शनिबारीय साहित्य ः कविता
***
एट्लाण्टिक महासागर तट
ओसनसिटी बिच
मेरिल्याण्डमा
बिन्दास घाम ताप्ने
अर्धनग्न युवती जस्तै
हाम्रो अस्तित्व
बिन्दास छ, अर्धनग्न
मालिकको आशिवादको घाम तापेर
पल्टिरहेको
एउटा अनिश्चितताको सुक्खा बगरमा ।
म सुन्नेगर्छु
बेलाबेला रुन्छन्–कराउँछन्
अस्तित्वका भोक–तिर्खाहरु
र, गधाले
भारीसँगैको स्वतन्त्रता कल्पना गरेझैं
बिन्दास गोता खान्छन्
निस्सिम सपनाको आकाशमा
बिना कुनै ठोस योजना
बिना कुनै ठोस रणनीति ।
केवल, र केवल
ट्रिडमिलमा दौडेजस्तो मात्र हो
यो हाम्रो बेसुरे दौडाई
यो दौडाईले कहीँ पनि पुर्याउँदैन,
यथास्थितिलाई दुरी देख्नु
अनि कुहिरोमा हराएको काग बन्नु
यो हाम्रो पुरानै रोग हो ।
भ्रमैभ्रमको
सप्तरङ्गी सपना फिजारेर
अस्तित्वको गाडेघाउ कोट्याइरहने
एउटा बाँदरजुनी छ हामीसँग
न बाँदरलाई औषधिमुलो आउँछ
न घाउनै थाक्न दिन्छ
कोट्याइरहन्छ सदा–सर्वदा
दम्भको विषाक्त नङ्ग्राले ।
एकढङ्गले हेर्दा
बाल्टिमोर सहर सेरोफेरो हरियो बनभित्र
उत्तानो पल्टिएको सडक जस्तै हो
हाम्रो अस्तित्वको लडाइँ
जसको छातीमा
जसको गाडी गुडेपनि हुने
जत्रो गाडी गुडेपनि हुने ।
हाम्रा आकांक्षाहरु
बाल्टिमोर सडक किनार उभिएका
जङ्गलभित्रका
बेजुबान बिजुलीका खम्बासहर हुन्
जो कहिल्यै न्युयोर्कका
वा वासिङटन डिसिका हुनै सकेनन् ।
हाम्रा सम्मेलनहरु
हाम्रा वृहत् अनुष्ठानहरु
मौलिकताको प्वाँख झरेपछि
टेक्नोलजीको कृतिम पखेटाले उड्न खोजेझैं
भटभटाइरहेछन् यथास्थानमा
कसैको पिठ्युँमा बुइचढेर ।
अब यो
दम्भ र घुर्कीको लडाइँ
कहिलेसम्म चल्ने हो ?
हाम्रा आकांक्षा र अभिलाशाहरु
समस्याको एउटा खाडलबाट झिकेर
अर्को खाडलमा हाल्ने काम
कहिलेसम्म चल्ने हो ?
एट्लाण्टिक महासागर तटमा
मेरिल्याण्ड ओसनसिटी बिचमा
बिन्दास घाम ताप्ने
अर्धनग्न युवती जस्तै
अर्धनग्न पल्टिरहेको
हाम्रो अस्तत्वको लडाइँलाई
अब कतातिर लैजाने हो
एउटा प्रश्नचिन्हको बज्रठिङ्गे मुङ्ग्रो
नितान्त उभिएको छ
हाम्रो समाजको खुइले तालुमाथि ।।