कम्युनिष्ट खोज्नेका दु:खहरू !

कम्युनिष्ट खोज्नेका दु:खहरू !

शनिबारीय साहित्य : कविता

*** ***

ऊ बालुवाटारतिर हेर्छ
बबण्डर नै बबण्डर देख्छ
मरुभूमिमा जस्तो
बालुवा नै बालुवा देख्छ
भित्र कोही
अध्यात्मवाद र भौतिकवादको
कक्टेल पिइरहेको देख्छ
र अब कम्युनिस्ट सकिए भन्दै रुन्छ ।

ऊ बालकोटतिर हेर्छ
केवल टाई र कोट मात्र देख्छ
केही अस्लिल उखान मात्र सुन्छ
भित्र कोही
गायत्री मन्त्र जपिरहेको देख्छ
र अब कम्युनिस्टको काम छैन भनेर
पुर्पुरोमा हात राख्छ ।

जहाँ जहाँ छन्् कम्युनिस्टका चिहानहरू
त्यहाँ त्यहाँ पुग्छ
र कम्युनिस्टहरूमा महामारी पस्यो भन्छ ।

जहाँ जहाँ छन्
कम्युनिस्टका लासहरू
ऊ त्यही त्यही पुग्छ
र कम्युनिस्ट गन्हाउन थाले भन्छ ।

जहाँ जहाँ छन्
गद्दारहरू
जहाँ जहाँ छन्
नेपाली ख्रुस्चेव र तेङहरू
ऊ त्यहाँ त्यहाँ मात्र पुग्छ
र अब कम्युनिस्टहरू मरिसके भन्छ ।

ऊ कम्युनिस्टको लास नजिक पुग्छ
लाल सलाम गर्छ
दु:ख बिसाउँछ
रिपोर्टिङ गर्छ
लासलाई लास हो भन्ने नचिनेर
आदेश देऊ
मार्न मर्न तयार छु भन्छ ।

लासले बिस्तारै
तर ब्यङ्ग्य गर्दै भन्छ
तपार्इं त भर्खर तयार हुनु भएछ मार्न मर्न
यी हेर्नुस त
म त हिजै मरिसकें नि ।

ऊ आत्तिन्छ
हल्ला गर्छ
र कम्युनिस्टहरू मरेको पक्का हो रैछ भन्छ ।

ऊ तन्नेरी शक्तिको कार्यलय पुग्छ
कसका छोरी बुहारी कसरी उडाउने
भित्र छलफल गरिरहेको सुन्छ
बेलाबेला कमरेड भनेको पनि सुन्छ
बेलाबेला लाजभाँड सबै बोलेको पनि सुन्छ
र कम्युनिस्टलाई बेस्सरी गाली गर्छ ।

ऊ तन्नेरी कम्युनिस्ट लिगको कार्यलय पुग्छ
अल्छि मानी मानी
झिँगा धपाइरहेका युवाहरू देख्छ
र थुक्क कम्युनिस्ट भन्दै बर्बराउँछ ।

ऊ कुनै बेलाका कम्युनिस्ट
तर अहिले
अनुहारमा लागेको कम्युनिस्टको दाग
समावेसी समाजवादको साबुन दलेर
पखाल्दै गरेका विद्वानलाई भेट्छ
उनी भन्दै हुन्छन् –
‘कपी र कलम छ झोलामा ?
छ भने लेखेर राख्नुस्
अब कम्युनिस्ट प्रणाली नै रहँदैन !’
त्यसपछि
कम्युनिस्ट युगको सकिएछ भन्ने सोचेर
साम्यवादको मृत्युको शोकमा
छात्ती पिटेर रुन्छ ।

अन्तमा
नयाँ पत्रिकामा छापिएको
खगेन्द्र सङ्ग्रौलाको ठुस्स गन्हाउने लेख
‘नेपाली कम्निष्टका नौ दु:ख’ पढ्छ
नौ दु:खभित्र आफैंलाई खोज्छ
चारैतिरबाट दुश्मनले घेरा हालेको
बन्दुक ताकेको
र अन्तिम ईच्छा सोधिरहेको कल्पना गर्छ
आफूलाई एक्लो
निरिह र उपाय विहीन संझन्छ
अनि कम्युनिस्ट आन्दोलनबाट
सन्यास लिएको घोषणा गर्छ ।

ऊ घाँस कुँडो गोरुलाई खुवाउँछ
गाईलाई पराल हालेर टार्छ
ढुङ्ग्रो लिएर गोरुको टाङ्मुनि बस्छ
हरेक पटक लात्ती खान्छ
हरेक पटक गोरु पिट्छ
फेरि उसै गर्छ
फेरि उही दु:ख दोहोरिन्छ ।

बास्तवमा
उसले कम्युनिस्ट भेटेकै छैन
भेटेकै भए पनि चिनेकै छैन
चिनेको भए पनि पत्याएकै छैन ।

जजस्लाई चिनेको छ
जजस्लाई पत्याएको छ
ती कोही हिजो
कोही अस्ति
कोही पोहोर
र कोही दशकौं अगाडि मरिसकेका हुन् ।

ऊ मरेकाहरूसँग आश गर्छ र निराश बन्छ
ऊ मरेकाहरूको विश्वास गर्छ र बिथोलिन्छ
ऊ मरेकाहरूसँग रिसाउँछ र चिथोरिन्छ
ऊ मरेकाहरूलाई गाली गर्छ र आत्मरति लिन्छ
ऊ खगेन्द्र सङ्ग्रौलाको लेख पढेर भावुक बन्छ ।

अब भन्नुस्
ऊ नरोए को रुन्छ ?
ऊ नबिथोलिए को बिथोलिन्छ ?
उसले हाराकिरीको प्रयास नगरे कसले गर्छ ?
२०८० पुस २