मुकुन्द

मुकुन्द

शनिबारीय साहित्य : कविता

*** ***

फालौ राख्न हुदैंन निर्दल भनी भन्दैं थियौ देशमा ।
फालौ निर्दल यो भनी सडकमा आयौ तिमी जोशमा ।।
पक्कैं यो गणराज्य हुन्छ नि दिदी भन्थ्यौ तिमी भेटमा ।
फाल्छौ यो सरकार निर्दल यहाँ राख्छौ कहाँ देशमा ।।

जान्थ्ये क्याम्पस पढ्न रामपुरमा विद्या लिदै जोे थिए ।
होला मुक्ति भनेर क्रान्ति पथको बाटो लिएका थिए ।।
ओ हो भाइ मुकुन्द यो सडकमा आयौ तिमी जोशमा ।
लाखौ मानव आहुती हुन गए रक्ताम्य भैं देशमा ।।

आयौ भाइ मुकुन्द यो शहरमा वार्ता गरौ हैं भनी ।
वार्ताको पहिले मुकुन्द त तिमी संयोजकौ हौ पनि ।।
दोस्रो चोटि हुँदै थियो मुलुकमा वार्ता कुनै रातमा ।
वार्ता भंग भयो परेन अहिले केही कुरा हातमा ।।

बाटो लाग्नु परेछ फेरि अहिले खादै थियौ रे खली ।
मान्छे

कै अधिकार खै मुलुकमा हुन्छौ तिमी नै वलि ।।
गोली यो सरकार ठोक्छ कसरी लौ हेर छाडा बनी ।
मान्छेकै अधिकार खैं त अहिले भन्छिन् धराले पनि ।।

धोका फेरि यही दियो शिशिरले भन्दै हिडेका थियौ ।
पार्टी हुन्छ यहाँ भनेर टुहुरो चिन्ता गरेका थियौ ।।
पार्टी छोड्छ अरे भनी शिशिरले संसार ध्वस्तैं गरी ।
सारा लम्जुङ रुन्छ हेर त यहाँ यस्तैं विलौंना गरी ।।

पार्टी भो टुहुरो मुकुन्द नहुँदा मान्छन् सबैंले दुख ।
पल्टाए किन दुष्ट दानव मिली देखिन्न केही तुक ।।
चल्यो फेरि हुरी वतास कसरी संसार नष्टैं गरी ।
आमाको मुटुमा छ चोट दिलमा घोचेछ कष्टै बरी ।।

गोली यो सरकार ठोक्छ कसरी लौ हेर छाडा बनी ।
भिज्ने भो नि मुकुन्दको रगतले मैंदान बेसी पनि ।।
हाम्रो हेर अमूल्य रत्न यसरी गुम्दा दुखी छन् कति ।
फोटोसामु झुकेर आज दुखि भै मैं दिन्छु श्रद्धाञ्जाली ।।

गाथा हेर मुकुन्दको सगरमा फैलिन्छ हावा सरि ।
ओ हो भाइ मुकुन्द हेर कसरी चम्किन्छ तारा सरि ।।
छोरो वीर थियौ मुकुन्द अहिले भन्छन् चराले पनि ।
खै सन्तान भनेर रुन्छ मन यो सोध्छन् धराले पनि ।।

ने.क.पा. (माओवादी) का क्षेत्रीय व्यूरो सदस्य/जनमुक्ति सेनाका कम्पनी कमिसार मुकुन्द न्यौपानेको चितवनको प्रेमवस्ती–१४ मा २०६१ जेठ १२ गते सेनाको जम्का भेटमा गोली हानी हत्या पछि उनैको जीवन गाथामा आधारीत कविता)