तपस्वीको आवरणमा अपराध : हत्या, बलात्कार र अबैध धन्दामा बम्जनको संलग्नता

तपस्वीको आवरणमा अपराध : हत्या, बलात्कार र अबैध धन्दामा बम्जनको संलग्नता

काठमाडौँ । तपस्वीको आवरणमा हत्या, बलात्कार र अवैध धन्दा चलाउँदै आएका कथित तवस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले विवादास्पद तपस्वी रामबहादुर बम्जन र उनको निवासबाट बरामद गरेको ठूलो परिमाणको नगद सार्वजनिक गरेको छ। सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर बम्जन पक्राउबारे विस्तृत जानकारी पनि दिएको छ।

यौन दुराचार र व्यक्ति हत्यामा संलग्न रहेको आरोपमा सीआईबीले बम्जनलाई मंगलबार उनको निवास हात्तीगौंडाबाट पक्राउ गरेको थियो। एक बालिकामाथि यौन दुराचार गरी हत्या गरेको आरोपमा बम्जनमाथि प्रहरीले अनुसन्धान गर्दै आएको थियो। अन्य थप व्यक्तिहरू पनि उनको आश्रमबाट हराएको सूचना प्राप्त भएकाले अनुसन्धान भइरहेको सीआईबीका एसपी दिनेश आचार्यले जानकारी दिए।

आचार्यका अनुसार चुन्मो भनिने २९ वर्षीया चिनीमाया तामाङ, ५१ वर्षीय सञ्चलाल वाइबा, डोल्मो भनिने फूलमाया रुम्बा र सुरेशकुमार आले बम्जनको आश्रमबाट हराएको सूचना प्रहरीलाई आएको छ। उनीहरू बम्जनकै अनुयायी रहेको प्रहरीको भनाइ छ। बम्जन विभिन्न ठाउँमा आश्रम सार्दै–बस्दै आएका थिए।

चिनीमाया, सञ्चलाल र फूलमाया सिन्धुपाल्चोकको बाँडेगाउँबाट बेपत्ता बनाएको आचार्यले जानकारी दिए। बम्जन केही वर्षअघि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित टोड्के भन्ने ठाउँमा आश्रम बनाएर बसेका थिए। सोही बेला ती अनुयायीहरूलाई बेपत्ता पारिएको प्रहरीको भनाइ छ।

पत्रकार सम्मेलनमा बरामद गरिएको नेपाली रुपैयाँसहित विभिन्न १७ देशको गरी तीन करोड ३४ लाख ६७ हजार नौ सय ६ नगद सार्वजनिक गरिएको हो। बम्जनको निवासबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय रुपैयाँ र अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलरलगायत विभिन्न १७ देशका मुद्रा बरामद गरिएको एसपी आचार्यले जानकारी दिए। बरामद विदेशी मुद्रा ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरको छ।

यसैगरी मोबाइल १४ थान, पे ड्राइभ २० थान र आइप्याड पाँच थान बरामद गरिएको छ। सीआईबीले रामबहादुर चढ्ने गाडी र मोटरसाइकल पनि बरामद गरेको छ। ती गाडी र मोटरसाइकल विभिन्न व्यक्तिका नाममा छन्।

आफूलाई तपस्वी बताउँदै आएका बम्जन विलासी जीवन बिताउँदै आएको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। उनले प्रदेश(३(०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर प्रयोग गर्दै आएका थिए।

त्यस्तै उनले ल्यान्डक्रुजर(जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको पनि सीआईबीले जनाएको छ। उनको प्रयोगका लागि धुम्बाराहीमा रहेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडमा सेतो रङको ल्यान्डक्रुजर किन्नका लागि ५ करोडमा बुकिङ गरिएको थियो। उक्त गाडी ललितपुर महानगरपालिका वडा नं। २२ बुङमतीका ४५ वर्षीय पनित महर्जनको नाममा किन्न खोजिएको थियो। महर्जन बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष हुन्। त्यस्तै बम्जनले क्रसफायर, केटीएम ड्युक मोटरसाइकल र यामाहा रे जेडआर स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ।

बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेस गरिने र नगद तथा विदेशी मुद्राका लागि भिन्नै अनुसन्धान गरिने सीआईबीले जनाएको छ। यौन दुराचारमा उनीमाथि सर्लाही जिल्लामा उजुरी परेकाले उतै पठाउन लागिएको हो। प्रहरीले बम्जनबारेको अनुसन्धानलाई ‘अप्रेसन ब्लु’ नाम दिएको छ।

खास नाम रामलाल रहेका ३४ वर्षीय बम्जन सीआईबीको टोली पक्राउ गर्न पुगेपछि घरको चौथो तलाको झ्यालबाट हामफालेर भाग्न खोजेका थिए।

बाराको हलखोरियामा ०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिए पनि कारबाही चल्न सकेको थिएन। पाँच वर्षपछि ०७६ माघमा बल्ल जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तर प्रहरीले पक्राउ गर्न सकेको थिएन।

शक्ति केन्द्रहरुलाई प्रभावित पारेर बारा, सिन्धुली लगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर रजगज चलाइरहेका उनी केही समययता बेपत्ताजस्तै थिए।

बाराको हलखोरियामा ०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिए पनि कारबाही चल्न सकेको थिएन। पाँच वर्षपछि ०७६ माघमा बल्ल जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तर प्रहरीले पक्राउ गर्न सकेको थिएन।

उनी केही समयअघि काठमाडौं प्रवेश गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा सिआइबीले उनी बसेको घरलाई एक सातादेखि निगरानीमा राखी मंगलबार पक्राउ गर्न सफल भएको हो।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदातले २०७६ साल माघ २३ गते नै बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। बाराको निजगढ नगरपालिका वडा नम्बर १२ का स्थायी बासिन्दा रहेका बम्जनले आफू तपस्वी भएको बताउँदै आएका थिए। तर उनकै आश्रमबाट अनुयायीहरू बेपत्ता पारेका विभिन्न उजुरीसमेत प्रहरीमा परेका छन्।

बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशिबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सिआईबीले जनाएको छ।

सीआईबीसँगको बयानमा बम्जनले आफूले अपराध नगरेको दाबी गरेका छन्। प्रारम्भिक बयानमा उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेको सीआईबीले जनाएको छ। आफूलाई फसाउनका लागि विभिन्न अपराधको आरोप आफूमाथि लगाइएको उनको दाबी छ। उनले आफू यतिन्जेल ध्यान र अध्ययनमा रहेको भन्दै नभागेको बयान दिएका छन्।