शनिबारीय साहित्य : कविता
भाग्नलाई निहुँ–बहाना जति पनि मिल्छन्
मुख्य कुरा जिम्मेवारी पूरा गर्ने दिन छन्
वर्तमानले सुम्पिएको अभिभारा हो यो
यो लडाइँलाई अविलम्ब फत्ते गर्नुपर्छ !
आउँछन्–जान्छन्् बाधाहरू श्वास–प्रश्वासजस्तै
निशानालाई अचुक बनाई औजार अर्जाप्नु छ
निद्रा, भोक, थकाइलाई पर पन्छाएर,
आउने छैन सधैँ मौका, वैरी भगाउनु छ !
कोही भ्रम छर्न सक्छ– नहिँड यो बाटो
ठग्ने दाउ हुन सक्छ देखाउँदै कुबाटो
भर अर्काको किन पर्ने आफ्नो बाटो हिँड्न
यो व्यवस्था–गाडी भयो थोत्रो जीर्ण–शीर्ण !
बारम्बार ठोक्काइरहने, लडाइरहने ‘ठाँडो’
हामी अब चढ्नेछैनौँ फेर्छौं यसलाई चाँडो
आफैँ लड्दा, घाइते हुँदा, क्या नचेत्या’ होला ?
जुगौँजुगमा फर्केला कि बस्ती मास्ने खोला !
आज–आज, भोलि–भोलि नाडी गल्न सक्छ
रात रहे अग्राख पलाई ठूलो हुन सक्छ
जीवनभर घोत्लिरहे सुक्न सक्छ मासी
जगाऊँ अब सुतेकालाई हिँड्छन् हाँसी–हाँसी !
दुनियाँलाई सङ्कट पर्दा लड्ने हामी जाति
संसारभरि छरिएका हाम्रा श्रमिक साथी
यहीँ पनि त लडिरा’छौँ धोका भयो र पो !
नायक भाग्यो, जिम्मा स¥यो, ढिला भयो र पो !
धोका–शोक–आक्रोश भुली यात्रा थाल्नुपर्छ
यात्राभरको खरखजाना तयार पार्नुपर्छ
अवसर हाम्लाई मिलेको छ, गलेको छ सत्ता
भ्वाक्क हान्दा प्वाक्क ढल्छ, आउँछ नयाँ सत्ता !