राजनीतिक अर्थशास्त्रको विषय वस्तुु :
राजनीतिक अर्थशास्त्रले मालको उत्पादन र त्यसको वितरणको आर्थिक प्रणालीको अध्ययन गर्दछ । यसरी उत्पादन प्रणालीमा समाजको आर्थिक संगठनका दुई मुख्य आयामहरू एकताबद्ध हुन्छन् । यी दुई केन्द्रीय आयामहरू हुन् उत्पादक शक्ति र उत्पादन सम्बन्ध । राजनीतिक अर्थशास्त्रको मूल विषय यी नै हुन् ।
उत्पादक शक्ति अन्तर्गत् श्रम, श्रमका विषय र श्रमका औजारहरु पर्दछन् । माल उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ श्रमका विषय हुन् र जुन साधन प्रयोग गरेर माल उत्पादन गरिन्छ ती श्रमका साधन हुन् । विज्ञान र प्रविधिको विकासले उत्पादनमा महत्वपूर्ण भुमिका खेल्दछ । तर ती औजार जतिसुकै महत्वपूर्ण भए पनि उत्पादन प्रक्रियामा मानिस र उसको श्रमनै निर्णायक हुन्छ । किनभने मानिसले नै प्रविधिको विकास र उपयोग गर्ने हो प्रविधिले मानिसको विकास र उपयोग गर्ने होइन ।
उत्पादनका साधनमाथि स्वामित्वको स्वरुप, उत्पादनमा मानिसको भूमिका र उत्पादित वस्तुको वितरण प्रणालीको समग्रतालाई उत्पादन सम्बन्ध भनिन्छ । यसलाई निम्नानुसार तालिकाबद्ध गर्न सकिन्छ ।
उत्पादन सम्बन्धले सम्बन्धित समाजको चरित्र निर्धारण गर्दछ । मानव इतिहासमा आजसम्म ५ प्रकारका उत्पादन सम्बन्ध रहेका समाज हाम्रो जानकारीमा छन् । ती हुन आदिम समाज, दासस्वामी समाज, सामन्ती समाज, पुँजीवादी समाज र समाजवादी समाज (साम्यवादी समाज) ।
माक्र्सवादी राजनीतिक अर्थशास्त्रको क्षेत्र :
माक्र्सवादी राजनीतिक अर्थशास्त्रले उत्पादनको सामाजिक पक्षको अध्ययन गर्दछ । अर्को शब्दमा यसले उत्पादन प्रक्रियामा संलग्न मानिसका बीच सामाजिक सम्बन्धको, विनिमय र उपभोगको सम्बन्धको अध्ययन गर्दछ ।
उत्पादक शक्ति र उत्पादन सम्बन्ध परस्पर अन्तरसम्बन्धित छन् । उत्पादक शक्तिको विकासले त्यसै अनुकूलको उत्पादन सम्बन्धको माग गर्दछ । नयाँ उत्पादन सम्बन्धले तदनुसारको उत्पादक शक्तिको विकास गर्दछ । तर, खास अवस्थामा बाहेक उत्पादक शक्तिको भूमिका निर्णायक हुन्छ । यी दुईका बीचमा द्वन्द्वात्मक एकता हुन्छ, जसमा एकता अस्थायी तथा सापेक्ष र सङ्घर्ष स्थायी तथा निरपेक्ष हुन्छ । उत्पादक शक्ति र उत्पादन सम्बन्धको अन्तर्विरोधले सामाजिक क्रान्ति जन्माउँछ । यही अन्तर्विरोध समाजको चालक शक्ति हो । यसबारे माक्र्सको भनाइ तल उद्धृत गरिएको छ ।
“सामाजिक उत्पादनमा मानिसहरुका बीच त्यस्ता निश्चित सम्बन्धहरु कायम हुन्छन्, जुन अपरिहार्य र उनीहरुको इच्छाबाट स्वतन्त्र छन् । उक्त उत्पादन सम्बन्धहरु उनीहरुका भौतिक उत्पादक शक्तिहरुको विकासको एक निश्चित चरणअनुरुप रहन्छन् । ………….. आफ्नो विकासको कुनै खास चरणमा, समाजका भौतिक उत्पादक शक्तिहरु, जुन विद्यमान उत्पादन सम्बन्धहरुभित्र आफू क्रियाशील रहेका हुन्छन्, तीसित–अर्थात त्यसको कानुनी अभिव्यक्तिको रुपमा भन्ने हो भने–सम्पति सम्बन्धहरुसित बाजिन जान्छन् । उक्त सम्बन्धहरु उत्पादक शक्तिहरुको विकासको अनुरुप बन्न छाडेर तिनीहरुको निम्ति बन्धन बन्दछन् । अनि सामाजिक क्रान्तिको युग सुरु हुन्छ ।”
आर्थिक आधार भनेको विद्यमान समाजका उत्पादन सम्बन्धहरुको कुल योग हो । समाजको त्यही आर्थिक आधार माथि कानुनी र राजनीतिक संरचना खडा हुन्छ । त्यसलाई उपरिसंरचना भन्दछन् । आधार र उपरीसंरचनाले एक अर्कोलाई प्रभाव पार्दछन् । सामान्यतः आर्थिक आधार मुख्य हुन्छ, कहिलेकाहीँ उपरिसंरचना पनि प्रधान हुने गर्दछ ।
आर्थिक आधारमा उत्पादक शक्तिको विकास भइरहन्छ र त्यसले उपरिसंरचनालाई आफू अनुकूलको बनाउन सङ्घर्ष गरिरहन्छ । अर्कोतिर, कुनै पनि समाजमा उपरिसंरचनाले आधारलाई आफू अनुकूल बनाइ राख्न वर्गीय अधिनायकत्व लागु गर्दछ । आर्थिक आधार र उपरि संरचनाका बीचमा द्वन्द्वात्मक एकता हुन्छ । महान् सर्वहारा सांस्कृतिक क्रान्तिका बेलामा “क्रान्तिलाई पक्र र उत्पादन बढाऊ” भन्ने नारा चीन भरि गुन्जिएको थियो । त्यो उपरिसंरचना र आर्थिक आधारका बीचमा शत्रुतापूर्ण अन्तर्विरोध पैदा हुन नदिई तिनीहरुका बीचमा तालमेल कायम गर्नका लागि माओले जारी गर्नु भएको सर्वहारा वर्गीय राजनीतिक आदेश थियो । यो वस्तुतः आर्थिक आधारमा क्रान्ति नगरी एक पक्षीय रुपमा उत्पादन बढाउने कुराको वकालत गर्ने दक्षिणपन्थी संशोधनवादीहरुमाथि लगाइएको वैचारिक झापड थियो ।
माक्र्सवादी राजनीतिक अर्थशास्त्र अर्थशास्त्रीय कोणबाट मानव समाजको निरन्तर अध्ययन गर्ने विज्ञान हो । यसले एक प्रकारको उत्पादन प्रणालीबाट दोस्रो प्रकारको उत्पादन प्रणालीमा संक्रमणको नियमको अध्ययन गर्दछ । यसले पनि माक्र्सवादी दर्शनले जस्तै सर्वहारा वर्गीय राजनीतिको सेवा गर्दछ ।
उत्पादन प्रणाली र युगविभाजनमा औजारको भूमिका
उत्पादन प्रणाली स्थिर रहँदैन, त्यो गति र विकासको प्रक्रियामा हुन्छ । उत्पादन पद्धतिको विकासमा उत्पादनका साधनहरुले महत्वपूर्ण भूमिका खेल्दछन् । अर्को शव्दमा भन्ने हो भने उत्पादन पद्धति श्रमका साधनको विकासद्वारा निर्धारित हुन्छ । मानव जातिको विकासको इतिहास भनेको श्रमका साधनहरुको विकासको इतिहास हो । उत्पादन प्रणालीको विकासको यो इतिहास उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीचको सङ्घर्षमा आधारित रहेको छ । उत्पादनका औजारहरुको विकासको आधारमा ऐतिहासिक युगहरु विभाजित भएका हुन्छन् ।
समाज विकासको ऐतिहासिक प्रक्रिया र उत्पादन पद्धति
उत्पादक शक्तिको विकास एउटा खास विन्दुमा पुगिसके पछि त्यसलाई पुरानो उत्पादन सम्बन्धले थेग्न सक्दैन । परिणामस्वरुप आधारमा सामाजिक क्रान्ति हुन्छ र उत्पादन सम्बन्ध बदलिन्छ । यही नै समाज विकासको ऐतिहासिक प्रक्रिया हो । इतिहासमा हामीले देख्ने विभिन्न प्रकारका समाजहरु उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीचको यही द्वन्द्वात्मक सम्बन्ध अनुसार नै विकास हुँदै आएका हुन् । मानव जातिको इतिहासमा समाज विकासको ऐतिहासिक प्रक्रिया र चरण निम्नानुसार रहेका छन् ।
क) आदिम समाज
उत्पादक शक्ति : आदिम मानव + प्रकृति
उत्पादन सम्बन्ध : उत्पादनका साधन र उत्पादित वस्तुमाथि सामुदायिक (गोत्रीय) स्वामित्व
आदिम समाजको सामाजिक–आर्थिक संगठन भनेको गोत्रको सामुदायिक श्रममा आधारित कम्युन हो । ढुंगे हतियार, भाला जे जति उत्पादनका साधन उपलब्ध थिए ती माथि कम्युनका सबै सदस्यहरुको साझा स्वामित्व हुन्थ्यो । पुरुषहरु सामान्यतः युद्ध गर्ने, सिकार गर्ने, खाना जुटाउने र श्रमका औजार तयार पार्ने जस्ता बाहिरी काममा जोडिन थाले । यी श्रमका औजारका मालिक भए । खाना पकाउने, घर हेर्ने, कपडा बुन्ने र सिउने काम महिलाहरुको जिम्मामा प¥यो । उनीहरु घर, सम्पतिका मालिक भए । महिलाबाट गोत्र चल्थ्यो र समाज मातृप्रधान थियो ।
प्रकृतिसँगको सङ्घर्षको क्रममा मानिसले फलाम पत्ता लगायो । यसले समाजमा ठुलो परिवर्तन ल्यायो । श्रमका नयाँ साधनहरु बने । फलामे फाली सहितको हलो र फलामे कोदालोको आविष्कारले कृषि प्रणालीमा उल्लेखनीय विकास हुनगयो ।
उत्पादन प्रणालीको विकाससँगै आदिम समाजमा श्रम विभाजन सुरु भयो । कुनै मानिस पशुपालनसँग जोडिए, कुनै कृषिसँग त कुनै दस्तकारितासँग । युद्धबन्दीहरुलाई श्रमशक्तिका रुपमा प्रयोग गर्न थालियो, तिनीहरु दास बने । वस्तु विनिमयको प्रक्रियाबाट व्यापारको थालनी भयो । व्यापार सँगै नाफा, घाटा र बचतका कुराहरु पनि अगाडि आउन थाले । समाजमा महिलाहरुको भूमिका कम भयो र पुरुषहरुको भूमिका बढ्यो । यो मातृप्रधान समाजको पितृसत्तातर्फ सङ्क्रमणको प्रक्रिया थियो । टाठा–बाठा पुरुषहरुले सम्पत्ति र दासहरुलाई आफ्नो अधीनमा पार्न सुरु गरे । अन्ततः यही जगमा टेकेर आदिम समाजले दासस्वामी समाजमा फड्का मा¥यो ।
दासस्वामी समाज
उत्पादक शक्ति : दासहरु+दासका मालिकका उत्पादनका साधनहरु ।
उत्पादन सम्बन्ध : उत्पादित वस्तुहरुमाथि दासका मालिकको स्वामित्व ।
समाजका टाठा–बाठा मानिसहरु दासमालिक बने र कमजोर तथा युद्धबन्दीहरु दास भए । महिलाहरु पनि घरेलु दास सरह भए । उत्पादनका साधन र दासहरुमाथि दासमालिकको स्वामित्व कायम भयो । समाजमा दासमालिक र दास गरी दुईथरि वर्ग देखा परे । फलतः वर्गसङ्घर्ष चल्न थाल्यो र त्यसको व्यवस्थापनका लागि राज्यसत्ताको विकास भयो ।
राज्यसत्ताको विकासबारे एंगेल्सले भनेका छन् “समाज खास चरणमा विकास हुनुको परिणाम राज्य हो, यो समाज आफै भित्र पैदाभएका अन्तर्विरोधहरुमा जेलिएको छ भन्ने कुराको स्वीकृति हो, यो समाज असमाधेय शत्रुतामा विभाजित छ र समाजले त्यसलाई हटाउन सकेको छैन भन्ने कुराको स्वीकृति हो । त्यही शत्रुताका कारण, विपरीत आर्थिक स्वार्थभएका ती वर्गले एक अर्कोलाई नसिध्याउन् र समाज निरर्थक द्वन्द्वमा नफसोस् भन्नका लागि, समाजभन्दा माथि देखिने यस्तो एउटा शतिmको आवश्यकता खड्कियो जसले द्वन्द्वलाई कमगर्न सकोस् र समाजलाई ‘मिलाएर’ राखोस् । समाजबाट नै पैदाभएको तर समाजभन्दा माथि राखिएको र समाजबाट अलग हुँदै गएको यही शक्ति नै राज्य हो ।” यसरी राज्यसत्ता भनेको शोषणलाई वैधानिकता दिने, असमाधेय अन्तरविरोधलाई थामथुम पार्ने र सत्ताधारी वर्गको पक्षपोषण गर्ने राजनीतिक संयन्त्र हो ।
समाजको विकाससँगै श्रमका साधनहरु पनि विकसित भए । दासहरु पनि मालिकले किन्न र बेच्न सकिने श्रमका साधन सरहका वस्तु जस्तै भए । नयाँ उत्पादक शक्तिका रुपमा विकास भएका दासहरु र विद्यमान उत्पादन सम्बन्धका बीचको अन्तर्विरोध चर्किन थाल्यो । यो अन्तर्विरोधका कारण विभिन्न ठाउँमा दास विद्रोहहरु भए । इसापूर्व ७३ देखि ७१ सम्म चलेको इटलीको स्पार्टाकस विद्रोह विश्वभर प्रसिद्ध छ । दास विद्रोहले दास र दासमालिकहरुका बीचको अन्तर्विरोधको क्षणिक समाधान ग¥यो । परिणामतः दासमालिकहरु सामन्तमा र दासहरु श्रमजीवी किसान अर्थात्् भूदासमा बदलिए । यसरी सामन्तवादी समाज अगाडि आयो ।
सामन्तवादी समाज
उत्पादक शक्तिः भूदासहरु+सामन्ती भूमि (विर्ता, गुठी, जमिनदारी, आदि) ।
उत्पादन सम्बन्धः भूमाथि स्वामित्वको कारण उत्पादनमा सामन्ती स्वामित्व ।
सामन्तहरुले जमिन कव्जा गरे र पहिलेका दासहरु भूदासमा बदलिए । उत्पादनका साधनहरु सामन्त, जमिन्दार तथा राजा–महाराजाहरुको हातमा केन्द्रित भयो । किसानहरु तिनै सामन्तका रैतीमा बदलिए । सामन्तबाट जग्गा लिएर कमाइ गरे बापत रैतीले सामन्तलाई जिन्सी अधियाँ, बटैया, कुत, बेठबेगारी आदि दिनु पर्ने भयो । यो सामन्ती उत्पादन सम्बन्धको विकास थियो । सुदखोरी चर्को र व्यापक भयो । धार्मिक अन्धविश्वास व्यापक भयो । राजा महाराजा, गुरु पुरोहित र भाइभारदारहरु उत्पीडक वर्गका रुपमा अगाडि आए र गरिब किसानहरु उत्पीडित बने । यसरी सामन्ती समाजमा सामन्त र किसानका बीचको अन्तर्विरोध प्रधान अन्तर्विरोध बन्न गयो ।
समाजका आवश्यकता बढ्न थाले र मानिसको ज्ञान पनि फराकिलो हुन थाल्यो । मानिसहरुले विज्ञान र प्रविधिको विकासमा गहिरो चासो राख्न थाले । यही क्रममा जेम्स वाटले वाष्प इन्जिनको आविष्कार गरेपछि मेसिनचालित उद्योगहरुको स्थापना भयो । त्यसले उत्पादनमा व्यापक बृद्धि ग¥यो, व्यापार विस्तार भयो र समाजमा मध्यमवर्ग अर्थात् राष्ट्रिय पुँजीपति वर्ग र सर्वहारा वर्गको विकास हुन थाल्यो । यो वस्तुतः उत्पादक शक्तिको विकास थियो र पुरानो समान्तवादी उत्पादन सम्बन्धसँग यसको अन्तर्विरोध चर्किन थाल्यो । नयाँ उत्पादक शक्तिहरु विद्रोहमा उत्रिए । राष्ट्रिय पुँजीपति वर्गले पुँजीवादी क्रान्तिको नेतृत्व ग¥यो र त्यसमा सर्वहारा वर्गले बुर्जुवा वर्गको साथ दियो । युरोपका धेरै देशमा बुर्जुवा लोकतान्त्रिक क्रान्ति सम्पन्न भए । यसरी सामन्ती समाजको गर्भबाट पुँजीवादी समाजको उत्पत्ति भयो ।
पुँजीवादी समाज
उत्पादक शक्तिः सर्वहारा+निजी पुँजी+उद्योग
उत्पादन सम्बन्धः उत्पादनका साधन+उत्पादित बस्तुमाथि पुँजीपतिहरुको निजी स्वामित्व
औद्योगिक क्रान्ति पछि रेलवे, उद्योग र व्यापारको क्षेत्रमा व्यापक विकास भयो । पछि विद्युतको आविष्कार र आधुनिक यन्त्रहरुको निर्माणले उत्पादनमा गुणात्मक बृद्धि ल्यायो । पुँजीवादी उत्पादन व्यापक भयो र समाजमा यसले ठुलो परिवर्तन ल्यायो । यो पुँजीवादी उत्पादन सम्बन्धको विकास थियो ।
पुँजीवादी उत्पादन सम्बन्धका मुख्यतः चारवटा विशेषता रहेका छन् । एक, पुँजीपति वर्गले मालको उत्पादन मुनाफा कमाउने उद्देश्यले गर्दछ, जनताका आवश्यकताहरु परिपूर्ति गर्ने उद्देश्यले होइन । दुई, मजदुरहरुले सामूहिक रुपमा मालको उत्पादन गर्दछन् तर त्यसको स्वामित्व व्यक्तिगत रुपमा पुँजीपतिले लिन्छ । तीन, नाफाको निम्ति गरिने उत्पादनले उत्पादनमा अराजकता निम्त्याउँछ र त्यसबाट हुने अति उत्पादनका कारण आर्थिक सङ्कट आइरहन्छ । चार, पुँजीपति वर्गले नाफाको चक्करमा मजदुर वर्गको शोषणबाट अतिरिक्त मूल्यको दोहन गर्दछ । यसले धनी र गरिबका बीचको खाडललाई फराकिलो बनाइरहन्छ ।
पुँजीवादको विकासले समाजमा एकातिर अथाह धनको सञ्चय र विलासी जीवनको सानो संसार निर्माण गर्दछ भने अर्कोतिर अज्ञानता, गरिबी र दासताको भयावह र विशाल संसार । मुट्ठीभर पुँजीपति वर्गले राष्ट्रको अत्यधिक सम्पत्ति कब्जा गर्छ र सर्वहारा वर्गसँग बेच्नका लागि आफ्नो श्रमभन्दा बाहेक अरु केही रहँदैन । ढिलो चाँडो, विकसित उत्पादक शक्ति र पछि परेको उत्पादन सम्बन्धका बीचको अन्तर्विरोध उत्कर्षमा पुग्छ र त्यसले सामाजिक विद्रोह पैदा गर्दछ । पुँजीवादको गर्भबाट साम्यवादी समाजको आधार निर्माण हुने प्रक्रिया यही हो ।
साम्यवादी समाज
साम्यवाद भनेको वर्गविहीन र राज्यविहीन समाज हो । मानिस एकातिर र प्रकृति अर्कोतिर रहेर साम्यवादी समाजको अन्तर्विरोध बन्दछ । उत्पादन र वितरणका दुवै प्रणाली सामूहिक हुन्छन् । मानिसहरु सामूहिक तरीकाले प्रकृतिसँग सङ्घर्ष गर्दै आफुलाई आवश्यक पर्ने प्रसस्त सामूहिक सम्पत्तिले भरपूर रहेको समुन्नत र समृद्ध समाज निर्माण गर्ने दिशामा अगाडि बढ्छन् ।
साम्यवादी समाजबारे माक्र्स र एङ्गेल्सले गोथा कार्यक्रको आलोचनामा लेखेका छन्, “साम्यवादी समाजको उच्च चरणमा, जव व्यक्तिको दाशत्वपूर्ण पराधीनता र मानसिक तथा भौतिक श्रमका बीचको अन्तर्विरोध समाप्त हुन्छ, जव श्रम बाँच्नका लागि मात्र होइन जीवनको एउटा प्रमुख आवश्यकता बन्दछ, जव व्यक्तिको चौतर्फी विकास सहित उत्पादक शक्तिको विकास हुन्छ र जव सामुदायिक सम्पत्तिका सबै मुहानहरु प्रचूर मात्रामा खुल्दछन् त्यतिबेला मात्र बुर्जुवा कानुनको साँगुरो क्षितिजलाई पूर्णतः अस्वीकार गरेर हरेकबाट उसको क्षमता अनुसार र हरेकलाई उसको आवश्यकता अनुसार भन्ने मूल नाराका आधारमा समाजलाई गोलवन्द गर्न सकिन्छ ।” यही नै विश्व सर्वहारा वर्गको एकमात्र साझा अभीष्ट हो ।
तर पुँजीवादबाट एकै चोटी साम्यवादमा पुग्न सकिंदैन । माक्र्सले साम्यवादलाई दुई चरणमा विभाजित गरेका छन् त्यसको पहिलो चरण वैज्ञानिक समाजवाद हो । समाजवादमा उत्पादन पद्धतिको स्वरुप सामूहिक हुन्छ, उत्पादनका साधनमाथि श्रमिकहरुको सामूहिक नियन्त्रण हुन्छ र वितरण पनि सामूहिक नै हुन्छ । श्रमगर्न नसक्नेले बाहेक सबैले श्रम गर्नुपर्छ र राज्यले काम अनुसार मामको ग्यारेन्टी गर्दछ ।
वैज्ञानिक समाजवाद भनेको पुँजीवादी र साम्यवादी समाजका बीचको क्रान्तिकारी रुपान्तरणको अवधि हो । यस प्रकारको समाजमा वर्गहरु हुन्छन्, वर्गसङ्घर्ष रहन्छ र कुनै बेला त्यो चर्को पनि हुन्छ । लेनिनले सत्ताबाट मिल्काइएका पुँजीपतिहरुको प्रतिरोध क्षमता एक सय अझ भनौं एक हजार गुनासम्म बढ्छ भनेका छन् । समाजवाद सर्वहारा वर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्व र सर्वहारावर्गको अधिनायकत्वमा अभिव्यक्त हुने निकै कष्टसाध्य अवधि हो । हजारौं वर्षदेखि नीजि सम्पत्ति माथिको मोहले भरिएको दिमागलाई खाली गरेर त्यस ठाउँमा सामूहिक दृष्टिकोणले भर्ने कुरा अत्यन्त कष्टसाध्य काम हो । ठीक यसै भएर माओले समाजवादबाट साम्यवादमा पुग्नुभन्दा अगाडि लामो समयसम्म सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत् क्रान्तिलाई जारी राख्नु पर्छ र त्यसका लागि चीनमा एउटा मात्र होइन, सयौं महान सर्वहारा सास्कृतिक क्रान्ति आवश्यक हुन सक्छन् भनेका हुन् ।
नयाँ जनवादी अर्थव्यवस्था :
उत्पादक शक्ति : किसान+सहकारी+साना दस्तकार+राष्ट्रिय पुँजी
उत्पादन सम्बन्ध : व्यक्तिगत + सहकारी + राजकीय स्वामित्व
नयाँ जनवाद अर्ध–सामन्ती तथा अर्ध/नव–औपनिवेशिक अवस्थाबाट वैज्ञानिक समाजवादमा पुुग्ने संक्रमणकालीन चरण हो । हामीले नयाँ जनवादलाई आम कार्यक्रम र वैज्ञानिक समाजवादलाई आधारभूत कायक्रम भनेका छौं । नेपाली क्रान्ति नयाँ जनवादको खुडकिलो पारगर्दै वैज्ञानिक समाजवादमा जाने भनिएको छ ।
पुरानो जनवाद : सामन्तवादका विरुद्ध राष्ट्रिय पुँजीपति वर्गको नेतृत्व र सर्वहारा वर्गको सहयोगमा पुँजीवादी अधिनायकत्व हो ।
नयाँ जनवाद : सामन्तवाद र साम्राज्यवादका विरुद्ध केन्द्रित हुन्छ र सर्वहारा वर्गको नेतृत्वमा आम उत्पीडित जनताको संयुक्त अधिनायकत्व हो । यो पुरानो जनवाद र तत्कालीन समाजवादीे रुसको सर्वहारा जनवाद भन्दा भिन्न छ । यसमा दलाल तथा नोकरशाही पुँजीको उन्मूलन गरिन्छ र राष्ट्रिय पुँजीको विकास गरिन्छ । तर यो संक्रमणकालीन चरण हो ।
नयाँ जनवादमा थेगिने वा वैज्ञानिक समाजवादमा फडका हान्ने बारे चीनमा चलेको दुई–लाइन संघर्षलाई हामीले राम्रोगरी बझ्नुपर्दछ । माओ नयाँ जनवादी क्रान्तिको सफलता पश्चात् समाजवादमा फडका हान्ने पक्षमा थिए भने लिउ–शाओचीहरु उत्पादक शक्तिको विकासका लागि नयाँ जनवादलाई लम्ब्याउनु पर्छ भन्नेमा थिए । यसलाई हामीले गहिरोगरी आत्मसात गर्नु पर्दछ ।