूलाई मिल्काइदेऊ’ यस सङ्ग्रहभित्र रहेका कवि शीला योगीका सशक्त कविताहरू हुन् । यी कविताहरूले कवि शीला योगीको सिङ्गो कवित्व क्षमतालाई उजागर गर्छ । सामान्य शब्दमा पाठकसँग संवाद गरिरहेका र पाठकको मनलाई स्पर्श गरिरहेका शीला योगीका कविताहरूले नजानिँदोसँग पाठकलाई भावुक र विद्रोही बनाउँछ ।

तिमीसँग रातो रङ्ग छ बाँकी
छरिदेऊ आकाश नै रातो हुनेगरी
बन्द हुन्छन्
बेमौसमी फुल्ने फूलहरू
राता थुम्का थुम्का बनेर
बादलहरू मडारिँदै
गडगडाउन सुरु गर्छन्
अनि बर्सिन्छन्
झुप्राका बलेनीहरूबाट
राता राता धाराहरू
भो नबनाऊ मन उदास
बर्सिन्छन् फेरि सपनाका मेघमालाहरू
(पृष्ठ ३३)

‘सपनाका मेघमाला’ सङ्ग्रहीत कविताहरूमा विषयको विविधता पाइन्छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयवस्तु उनका कवितामा आम मानिसको जनजीवनसँग जोडिएर आएको छ । एकातिर राज्यबाट गरिएको उत्पीडन र अर्कोतिर पुरुष समाजबाट भएको हिंसाका कारण महिलाहरूले भोग्दै आइरहेको शारीरिक, मानसिक र मनोवैज्ञानिक पीडा कवि शीला योगीका धेरै कविताहरूमा केन्द्रिय विषयवस्तु बनेको छ । ‘कम्लरी’, ‘अन्तिम इच्छा’, ‘गणतन्त्र र नाङ्ग्ले पसल्नी’, ‘छोरीलाई चिठी’, ‘रित्तो काख’, ‘गर्भ’, ‘उनकी आमा’ र ‘जुकाहरूलाई मिल्काइदेऊ’ महिलामाथिको उत्पीडनलाई केन्द्रीय भाव बनाएर लेखिएका कविताहरू हुन् । यी कविताहरू वर्तमानमा महिलाहरूले भोगिरहेको यथार्थको प्रतिबिम्बन पनि हुन् । कवितामा कुण्ठा छैन, परिवर्तनको लागि विद्रोहको आशातीत किरण छ । समतामूलक समाज र सुन्दर जीवनको आह्वान छ ।

कति वर्षदेखि
उनकी आमा डोको बोकेर
जङ्गल आउने जाने गर्छिन्
आँखाभरि मनभरि
युद्ध जितेको उल्लास बोकेर ल्याउँछिन्
(पृष्ठ ६१)
हुत्याएर हेर त एकचोटि
मनको अनि दिमागको कुना कुनामा
टाँसिएर बसेका जुकाहरू
जसले आइमाईको नाममा
वर्षौदेखि रगत चुस्दै आएका छन्
उनीहरूको नाममा
तिम्रो मन र मस्तिष्क
पुरै सङ्क्रमित बनाएका छन् ।
(पृष्ठ ६२)

लेख्नु वा लेख्ने कार्य एक किसिमको साइकोथेरापी पनि हो । आनन्दको प्राप्ति हो । एउटा सुन्दर कविता पढिसकेपछि पाठकले आनन्दको प्राप्ति गर्छ र त्यसले मस्तिष्कको तहमा एउटा सौन्दर्य निर्माण गर्छ । पाठकको मस्तिष्कमा कविताले उत्पन्न गर्ने त्यही सौन्दर्यको ऊर्जाले पाठकलाई समाज बदल्ने दिशातिर अघि बढाउँछ ।

सपनाका मेघमालामा रहेका कविताहरू यही समाज बदल्ने दिशातर्फको यात्रा हो । कवि शीला योगी निरन्तर यो यात्रामा छन् । र, समाजवादी नयाँ समाजको निर्माण उनका कविताहरूको अभीष्ट हो । उनी एक स्वप्नदर्शी स्रष्टा हुन् ।
सपनाहरू गीत हुन्
सपनाहरू गति हुन्
सपनाविना कसरी चल्छ जीवन ?
कसरी हुन्छ स्वर्णिम सूर्योदय
आऊ जलजला
सपनाको हिमवर्षा गर ।
(पृष्ठ ५८)

‘कवि शीला योगीको यस सङ्ग्रहमा सङ्कलित कविताहरू गतिशील यथार्थका जीवन्त अभिव्यक्ति हुन ।’ कविता सङ्ग्रहको पुछार गातोमा वरिष्ठ माक्र्सवादी समालोचक प्रा.डा. जगदीशचन्द्र भण्डारीले लेख्नुभएको छ – ‘यी कवितामा सत्यता, सुन्दरता, शिवत्व अनि बलिदानी गाथाको गायन तथा उत्पीडनकारी शक्तिहरूका विरुद्ध क्रान्तिको आह्वान छ र सँगसँगै मायावी सत्ताका पक्षधर र तिनका विचलनयुक्त कुरूप आचारप्रति सौम्य प्रहार गरिएको छ । मानवीय संवेदनाका अनेक रूप, इतिहासचेत र भविष्य सङ्केतनसँगै क्रान्तिप्रतिको निष्ठा तथा मानवमुक्तिप्रतिको कलात्मक रागको आवेगपूर्ण प्रतिबिम्बनले कवितालाई सुन्दर र मूल्ययुक्त बनाएका छन् ।’

नेपाली कविताको फाँटमा कवि शीला योगीको ‘सपनाका मेघमाला’ कवितासङ्ग्रह एउटा उपलब्धिपूर्ण सङ्ग्रहको रूपमा आएको छ ।
आँबुखैरेनी, तनहुँ

प्रतिक्रिया

सम्बन्धित खवर