इजरायलमा ज्यान गुमाएका विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त, द्वन्द्वमा फसेका नेपालीलाई तत्काल देश फर्काउने व्यवस्था मिलाउन जोडदार माग

इजरायलमा ज्यान गुमाएका विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त, द्वन्द्वमा फसेका नेपालीलाई तत्काल देश फर्काउने व्यवस्था मिलाउन जोडदार माग

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चनले एक प्रेस वक्तव्य जारी गर्दै इजरायल र प्यालेस्ताइनबीचको द्वन्द्वमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । वक्तव्यमा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै इजरायलमा अध्ययनरत नेपाली विद्यार्थीहरु, श्रमजीवी कामदारहरु तथा पर्यटकहरुलाई सुरक्षित स्थानमा सार्न र देशमा फर्कन चाहने नेपालीहरुलाई तुरुन्त देशमा फर्काउने व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

वक्तव्यमा विदेशी भूमिमा नागरिकहरुको हताहति हुँदा पनि नेपालको दुतावास बेखबर हुनु, सरकारसँग समन्वय गरेको औपचारिकता मात्र देखिनु तर व्यवहारमा क्रियाशील हुन नसक्नुलाई सरकार र यसका निकायहरुको लाचारीपनको संज्ञा दिंदै यसप्रकारको लाचारी र ढिलासुस्तीको तीव्र विरोध गरिएको छ ।


वक्तव्यमा इजरायली सत्ताबाट प्यालेस्ताइनी जनतामाथि थोपरिएको अत्याचारप्रति आँखा चिम्लिएर अमेरिकी साम्राज्यवादको गोटी इजरायली सरकारको पक्षमा वक्तव्यवाजी गर्ने दाहाल सरकारको साम्राज्यवादप्रतिको दलाली लज्जास्पद परिघटना भएको भन्दै यसको भत्र्सना समेत गरिएको छ ।


वक्तव्यमा भनिएको छ, “अमेरिकी साम्राज्यवादको सैनिक बुर्जाको रुपमा रहेको इजरायली सरकारले इजरायलको स्थापना कालदेखि नै प्यालेस्तिनी जनतामाथि कत्लेआम गर्दै आएको छ र प्यालेस्ताइनलाई नै दुई टुक्रामा विभाजित गरिदिएको छ । यस प्रकारको मानवता विरोधी साम्राज्यवादी नीतिको अन्त्य हुनु पर्छ । प्यालेस्तिनी जनताले आफ्नो भूमिको भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो । सैन्य शक्ति, सम्पत्ति र प्रविधिको बलमा जनतामाथि हिंसा थोपर्नु, राज्यनै विस्थापित गरिदिनु इजरायली सरकारको सत्ता संरक्षित आतंकवाद हो । हाम्रो पार्टी यसको घोर निन्दा तथा भत्र्सना गर्दछ । साथै हामी कब्जा गरेको प्यालेस्तिनी भूमि फिर्ता गर्न र देशभक्त नेताहरुको रिहाइ गर्न इजरायल सरकारसँग जोडदार माग गर्दछौं ।”