कविता
***
हरदम शोकमा छ मेरो देश
शोकै शोकको जुलुस
पुग्छ कहिले सिंहदरबार
कहिले सितल निवास
साउण्ड प्रुफ छ
शासकको झ्याल ढोका
सुन्दैनन् गगनभेदी कोलाहल
काला सिसाभित्र सवार गर्छन् शासकहरू
देख्दैनन् राज्यका रोग, भोक र शोकहरू
जुन हाम्रा दैनिकी
जुन हाम्रा अभिन्नता !
यही दैनिकीलाई
धकेल्न अलिकति पर
बाहिरिन्न्छौँ यिनै अभिन्न परिचय बोकेर
हेपिन्छौ, अँचेटिन्छौँ र किचिन्छौँ
त्यै परिचयको विराशतमा
भित्रिन्छौँ आफै शोकको समाचार बनेर
पर्छौँ कहिले
शक्तिशाली राष्ट्रहरूको किचाघानमा
वा खस्छौँ अकस्मात्
सङ्घर्षको धरहराबाट
थपिन्छ देशमा पुन: अर्को शोक !
रोकिँदैन शोकको सिलसिला
नमिल्काएसम्म सिलसिलाको जरा देशबाट
यै सिलसिलामा
मुस्कुराइरहन्छ सिंहदरबार
र देशलाई शोकमा डुबाएर
गोहीको आँसु स्वरूप
मनाइरहन्छ शोक दिवस !