सनिबारीय साहित्य : निबन्ध
+++
शीर्षक पढेर साथीहरूले ममाथि केही अभियोग दर्ज गर्न सक्नुहुन्छ, स्वतन्त्रताको युग जो छ । लेखिनु पर्ने बिषय हो होइन पाठकको मर्जी । लेख्नेले लेख्छ पढ्नेले पढ्छ तर काग कराउँछ पिना सुक्छ । तलका साना कुरा माथिको कान पुगोस् एकछिनमै भाइरल बन्छ तर माथिका कुरा उतै कतै तातो खोकिलेमा सुस्ताउँछ अर्थात न्यानोमा निदाउँछ ।
धेरैबर्ष अघि लु शुनका केही कथाहरू पढेको हुँ । केही निबन्धहरू पढेको हुँ । डाक्टरी बिद्या पढ्न जापान गएका उनी बिचैमा पढाइ छोडेर आफ्नो देश फर्किएर चिनियाँ मुक्ति आन्दोलनमा लागेका हुन् भन्ने उनको जीवनी पढेपछि बुझ्न पाइयो । त्यसकारण पनि उनीमाथि एउटा आस्था बढेको हो । तिनै ल्यु शुनका नामले चिनियाँहरू अहिले पनि गौरवान्वित हुन्छन् । चिनियाँ समाज बुझेकाहरूको कथन हो । लु शुनका साहित्यहरू चिनियाँ विश्व विद्यालयमा मात्र नभइ अरू मुलुकका विश्व विद्यालयहरूमा पनि पढाइ हुन्छ । हामीकहाँ ल्यु शुनका साहित्य खासै पढिन्न त्यसैले तिनी छायाँमा पर्छन् । एउटा खास बिचार दर्शनसित जोडिएर उनले साहित्य सिर्जना गरेर मानव समुदायमा छोडेर गए ।
अहिलेको युग सुनको युग मानिन थालेको छ । सुन कहिलेदेखि मानव समुदायको धेरै प्रिय धातु बन्यो यसको छिनोफानो म गर्न सक्दिन । नेपाली समाजमा सुनसित जोडिएका थुप्रै नाम, उखान र कथाहरू छन् । सबैभन्दा पुरानो कल्पना बाल्मिकिले राम कथामा उतारे । उनको कल्पना अनुसार लङ्का भन्ने देशमा घर, पर्खाल र गल्लीहरू सुनका थिए भनेर उहिल्यै सुनको महिमा बताइदिए । सायद त्यसै बेलादेखि सुनको माग र सन्चितिमा मानिसहरूको मुखबाट ¥याल चुहिन थाल्यो । बाल्मिकिले परिकल्पना गरेका सुनका छानाहरू भएको त्यो शहर हनुमानले निमेषभरमै जलाइदिए । सायद त्यो नक्कली सुन हुँदो हो । सुन बहुमुल्य बस्तु भएकोले होला देव मन्दिरका छानामा सजिन्छ, धुरीको टुप्पोमा ठडिन्छ । राजा महाराजाहरू सुन जडित मुकुट लगाउँछन् । हिन्दूहरूको साहित्य रामायणमा मात्र सुनको चर्चा छैन पश्चिमा साहित्यमा पनि सुनलोभी मिदासको कथा छ । हाम्रो उत्तरी छिमेकी ल्हासा पनि सुनसित जोडिएर हाम्रो जिब्रोमा बसेको छ । सुनबारेका अरूहरू किस्सा पनि हुन सक्छन् मेरो भुत्ते दिमागले कसरी सन्चय गरोस र ? पन्चतन्त्रको कथामा एउटा बूढो लोभी बाहुनले सुनको बालामा लोभिएर आफ्नो ज्यान फालेको कथा पनि छ । सुनबुटे मृग देखेर रामकी धर्मपत्नी सीता पनि लट्ठिएको कथा सुनेर होला हाम्रा दिदीबहिनीहरू पनि सुनसित पिरती जोड्न हर्ष मान्छन् । समाजमा सम्पन्न परिवारका सदस्यहरू घाँटीमा, नाडीमा, कानमा, छातीमा, नाकमा, औँलामा र कतिले दाँतमा पनि सुन लगाएर आफुलाई प्रतिष्ठित दावी गर्छन् । जीवनभर नुनपानी पिउन मुस्किल परेका मानिस मृत्यु शैय्यामा पुग्दा मागेर खोजेर सुनपानी खुवाइदिने चलन छ । हाम्रो कर्मकाण्डीय मान्यता अनुरूप त्यही गरीब मानिसको मृत्यु नजिक पुग्दा दशदान कर्म भनेर गरिने दानमा सुन पनि दान गर्नु पर्छ भनेर पुरोहित बाहरूले बताउने गर्छन् र सुन दिन सकिएन भने एउटा पैसो सुनमा घोटेर भएपनि दान गर्नु भन्ने गरेका वाणी तपाईं हामी सबैले सुनेका छौँ ।
अहिले बिशेषगरी हाम्रा दिदी बहिनीहरू सुनप्रति धेरै हदसम्म लोभिन थालेका छन् । छिमेक वा आफन्तहरूकहाँ हुने चाडपर्वमा सुनका गरगहना पहिरिएर प्रतिस्पर्धा गर्ने होडबाजी नै चलेको छ भन्दा फरक नपर्ला । समाजका केही सुनप्रेमी दिदीबहिनीहरू आफ्नो जीवनसाथी भन्दा सुनको गहनालाई प्रेम गरेको पनि हामीले भेउ पाएका छौँ । सुनप्रतिको आशक्तिले मान्छेहरू अपराध कर्ममा निर्लिप्त भएका खबरहरू हामीले दिनहुँजसो सुन्ने गरेका छौँ । एकाथरी मानिसहरूलाई सुन प्रदर्शन गरेर आफू प्रतिष्ठित बन्ने तीब्र लालशा छ भने खराब नियत भएका केही मानिसहरूमा लुटपाट गरेर आफ्नो कब्जामा लिने मनसाय पनि देखिन्छ । सुन जोहो गर्नसक्ने पारखीहरूले ‘सर्दको गहना असर्दको खर्च’ भनेर सुनलाई महत्व दिएका कारण पनि सुन पहिरिएर हिँडडुल गर्नु असुरक्षित भएको मान्नु पर्दछ । अहिले बजारिया बिज्ञापन पनि आएको छ ‘देख्दामा सुनजस्तो हराएमा धेरै सस्तो’ भनेर मान्छेहरू नक्कली सुनको गहना पहिरिएर भए पनि आफू प्रदर्शित हुने गरेका पनि छन् । सुन बहुगुणी धातु पनि हो । हेर्दा वा छाम्दा यो ठोस पदार्थ हो तर आगोमा पोल्दा यो एकछिनका लागि तरल वस्तु पनि बन्छ । सुनको यही गुणका कारण मानिसहरूले तामा, पित्तल वा फलाममा लेपन लगाएर पनि देव मन्दिर वा विभिन्न उपयोगमा सारतार गर्ने गर्दछन् । सुन हाम्रो माटोमा त फल्दैन त्यो आकासमार्ग हुँदै गौचर अड्डाको ढोकामा आउँछ । कथम कसैले देखिहाल्यो भने त्यो कि त पित्तल ठहर्छ कि ताबोमा फेरिन सक्छ । त्यसैले हाम्रो धर्मशास्त्र, कर्मशास्त्र र अर्थशास्त्रमा सबैभन्दा मुल्यवान बस्तु सुन बन्न पाएको छ । हाम्रो देशको सरकारले कहिले कृषीबर्ष कहिले पर्यटनबर्ष भनेर उत्सबमय बनाउँछन् तर राष्ट्रिय सुनबर्ष पनि मनाए हुँदैन र ?
पुँजिवादी राज्य ब्यवस्थामा सुनलाई महत्व दिइनु स्वाभाविक बिषय मान्न सकिएला तर आफुलाई समाजवाद वा साम्यवादी ब्यवस्थाको अनुयायी वा अभियन्ता भन्नेहरूले नै सुनप्रति देखाएको आशक्तताले नेपाली समाजको शीर नराम्रोसित झुकेको छ । समाजवादका ब्याख्याता वा प्रणेता लेनिनले सुनलाई समाजवादी राज्य ब्यवस्थामा चर्पिमा बिछ्याउन काम लाग्छ भने तर त्यही समाजवादी ब्यवस्थाका अनुयायीहरू भने सुन लुकाउने वा अबैध बाटोबाट सुन सङ्ग्रह गर्ने धन्दामा तल्लिन भएका छन् भन्ने समाचारहरू आउँदा तीनचित खानुपर्ने हुने रहेछ । आफ्नै स्वरोजगारको कमाइले प्रतिष्ठामा पुगेका गृहस्थ वा ब्यापारीहरूले सुनको जोहो गरी आफ्ना श्रीमती, छोरी बुहारीको नाक कान वा छातिमा लट्काएर हिँड्नु वा बैङ्क र बित्तीय संस्थाहरूमा धितो लिनु दिनु अस्वाभाविक मान्न सकिँदैन तर देश र दुनियाँ बदल्छु भन्ने कसम खाएर राजनीतिको मैदानमा उफ्रिएकाहरूले भने अबैध कर्ममा निर्लिप्त भएर सुनको खेती गरिनु किमार्थ जायज ठहरिँदैन । भलै, समाजका एकाध सामान्य पात्रहरूले लुकिछिपी अबैध धन आर्जनमा लागे ठहरिए कानुनको आँखामा दण्डित हुन्छ तर जसले सारा देश र दुनियाँलाई सत्चरित्रको उपदेश दिन्छ तर आफू भने लुकिछिपी वा शक्तिको दुरूपयोग गरेर सुन आर्जन गर्नतिर उद्दत हुन्छ यो सबैभन्दा नीच कुकर्म हो । बेलाबखतमा देश हल्लाउने यस्ता खबर सुनेर आक्रोशित र उत्तेजित को हुँदैन होला र । नेपाली जिब्रोमा एउटा उखान छ ‘जो अगुवा उही बाटो हगुवा’, समाजको दुःख मोचन र सुशासनको उधारो वाचा बाँडेर शक्ति र श्रोत हत्याउन पुगेका यस्ता पात्रहरू समाजको कलङ्क हुनु दुःखलाग्दो बिषय हो । एकातिर हिजो यिनै पात्रहरूले देखेका नुन पानी पिउन नसकेका दुरदराजका बासिन्दालाई लिस्नो बनाएर शक्ति आर्जन गरेका र आज त्यही शक्ति दुरूपयोग गरेर दुर्गन्धित बनेका पात्रहरूको बारे जति घृणा गरे पनि पुग्दैन । यी पात्रहरूले लेनिन वा लु सुनका आदर्शको व्याख्या गर्नु ढोङ र पाखण्ड सिवाय अरू केही होइन । सुन कारोबारिमा भुरेभारे कामरेडहरूको पहुँच पुग्दैन लेनिन र लु सुनको ठेली कण्ठ पारेका इतिहासले खारेका महानायकहरूको विद्वता नै प्रयोग भएको हुन्छ । बरु यस्ता पात्रहरूले गाउँमै लसुन खेती गरेर जिबिका चलाउनु उत्तम हुन्छ ।
लसुन मसला प्रजातिको वनस्पती हो । यो बहु गुणकारी हुन्छ । नेपाली भान्सामा यो लोकप्रिय पनि छ । सुन खाएर बदनाम कमाउनु भन्दा लसुन रोपेर इमान जोगाउनु सर्वजन हित हो । सुन खाएर देश र दुनियाँमा दुर्गन्धित हुनु भन्दा आफ्नै पौरखको लसुन खाएर आफू निकटकालाई मात्र गन्ध दिनु बरु स्वाभाविक ठहर्छ । लसुनको ओसारपसार हवाइमार्ग हुँदै लान ल्याउन पनि पर्दैन डोकोमा नै ओसारपसार गर्दा पनि हुन्छ ।
म यिनै बिषयबारे घोत्लिन्छु र छापामा आएका समाचार हेर्छु । इतिहासले दिएका ज्ञानको सानो पोको फुकाउँछु र सम्झन्छु लु शुनका निबन्ध र कथाको केही अंशहरू । केही महामहिमहरू लु शुनको साहित्य पढेर सुनको खेती गर्दै छन् तर म भने लसुन फलाउन माटो खोस्रँदै छु ।































