कवि सिर्जनाः अभिव्यक्तिका सूत्रहरूमा

कवि सिर्जनाः अभिव्यक्तिका सूत्रहरूमा

शनिबारीय साहित्य : समालोचना 
 
साहित्य आफैँमा सिर्जना हो, मौलिक सिर्जना । सिर्जनात्मक लेखनसँग जोडिएको एक नारी प्रतिभाको नाम हो सिर्जना दुवाल । पारिवारिक वातावरण तथा व्यक्तिको स्वभाव पनि साहित्य सिर्जनाका कारक तत्त्व हुन सक्छ । २०३६ साल बैशाख १२ गते बनेपामा जन्मिएकी सिर्जना दश वर्षको उमेरदेखि नै सिर्जनामा लागेकी प्रतिभा हुन् । नेपाली भाषा तथा नेवारी भाषा दुवैमा उनको राम्रो लगाव रहेको छ । बीस वर्षको समयमा नै कृति प्रकाशन गर्न सफल सिर्जना दुवालको प्रथम प्रकाशित कृति हो ‘अभिव्यक्तिका सूत्रहरू’ कविता सङ्ग्रह २०५६ । यस कवितासङ्ग्रहभित्र बाईस ओटा कविताहरू सङ्कलित रहेका छन् । यस कविता सङ्ग्रहभित्रका कविताहरूको शीर्षक र स्वरूपलाई हेर्दा गद्यात्मक प्रस्तुति तथा त्यसभित्र समसामयिक विषय, परम्परावादी चिन्तनप्रतिको विद्रोह, युग संवाहकरूप्रतिको श्रद्धा, वर्गीय प्रेम जस्ता भावनाहरूको प्रस्तुति रहेको पाइन्छ ।
 
यस कवितासङ्ग्रहका शीर्षकहरू आफैँमा अर्थ ध्वनित गर्ने शक्ति वा सामथ्र्य राख्दछन् । ‘समयले गिज्याइरहेछ’, ‘भावना घन्किदिन्छु’, ‘सम्झनु हुन्न खेलौना’, ‘प्रवृत्ति’, ‘ईश्वर र मान्छे’, ‘शुभकामना नयाँ वर्ष’, ‘फुटपाथमा सुन्दरी जूनजस्तै फूल हो पारिजात’, ‘पुरुषप्रधान देश’, ‘नदी’, ‘गाउँमा स्वतन्त्रता’, ‘म बहुलाएको छु’, ‘सुन्दर समाजको खोजी’, ‘समस्यासँग जुध्ने गर’, ‘झुक्किएर नर्कमा पुगेँ’, ‘सुनकोशी र म’, ‘परिवेश’, ‘कलियुगी मान्छेहरू’, ‘सहरिया हुनुको आभास’, ‘आजको समय’ तथा यस सङ्ग्रहभित्र अन्तिममा केही गजलहरू रहेका छन् । यस कविता सङ्ग्रहभित्र अत्यन्त सहज, गहन तथा चोटिला रूपमा प्रस्तुत भएको केही कविताको चर्चा यस लेखमा गर्ने चेष्टा गरिन्छ ।
 
१. जूनजस्तै फूल हो पारिजात
२. पुरुषप्रधान देश
३. नदी
४. गाउँमा स्वतन्त्रता
५. सुन्दर सपनाको खोजीमा
६. परिवेश
 
यी आधा दर्जन कविताको टुक्रे चर्चा र यसको अध्ययनबाट समग्र प्रवृत्ति औल्याउने जमर्को रहेको छ । ‘जूनजस्तै फूल हो पारिजात’ अभिव्यक्तिका सूत्रहरू कविता सङ्ग्रहको एक उल्लेख्य कविता हो । त्यसो त यस कविताले प्राकृतिक सौन्दर्यशाली फूल पारिजातको मात्र होइन त्यो फूलको स्वभाव सौन्दर्य तथा चहक जस्तै नेपाली साहित्यकी सर्वाधिक चर्चित नारी स्रष्टा पारिजातको स्मरण गर्न पुगेकी छिन् । त्यतिमात्र होइन पारिजात जसरी सुगन्धित आकर्षक फूलको नमुना मानिन्छ । त्यसैगरी साहित्य क्षेत्रकी पारिजात पनि कृतिले समाजमा बाँचेकी दुःखभरि पनि हाँसेकी स्रष्टा हो भन्ने कुरालाई पारिजात सन्दर्भबाट हेरिएकाले अत्यन्त महत्त्वपूर्ण ढङ्गबाट चर्चा गरिएको छ । मानवलाई प्रकृतिको सुन्दर उपहार ठान्ने र प्रकृतिलाई मानवसँग तुलना गर्ने काम यस कवितामा भएको छ । छोटो भएपनि लेखन सीपले खारिएको कविताको लेखनले उनलाई प्रकृति भनूँ कि महामानव । त्यसैले जूनजस्तै पारिजात चम्किरहने प्रतिभा हो भन्न सकिन्छ । सिर्जनाको अर्को मार्मिक कविताको शीर्षक छ, ‘पुरुषप्रधान देश’ । यस कवितामा कविले नेपाली समाजमा नारीलाई पछाडि पारेको र नारी पछाडि पर्नुको चिराफारा गरेकी छिन् । नारीलाई हाम्रो समाजले जतिबेला पनि एउटा उपभोग्य वस्तुको रूपमा हेरेको तथा नारी अरुलाई सहयोग गर्ने सहयोगीको रूपमा मात्र परिचित रहेको तथ्यलाई उठाएकी छिन् कवि भन्छिन्;
 
नारी त सालिक हो
चुपचाप सहिदिनुपर्छ
रुनु हुँदैन कष्टमा पनि
ढुङ्गाझैँ ठिङ्ग उभिदिनुपर्छ
शान्तिकी प्रतिमूर्ति नारीले
संयम बोकेर हाँसिदिनुपर्छ
नारी त नारी नै हो, 
भार बोक्नुपर्छ ।
 
यस कवितामा कविले थोरैमा धेरै भन्ने चेष्टा गरेकी छिन् । सरल भाषामा सङ्क्षिप्त शैलीमा नेपाली समाजको जटिल पक्षलाई देखाउन सफल कवि यही कारणले गर्दा नै हाम्रो समाजमा नारी अवहेलनाकी पात्र भएको तर्फ बेजोड ढङ्गले औँल्याएकी छिन् । ‘नदी’ शीर्षकमा कविले जीवनलाई एक सफा स्वच्छ, गतिमय नदीको रूपमा चित्रित गरेकी छिन् । नदीको स्वभावसँग हाम्रो मानवको स्वभावलाई तुलना गर्ने चेष्टा गरेकी छिन् । विनाअवरोध जीवनरूपी नदी बग्न सके मात्र राष्ट्र सुन्दर ढङ्गले विकसित हुन सक्छ भन्ने कविको गहन विचार उपस्थित भएको छ । आयामका हिसाबले जम्मा ६ पङ्क्तिको कविताले पनि गहन अर्थबोध गर्न सफल भएको छ ।
 
‘गाउँमा स्वतन्त्रता’ शीर्षकको कवितामा कविले हाम्रो देश नेपालको भौगोलिक, आर्थिक, सांस्कृतिक तथा सामाजिक पक्षलाई उठाएकी छिन् । गाउँमा स्वतन्त्रतालाई आफ्नै ढङ्गले परिभाषित गरिएको र त्यो स्वतन्त्रता स्वतन्त्रता नभएको तर्क सर्जकको ठम्याई छ ।
 
छोरीहरू अँध्यारो कोठामा
स्वतन्त्रता छाम्छन्
लिपपोत गर्दै, घाँस काट्दै पनि
लुगाको थुप्रो धुदै ।
 
गाउँमा सुन्तली, चमेली र रामप्यारीहरूलाई
नङ्ग्याउँदै
उनीहरूलाई
स्वतन्त्रताको अनुभव चखाउँदै छन् ।
 
हो नेपालको सामन्तवादी चिन्तनले घर गरेका कारण नेपाली नारीको पीडा अत्यन्त दर्दनाक बनेर उपस्थित भएको छ । त्यतिमात्र होइन कविले नेपाली समाजको यथार्थ रूपलाई टपक्क टिपेर शब्दमा सजाउन सफल भएकी छिन् । कविले यी समयको बीभत्स दृश्यलाई समाजको कलङ्कको रूपमा प्रस्तुत गरेकी छिन् । नारीमाथिको पीडा वास्तवमै मानव मात्रको कलङ्क हो भन्ने ठोकुवा समेत गरेकी छिन् ।
 
‘अभिव्यक्तिका सूत्रहरूमा’ कवितासङ्ग्रहको सुन्दर फूलका रूपमा ‘सुन्दर सपनाको खोजीमा’ कविता रहेको छ । कविले यस कविताभित्र पीडा, छटपटी भन्दा विद्रोहलाई, सामान्य विषयलाई भन्दा विद्रोह चिन्तनलाई पोखेकी छिन् ।
 
कतातिर चर्किएका छन्
जनमनका उत्कण्ठाहरू
बतासकै चोटमा परेका छन्
सुविधामा हराउने नेताहरू
रोल्पा र डोल्पासँग झस्किरहेछन्
संसदमा आफ्नो विचार राख्ने मुलीहरू
जनताका सम्पत्तिसँग जिस्किरहेछन् ।
 
हो, नेपाली राजनीतिको बहुदलीय समयको यथार्थ अवस्थालाई कविले इमान्दार रूपमा उठाउन पुगेकी छिन् ।
 
असतको विरुद्ध जुध्ने विचारहरू
कतातिर अल्झेका छन् ।
 
नेपाली समाजलाई अगाडि बढाउन क्रियाशील विद्रोही समूहको उपस्थितिलाई अत्यन्त आशलाग्दो ढङ्गले हेर्न पुगेकी छिन् । कवि कविताले सङ्क्षिप्ततामा सम्पूर्णता, केन्द्रबाट रोल्पा र डोल्पाको पीडालाई हेर्ने जिम्मेवारविहीन नेताको चरित्र तथा अँध्यारा दिन हटाउन तल्लीन शक्तिको प्रतीक्षा समेत गरेको तथ्य कवितामा उजागर भएको छ ।
 
‘परिवेश’ शीर्षकको कवितामा कविले नेपाली समाजको यथार्थ परिवेशलाई देखाएकी छिन् । कवितामा जनताको सम्पूर्ण समस्यालाई एकातिर थन्क्याउने हाम्रो संस्कृति अघि बढिरहेको कुरामा आक्रमक देखिन्छिन् कवि । जहाँको त्यही समस्यालाई छाडेर देश बन्न नसक्ने तथ्यलाई यहाँ प्रस्तुत गरिएको छ । कविको काव्यात्मक भनाइमा अत्यन्त यथार्थ अभिव्यक्ति पाइन्छ ।
 
बाटो बनाउनआएका
सहयोग रकमहरू
लाजै नमानी खल्तीमा हाल्छन्
देशका भोक र रोगग्रस्त अवस्थाहरू
जस्ताका तस्तै छन्
उनीहरूलाई के थाहा ?
 
यस कवितामा कविले देशप्रतिको आफ्नो परिपक्व धारणालाई देखाएकी छिन् । उमेरको आधारमा हेर्दा कवि सामान्यत यति धेरै चिन्ता गर्न सक्ने होलिन् र ! जस्तो लागे पनि राजनीति चेतनाले सजिएकी कवि पूर्ण रूपमा सफल रहेकी छिन् । गरिबको नाममा लुट गर्ने तथा कथित प्रजातन्त्रवादीहरू जनताका समस्यालाई वास्ता नगर्ने जनप्रतिनिधिका नाममा कलङ्क हुन् भन्ने आँट गरेकी छिन् ।
 
आफ्नो बीस वर्षे जीवनयात्रामै यति धेरै परिपक्व विचारमार्फत् देशलाई अघि बढाउने चिन्तन र चासो विगतप्रतिको ज्ञान, वर्तमानप्रतिको आक्रोश र भविष्यप्रतिको चिन्ताकवि सहज रूपमा पाउन सकिन्छ । कवि आफ्नो छोटा आयामका कविताहरूमा पूर्ण कदको राष्ट्रियता, देशप्रेम, प्रगतिशील चिन्तन जस्ता पक्षलाई घनिभूत बनाउन सफल छिन् ।
 
विम्ब र प्रतीकभन्दा सहज अभिव्यक्ति, कल्पनाभन्दा यथार्थ र दुरुहताभन्दा सङ्क्षिप्त र सरलता उनका कविताहरूको विशेषता नै बनेका छन् । कविताले कविको अधिकार, नागरिकको अधिकारका लागि आवाज र दायित्वका लागि दह्रो भूमिका निर्वाह गरेकी छिन् ।
चितवन