के यो प्रजातन्त्र हो ?

के यो प्रजातन्त्र हो ?

शनिबारीय साहित्य : कविता

*** ***

सीता रावणले गरे हरण लौ सारा करायौ अनि ।
राजा राम भएर के फरक भो सीता जलायौ भनी ।।
कैलेसम्म अडिन्छ रावण बनी मुन्टाउने तन्त्र यो ।
ज्यूँदै मानव जल्छ यो मुलुकमा के को प्रजातन्त्र हो ?

चण्डीस्थान भयो नि सून्य घर त्यो सीता गयौ खै कहाँ ।
सेनाले नि लिएर हिड्दछ भनी भन्थ्ये सबैले यहाँ ।।
सेना त्यो प्रहरी जवान सबले घोक्ने महा मन्त्र भो ।
टालो बाध्छ थुनेर राख्छ मुख त्यो के यो प्रजातन्त्र हो ?

कब्जा गर्छ लिएर हिड्छ कसरी गस्तीसगै त्यो पनि ।
घुम्दैछौ नि लिएर गाउँ घरमा बस्ती उसैको अनि ।।
हाम्रो लागि त संकटै अति भयो कोक्याउने तन्त्र यो ।
कब्जा गर्नु र मार्नु हो विधि भने के यो प्रजातन्त्र हो ?

सीताको कति वेदना छ मनमा छामेर हेर्छौ कि त ।
नारीको अधिकार खै र जगमा डामेर मार्छौ नि त ।।
बन्दी भन्छ भिडन्त हुन्छ कसरी के जादुको मन्त्र यो ।
गोली हान्छ र मार्छ मानव भने के यो प्रजातन्त्र हो ?

हाम्रो यो अधिकार भोग्न कहिले पाइन्छ ढुक्कैसित ।
बन्दी भन्छ भिडन्त हुन्छ कसरी बुझ्नै छ गाह्रो नि त ।।
गर्छौ नाटक यो भिडन्त छ भनी झुक्याउने मन्त्र हो ।
मारिन्छन् विचरा युवा र युवती के यो प्रजातन्त्र हो ?

गर्छौ के अपराध रावण बनी सीता लुटेरै अनि ।
राम्रो शासन हो भनेर नभनौ मान्छे भुटेरै पनि ।।
आयो शान्ति भनेर जनता झुक्याउने तन्त्र भो ।
गोलीले यदि मार्छ मानव भने के यो प्रजातन्त्र हो ?

तोक्यौ मानव मूल्य फेरि कसरी हाली मुहाली गरी ।
को अन्याय सहन्छ शासक अझै आएन तिम्रो हरी ।।
कुर्सीमा नि बसेर शासन गरी जप्ने यही मन्त्र हो ।
मार्छौ नेल कसेर जेल घरमा के यो प्रजातन्त्र हो ?

को अन्याय सहन्छ मानव अझै जागेछ बूढो पनि ।
सामन्ती सरकार यो मुलुकमा जोधाह बन्छौ अति ।।
साँढे हुन्छ जुधेर हिड्छ बलले झुक्याउने मन्त्र यो ।
साँढे मात्र जुधेर बालक यहाँ मिच्ने प्रजातन्त्र हो ?

धोका दिन्छ र लिन्छ इज्जत भनी के न्याय गर्छौ रति ।
नारी हो उठ जाग लौ अब यहाँ अन्याय भोग्छौ कति ।।
दिन्छौ न्याय निसाफ लौ अब भनी भुक्याउने तन्त्र यो ।
गर्छौ शासक हो लुटेर जनता के यो प्रजातन्त्र हो ?

(ने.क.पा (माओवादी)का तत्कालिन इलाका सदस्य सिता अधिकारीलाई २०५९ असार ८ गते लमजुङ नाल्माबाट गिरफ्तार गरि वेसीशहर ब्यारेकमा करिव ३ महिना चरम यातना दिई राखेको र पछि नाल्माको जंगलमा भिडन्तमा मारिएको भनि प्रचार गरेको तर सवुत केहि फेला नपरेको) ।