नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले एमसीसी कार्यान्वयन गरे प्रतिकार गर्ने चेतावनी दिएको छ । विहीवार बर्दघाट नगर संगठन समितिले बर्दघाट नगरका समस्या सहित विभिन्न १० बुदे माग पत्र बुझाउने क्रममा बोल्दै पार्टीका जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापाले यस्तो चेतावनी दिनुभएको हो । सो अवसरमा जिल्ला इन्चार्ज थापाले पार्टीको जायज माग पुरा गर्नका लागि नगरको नेतृत्वलाई ध्यानाकर्षण गराउदै बिकृती बिसङ्गती , भ्रष्टाचार एवं कमिशनखोरी पार्टीलाई कुनै पनि हालतमा सैह्य नहुने उल्लेख गर्नुभयो ।
उहाँले एमसीसी एसपीपी जस्ता रास्ट्रघाती योजना कार्यान्वयनमा सहयोग नगर्न नगर प्रमुख सहितका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले बर्दघाट नगरपालिकाको चुरे ईलाकाको पोखरीछाप क्षेत्रमा एमसीसीले जनताको जग्गा हडपेर परियोजना निर्माण गर्ने तयारी गरेको भन्दै त्यसको जनस्तरबाट प्रतिकार गरिने चर्चा गर्नुभयो ।
यसैबीच सो पार्टीको बर्दघाट नगर संगठन समितिले बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाएको छ । रास्ट्रिय, जनतन्त्र र जनजिबिका संग सम्बन्धित माग पत्र लिएर बिहीबार नगरमा पुगेको पार्टीको टोलीले उक्त ज्ञापनपत्र बुझाएको हो ।
सो पार्टीका प्रदेश सदस्य तथा नगर इन्चार्ज चुडामणि भण्डारी र नगर संयोजक ज्ञान बहादुर केसीको अगुवाइमा पुगेको टोलीमा महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा, महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय , प्रदेश सदस्य सुर्य प्रसाद सापकोटा; जिल्ला सदस्य तथा बर्दघाट–४ का इन्चार्ज लालु गिरी लगायतको बिशेष उपस्थिति थियो ।
ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, भुमिहिन, किसान, मजदुर लगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको छ ।
सो अवसरमा नगर इन्चार्ज चुडामणि भण्डारीले कार्यक्रम संचालन र नगर संयोजक ज्ञान बहादुर केसीले पार्टीको ज्ञापनपत्र बाचन गर्नुभएको थियो । टोलीलाई नगर प्रमुख श्रेष्ठले धेरै मागहरु नगरको नीति कार्यक्रममा समाबेश भएको उल्लेख गर्दै मागहरुलाई बजेट ब्यवस्था गर्दै क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको समेत उपस्थिति थियो ।
ज्ञापनपत्रको पुर्णपाठ यस प्रकार रहेको छ :
श्रीमान् नगर प्रमुख ज्यू,बर्दघाट नगरपालिका नवलपरासी (बसुप)
विषय : ज्ञापन पत्र ।
नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता भएर २०८० बैशाख १६ गते संयुक्त एकता अधिबेशन र बैशाख १८ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको ऐतिहासिक घोषणा भएको भयो । राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा संर्घषरत दुई पार्टीबीचको एकताले देशमा नयाँ तरंग पैदा गरेको छ । नयाँ जनवादी (पुजींवादी) क्रान्तिको कार्यभार पूरा गर्दै बैज्ञानिक समाजवादमा जाने प्रणका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आफ्ना कार्यक्रमहरुलाई तीब्र र घनिभुत बनाउदै लगेको छ । जनताका समस्या हाम्रा साझा समस्या बन्न गएको यस सन्दर्भमा बर्दघाट नगरपालिकामा रहेका बिभिन्न समस्याहरुको समाधान गर्न यो ज्ञापन पत्र पेश गरेका छौ ।
पछिल्लो समयमा चरम रुपले बढिरहेको राजनीतिक अस्थिरता र आर्थिक परनिर्भरताले नेपाली जनताको दैनिक जिवन निकै कष्टकर बन्दै गईरहेको छ । भ्रष्टाचार तथा कमिसनले सम्पूर्ण क्षेत्र आक्रान्त छ । राज्यसत्ता नै घुसखोर, भ्रष्ट र कमिसनखोरहरुको सत्ता बनेको स्पष्ट नै छ । यो संकट आधारभूतरुपले राजनीतिको संकट हो । राज्य प्रणाली र आर्थिक प्रणालीको संकट हो । यो संकटबाट देश र जनतालाई मुक्त गर्न वर्तमान दलाल पूँजीवादी संसदीय प्रणालीको अन्त्य गरेर श्रमजीवि जनताको वास्तविक व्यवस्था नयाँ जनवाद तथा वैज्ञानिक समाजवादको स्थापना अबको अनिवार्य तथा एक बाध्यात्मक विकल्प बनिसकेको छ । अतः हाम्रो आधारभूत राजनीतिक मान्यता हो– व्यक्ति होईन व्यवस्था बदलौं ।
(१.शिक्षा र स्वास्थ्य : –
क) २०८३ भित्र शिक्षा र स्वास्थ्यमा नीजिकरण मुक्त नगरपालिका घोषणा गरियोस् ।
– यसै अन्तर्गत रहेर २०८० साल भित्रै राज्यद्वारा जेष्ठ नागरिकहरुको सम्पूर्ण उपचार निःशुल्क घोषणा र मुटु रोग, मृगौला र क्यान्सर पिडीत सबैको निःशुल्क उपचार गर्ने व्यवस्था गरियोस् ।
ख) सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिकर्मीहरुको लगानी भएका नीजि विद्यालयहरु बन्द गरियोस् ।
ग) नगरपालिकाबाट प्रदान हुने बिभिन्न छात्रबृति वितरणलाई कार्यबिधि बनाएर पारदर्शी बनाइओस् ।
घ) बिद्यार्थी दिवा खाजा कार्यक्रमलाई पारदर्शी बनाउदै प्रति बिद्यार्थी रु.१५ बाट दोब्बर बनाइयोस् ।
ङ) विषयगत र तहगत दरबन्दी ब्यवस्थापन सहित शिक्षक सरुवा, बढुवा प्र.अ नियुक्तिलाई दलीय भागबण्डा नभई योग्यता क्षमताका आधारमा निष्पक्ष बनाईयोस् ।
च) प्राबि तह बिशेष गरेर (१–५) लाई बालमैत्री बनाउन बालमैत्री भौतिक संरचनाका साथै बालमैत्री शिक्षण सिकाई एंव खेलकुदका सामाग्री प्रदान गरियोस् छ) निजी बिद्यालयलाई अनुगमन गर्दै बिद्यालयले नियमानुसार छात्रबृति प्रदान गरे/नगरेको यकिन गरेर नियमन गरियोस् ।
ज) खेलकुद क्षेत्रलाई बिशेष महत्वका साथ बजेट बिनियोजन गरियोस् ।
झ) चिसापानी अस्पताललाई ट्रमा बिशेष अस्पताल र सहिद स्मृति अस्पताल चौपत्तालाई नगर अस्पतालको रुपमा बिकास गरिओस् । दुवै अस्पतालमा बिशेषज्ञ सेवा सहित स्वास्थ्य उपचार सेवाहरुको व्यवस्था गरी आम नागरीकहरुलाई स्वास्थ्य सेवा र औषधि सेवा पूर्णरुपले निशुल्क गरियोस् ।
ञ) नगर क्षेत्रभित्र ब्रगेल्ती संचालनमा आएका शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) र ट्युशन सेन्टरहरुले लिने जथाभावी शुल्क नियमन गरियोस् ।
ट) लागु औषध ओसार पसार तथा गैरकानुनी कार्यलाई तत्काल नियन्त्रण गरि कारबाही गरियोस् । बिद्यालयमा लागु पद्धार्थ दुब्र्यशनी बिरुद्ध अभियान संचालन गरियोस् ।
ठ) राजामाहात्मा पुर्ण भद्र माविका अभिभावकहरुले राखेका जायज मागहरु पूरा गरियोस् ।
(२) कृषि :
क) कृषि उत्पादनमा आत्मनिर्भर हुन प्रत्येक वडाहरुमा कम्तीमा ३ वटा उत्पादन पकेट क्षेत्रहरु व्यवस्थित ढंगले निर्माण गरियोस् ।
(ख) कृषिजन्य उत्पादनको राज्यद्वारा खरिद गर्ने नीति लागु गर्दै प्रत्येक वडामा एउटा कृषि उपज संकलन तथा विक्री केन्द्र स्थापना गरियोस् ।
(ग) कृषकलाई मलबीउको उचित ब्यवस्थापन,अनुदानको पारदर्शी वितरण र यसबर्ष समयमै पानी नपर्दा धानबालीमा परेको क्षति मुल्याँकन सहित राहत ब्यवस्थापन गरियोस् ।
(घ) भारतबाट आयात हुने बिषादीयुक्त कृषिजन्य उत्पादन जस्तैः तरकारी, फलफूल, माछा, मासु र दुधजन्य आयातमा रोक लगाइयोस् ।
(ङ) भन्सारमा कृषिजन्य वस्तुको क्वारेन्टाइन गरी मिलोमतोमा अखाद्य वस्तु ल्याई जनताको स्वास्थ्यमा खेलबाड गर्ने कार्य तत्काल बन्द गरियोस् ।
च) पशुमा महामारीको रुपमा देखा परेको लम्पी स्क्रिन रोग नियन्त्रणमा तदारुकता देखाईओस् । लम्पीबाट पिडित कृषकलाई तुरुन्त राहत प्याकेज घोषणा गरियोस् ।
छ) बाख्रा पकेट क्षेत्र संचालनमा होस् । कृषकले पालेका खसी बोका उचित मोलमा बिक्री गर्ने प्रबन्ध गरियोस् ।
ज) दुधमा उत्पादनको आधारमा दिइने अनुदान दोब्बर बनाइयोस् ।
३) उद्योग :
क) “सबै श्रमिक मालिक”को नीति अन्तर्गत राष्ट्रिय उद्योग निर्माण गर्ने नीति अवलम्बन गर्दै २०८३ साल भित्र कम्तिमा ३ वटा पूर्ण सरकारी र एउटा ४९ प्रतिशत जनताको स्वामित्व भएको उद्योग स्थापना गरियोस् ।
ख) ग्रामीण क्षेत्रमा रहेर जनपक्षीय पत्रकारितालाई बढावा दिएका साना तथा स्वरोजगारमुलक नगर क्षेत्रमा संचालित स्थानीय संचारमाध्यमलाई समानुपातिक रुपमा बिज्ञापन तथा कार्यक्रम प्रदान गरियोस् ।
(४) भूमि तथा आवास :
क) विभिन्न कारणले घरबास बिहिन भएर कष्टकर जिवन भोगिरहेका जनतालाई प्रति परिवार ‘एक तले तीन कोठे एउटा घर र प्रति व्यक्ति पाँच कट्ठा जमिन’को व्यवस्था गरियोस् ।
ख) बर्दघाट नगरपालिकाका जोताहाहरुलाई दशकौं वर्षदेखि जोतभोग गरिएको जमिन सम्बन्धित जोताहा किसानलाई विना शर्त उपलब्ध गराइयोस् ।
ग) भुमिहीन तथा सुकुम्बासीलाई निर्वाचनमा बाचा गरे अनुसार यथाशिघ्र लालपुर्जाको ब्यवस्थापन गरियोस् ।
घ सार्वजनिक जग्गा मिचेर गरिएका जग्गा प्लटिङ यकिन गरेर उक्त जग्गा नगरपालिका मातहत ल्याइयोस् ।
ङ) बर्दघाट–६ बिद्युत बेतहानी क्षेत्रमा रहेको २ बिगाहा १७ कठ्ठा जग्गालाई सार्वजनिक घोषणा गरेर नगरपालिका मातहत ल्याइयोस् ।
५) अर्थ तथा बैंक वित्तिय शोषण :
(क) जनतालाई घरबास विहिन बनाई शोषण गर्ने लघुबित्त संस्थाहरु बन्द गरियोस् ।
ख) मिटरव्याजीहरुलाई कारर्बाही गरेर पीडितलाई न्याय प्रदान गरियोस् ।
ग) सहकारीहरुको नियमित अनुगमन गरेर भ्रष्ट सञ्चालकहरुलाई कार्बाही गरियोस् ।
घ) उद्योग कलकारखाना संचालन गर्न नसक्दा राष्ट्रिय उद्योगी ब्यापारी निकै पीडामा छन् । साना तथा मझौला उद्योगहरुलाई प्राथमिकतामा राखेर बैक ब्याजदर सर्बसुलभ बनाईयोस् । बैकको दबाबले घरजग्गा लिलामको मानसिक प्रताडनामा रहेका उद्योगी ब्यवसायीलाई सहज तरिकाले सावाँ ब्याज तिर्ने वातावरण बनाईयोस् ।
ङ) बर्दघाट नगरपालिका र यसका मातहतका कार्यालयहरुले नगर क्षेत्रभित्र खरिद गर्न सक्ने सामाग्रीहरु स्थानीय उद्योगी ब्यवसायी बाटै खरिद गर्ने ब्यवस्था गरियोस् ।
च) बजार अनुगमनलाई तीब्र बनाउदै कालो बजारी एंव तस्करी गर्नेहरुप्रति तत्काल कारबाही गरियोस् ।
६ भ्रष्टाचार :
क) गणतन्त्र स्थापना पश्चात्को प्रथम स्थानीय निर्वाचन २०७४ यताका सम्पूर्ण वडाध्यक्ष देखि नगर प्रमुख सम्मको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गरियोस् ।
ख) विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न तत्काल पहल गरियोस् ।
ग) नगरपालिकाले संचालन गरेका बिभिन्न आयोजना र नगरपालिका र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरु हावी भएको जनगुनासो सुन्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका बिभिन्न उजुरीहरुलाई जनतामा सार्वजनिक गरियोस् ।
घ) सार्वजनिक खरिद ऐनलाई पालना गर्दै खरिदलाई पारदर्शी बनाईयोस् । मर्मत गरेर संचालन हुन सक्ने सामानहरु कमिशनको लोभमा नयाँ खरिद गर्ने प्रबृति अन्त्य गरियोस् । मासिक रुपमा के कति सामान खरिद् भयो त्यसको सार्वजनिक गर्ने ब्यवस्था गरियोस् ।
७. देह ब्यापार तथा जुवा खेलाउने व्यवसायी र यसलाई बढावा दिने दलालहरुलाई तत्काल कारबाही गरियोस् ।
८. नगरमा पर्यटन प्रबद्र्धनका लागि पर्यटन गुरुयोजना निर्माण गरियोस् । पुरातात्विक ऐतिहासिक स्थल कन्चनगढी र बुद्धमंगललगायतको क्षेत्रको पहिचानका लागि उत्खनन गरियोस् ।
९) नगर परिक्रमा गर्न सहज हुने गरेर नगर यातायात सेवा संचालन गरियोस् । अटो रिक्सा संचालनको बिधि बनाएर बैज्ञानिक रुट ब्यवस्थापन तथा भाडादर कायम गरियोस् ।
१०) एमसीसी/एसपीपी खारेज गर्न पहल गरिओस् ।
अन्त्यमा,
यतिबेला देशको समग्र अवस्था संकटपूर्ण ढंगबाट गुज्रिरहेको छ । वर्तमान राज्यव्यवस्था, सत्ता सञ्चालक राजनीतिक पार्टीहरुप्रति जनताको ठूलो अविश्वास सडकमा प्रकट भईरहेको छ । यो एक असाधारण स्थिति हो । यस्तै यस्तै बेला मुलुकहरुमा फासिवाद, प्रतिगमन या क्रान्तिका परिवेशहरु तयार हुने गर्दछन् । यो संकटलाई एउटा नयाँ र अग्रगमनकारी व्यवस्थामा बदल्नु हरेक सचेत नेपाली नागरिकको अहम् कर्तव्य हो । यो ज्ञापन पत्रमा राखिएका तमाम मागगहरु यथाशीघ्र कार्यान्वयन गरियोस् । यसलाई वेवास्ता गरिएमा हामी चरणबद्ध आन्दोलन कार्यक्रममा सार्वजनिक गर्न बाध्य हुनेछौँ । हाम्रो पार्टी सम्बन्धित सबैमा निराशा होईन अग्रगामी बिकल्पको खोजी गर्न अनुरोध गर्दछौं । इतिहासका निर्माता श्रमजिवी जनता मात्रै हुन् । यो सच्चाईलाई आत्मसात गरौं ।
क्रान्तिकारी अभिवादन सहित धन्यवाद !
……………..
ज्ञान बहादुर केसी
नगर संयोजक

































