दाम्पत्य सम्बन्ध

दाम्पत्य सम्बन्ध

साताको साहित्य : निबन्ध

मानव जीवन बिकाशको एउटा चरणमा प्रवेश गरेपछि समान उमेर समुहका स्त्री र पुरुष बिच सम्बन्ध बन्यो । उनीहरूको शारीरिक सम्बन्धबाट सन्तानको जन्म हुन थाल्यो । आफ्नो सन्तानको रेखदेखप्रती साझा जिम्मेवारी हुन थालेपछि दाम्पत्य सम्बन्धको बिकाश हुँदै आयो । जीवन पर्यन्त सङ्गै दुखसुखका भङ्गालाहरू कटाउने लक्ष्य र उद्देश्यले दाम्पत्य जीवन शुरु हुन्छ । दाम्पत्य जीवनमा उत्पादनको दायित्व र बंशको संरक्षण प्रमुख जिम्मेवारी हुन्छ । दुई विपरित लिङ्गबिचको सम्बन्ध जोडिने हुँदा दाम्पत्य जीवनमा माया प्रेम पहिलो शर्त बन्छ । बिना मायाप्रेमको दाम्पत्य टिकाउ हुँदैन र त्यो भत्कन्छ । संसारभरका मानिसहरूको जन्म र बिकास यसरी नै भएको हो । दाम्पत्य सम्बन्ध दिगो बनाउन धर्म, संस्कृति, कानुन आदि नीतिहरूले संहिता निर्माण गरेका हुन्छन् र सोही संहिताको आधारमा समाज चलिरहेको हुन्छ । दाम्पत्य जीवनमा स्त्री वा पुरुषको बिछोड भयो भने उनीहरूको जीवन चल्न निकै कठिन हुने गर्छ । हिन्दु संस्कृतिमा अघिल्लो शताब्दिसम्म दाम्पत्य जीवनमा केही विभेद कायम थिए । हामिले पुराणमा सुनेका छौँ, इतिहास पढेका छौँ । राजा महाराजाहरू र उच्च धनिमानिहरूले बहु बिबाह गर्दथे । उनीहरूका थुप्रै श्रीमतीहरू हुन्थे र त्यस्ता ब्यक्तिहरूको मृत्युपछि उनका श्रीमतीहरू लाशसङ्गै जल्नु पर्दथ्यो । यो प्रथा त हराएर गयो तर बहुपत्नी प्रथा भने लुकिछिपी वा खुल्ला रुपमा जिवित छ । बंशको निरन्तरतामा दाम्पत्य सम्बन्धको निरन्तरता नहुन पनि सक्छ । हाम्रो संस्कृतिले विभिन्न अवस्थामा जन्मिएका सन्ततिलाई बेग्लाबेग्लै नाम समेत दिइएको छ । कानिन, दत्तक, क्षेत्रज, कण्व जस्ता सन्ततिका आमाबा दाम्पत्यमा नजोडिएका पनि हुन सक्छन् । तर अहिलेको समाजमा यस्ता सन्तानहरू खुलेर आफ्नो परिचय दिन चाहन्नन् । दाम्पत्यमा जोडिएर पनि कतिपय दम्पत्ती सन्तानहीन हुन सक्छन् । पछिल्लो परिणाममा सेरोगेसी आमाको प्रचलन बढ्न थालेकोले दाम्पत्य जीवन बिना पनि जीवन चलाउने प्रयोग बढेको छ ।

दाम्पत्य जीवनको पहिलो आधारबिन्दु बिबाह हो । परिवारमा महिलाहरू आत्मनिर्भर हुन नसक्दा दाम्पत्य जीवनमा अधिकाँश महिलाहरू दोश्रो दर्जाको रुपमा जीवन बिताउन बाध्य थिए र छन् । त्यो स्थितिको दाम्पत्य जीवन कष्टकर पनि हुन्छ । बिबाह नाउँको बन्धनले धेरै महिलाहरूलाई सकसपुर्ण जिन्दगी बाँच्न बाध्य बनाएको पनि छ । अहिलेको युगमा बैबाहिक संस्था खल्बलिन पुगेको छ । महिलाहरू आत्मनिर्भर उन्मुख हुन थालेपछि वा पति पत्नी बिच दरार उत्पन्न भएपछि दाम्पत्य सम्बन्ध भत्किने हुन्छ । अध्ययन वा रोजगारीका कारण एक अर्काबाट टाढा हुन पुगेपछि पनि दाम्पत्य जीवनमा अवरोध देखा पर्दछ । आधुनिक जीवनशैलीले पनि दाम्पत्य सम्बन्धमा बिच्छेद उत्पन्न गराएको छ । अर्कोतिर बिबाह इतर सहसम्बन्धको प्रचलन पनि बढ्दै गएको छ । यस्तो सम्बन्धलाई लिभिङ टुगेदर भन्न थालिएको छ । यो पश्चिमा संस्कृती हाम्रो समाजमा पनि भित्रिनुले औपचारिक र आत्मिय दाम्पत्यको बिच पर्खाल खडा गराउन थालेको छ । हाम्रो बैबाहिक सम्बन्धबारे अझै पनि मागी बिबाहको प्रचलन छ । यस्तो प्रचलनमा केटा वा केटि आफ्ना अभिभावकहरूको दबाबमा रहेका हुन्छन र एकले अर्कोलाई चिन्न बुझ्न वा भावी जीवनबारे सर सल्लाह र योजनाबाट बन्चित हुन्छन् । अहिले पनि ढाँटीढुँटी बिहे भन्ने उखानलाई ब्यबहारमा लागू भैरहेको पाइन्छ । बिबाहपुर्व एकले अर्कोलाई चिन्न या बुझ्न नसक्दा दम्पती बिचमा बेमेलको स्थिती पैदा हुनुले पनि दाम्पत्य सम्बन्ध भत्किएको हुन्छ । शैक्षिक स्तर बेमेल हुनु बिबाहको नाउँमा अत्याधिक धन दौलतको आशा गरिनुका कारणबाट थुप्रै महिलाहरू सकसपुर्ण र नाम मात्रको दाम्पत्य जिन्दगी कटाउन बिबश भएको उदाहरण पनि हामीले देखे सुनेका छौँ । नेपाली समाजको दाम्पत्य जीवन स्त्री मैत्री अझै हुन सकेको छैन । यसको प्रमुख कारण भनेको सम्पत्तिमाथि महिलाको स्वामित्व नहुनु नै हो ।राज्यले कानुनका केही संहिता निर्माण गरेपनी ब्यबहारमा पुर्णतया लागू भै सकेको छैन भने अर्को तिर आयातित सँस्कृतिका कारण पनि बेमेल उत्पन्न भैरहेको छ । कतिपय दम्पत्ती बिच आर्थिक कारणबाट पनि खट्पट हुन्छ भने कतिपय पुरुषभित्रको पुरातन र हैकमका कारण पतिले पत्निमाथी निर्मम उत्पिडन पनि गरिरहेका हुन्छन । खस ब्राह्मणहरूको दाँजोमा जनजाती समुदायको दाम्पत्य केही मज्बुत पनि देखिन्छ ।

दाम्पत्य जीवन सुखी र सम्पन्न बनाउन प्रेम बिबाहले केही हदसम्म प्रेरणा दिन्छ तर हाम्रो समाज प्रेम बिबाहलाई पुर्णतया मान्यता दिने अवस्थामा पुगिसकेको छैन । खस ब्राह्मणको दाँंजोमा जनजातिभित्र प्रेम बिबाह दिगो र भरपर्दो देखिएको पनि छ । यसको कारण जनजातिभित्र महिला मैत्री संस्कृती केही उदार छ । दाम्पत्य सम्बन्ध सबै सम्बन्ध भन्दा निकट र प्रेमिल सम्बन्ध हो तर कतिपय जोडिभित्र पतिपत्नीमा मालिक र दासको जस्तो सम्बन्ध बनेको छ । मेरा निकटका एक बन्धु छन् अल्लारे वयमा उनी निकै बरालिएपछि ठिक ठाउँमा ल्याउन भन्दै बाआमाले बिबाह गरिदिए । बिबाहका एकाध बर्ष उनी केही ब्यबहारिक देखिए तर फेरि नानिदेखिको बानी भनेझैँ बहकिएर बरालिन थाले । घरमा बालबच्चा लिएर श्रीमती बसेकी हुन्छिन् भारोपर्म र ज्याला निमेकमा छोराछोरी हुर्काउँदैछिन तर ती ‘पति परमेश्वर’ दैनिक गर्नुपर्ने मनमौजी खर्च पत्नीको कमाइले पुु¥याउनु पर्ने दाबी राख्छन् । धुम्रपान मद्यपान बाहेक बाहिर रङरौसको लागिसमेत पत्नीले खर्च जुटाई दिनुपर्ने र पूरा नभए श्रीमतीमाथि हातपात समेत गर्ने गर्दछन् । हिँसा सहन नसकेर वरपर छिमेकी गुहार्नु श्रीमतीका लागि झन् अभिशाप बनेको छ । यस्तो बेमेलमा बिचरी श्रीमती भने पतिदेवको पुर्णायुको लागि व्रत उपासना गरिरहन्छिन् ।

हिउँदको एकदिन म अक्षरहरूसित खेलिरहेको छु, आफ्नै टोलका एकजना छिमेकि मेरो अघि आएर ठिङ्ग उभिए । उनी पनि मजस्तै पुर्व शिक्षक हुन् र अहिले यजमानी गर्छन् । उनको एउटा गुनासो रह्यो ‘मेरो सालो भाइकी छोरी बिबाह योग्य छिन् कुनै सज्जन केटासित बिबाह गराइहाल्नु छ सहयोग गर्नुस् न’ । मैले एकछिन सोचेर भने ‘अहिलेको जमानाका नानिहरू आफ्नो मनले खाएका कुनै केटा साथी होलान् दाइ बुझेर अघि बढ्नुस् न’ । ती दाइको अनुहारको भङ्गिमा बिग्रियो र बिस्तारै भने ‘जातभात नमिल्नेले लैजाने भयो र त हतारिएको’ । बाबु पुरोहित्याइँ गर्छन् छोरी नेवारसित जान लागी । पढेलेखेका अभिभावकहरूको यस्तो चिन्तन अझैपनि जरा गढेर बसेको छ । पुरोहितको उपस्थितिमा गरिने मागी बिबाह महिला मैत्री छैन र यसरी जबर्जस्त जोडिएको धेरै सम्बन्ध दाम्पत्य मैत्री छैनन् । अक्सर यस्तो बिबाहमा सह स्वीकृतिको अवस्था रहँदैन । यसरी जोडिएको दाम्पत्यमा महिला समानताका कुरा छायामा परेका हामीले देखिरहेछौँ । उमेर पुगेका युवायुवती बिचको बिबाहमा पनि कर्मकाण्डिय पद्दतिले बिबाह गराउँदा संस्कारको बहानामा कन्याको इच्छा र रुचि बिरुद्ध कतिपय कर्महरू जवर्जस्त स्वीकार गराइन्छ । यसको मनोबिज्ञान छापले पनि सुखद दाम्पत्यमा बाधा पुग्ने गर्दछ ।

अहिले कानुनले किशोरी बिबाह बर्जित गरेको छ तर पनि सुदुर ग्रामिण इलाकाहरूमा छोरीहरूले चौध पन्ध्रको उमेर पार गर्ने बित्तिकै बिबाह बन्धनमा बाँधिन बाध्य छन् । बाआमाको कमजोर आर्थिक अवस्था, शिक्षा वा चेतनाको अभाव र हुर्कंदै गरेकी छोरी बारे समाजले गर्ने टिप्पणीको कारण पनि किशोरीहरू छिटो घरजम गर्न विवश छन् ।

एकपटक घुम्दै जाने सन्दर्भमा हामी धादिङ सदरमुकाममा टहलिँदै थियौँ । भर्खर सोह्र सत्रका दुई किशोरीहरू चौतारीमा खिन्न अनुहार लिएर बसेका थिए । दुबै किशोरीको सिउदोमा सिन्दुरको धर्को भएकोले उनीहरू बिबाहित हुन् भन्ने सबुद देखिन्थ्यो । चौतारो अगाडि आइएमइको काउण्टर थियो । उनीहरू दुबैका श्रीमानहरूले परदेशबाट आफ्नी जीवनसाथीको निम्ति केही रकम पठाएका रहेछन् तर उनीहरूको नागरिकता नबनी सकेकोले परिचय खुल्ने कागज नहुँदा भुक्तानी लिनबाट बन्चित रहेछन् । बिबाह दर्ता र नागरिकता नहुँदा आफ्नो निजी खर्च लिन कसैलाई जमानी राख्नुपर्ने विवशता उनीहरूमा थियो । कतिपय किशोरीहरू भावाबेगमा माया प्रेममा लहसिनु र किशोर वयमै बिबाहको निर्णयमा पुग्नु पनि अर्को कारण हुन्छ । बिबाह, प्रेम र जीवन नबुझी दाम्पत्य सम्बन्धमा जोडिनु पर्दा यस्ता जोडिहरूले करकापका कारण कष्टसाध्य जीवन गुजार्नु पर्ने हुन्छ । अर्कोतर्फ केटाकेटी दुबै पढालेखा भएर पनि उत्पादनको लागि पृथक पृथक रहँदा कतिपय कारणले सम्बन्धमा खटपट भएर पनि बिच्छेद हुन पुगेका हुन्छन् भने बैदेशिक रोजगारीले गर्दा धेरै पतिपत्नी बिच सम्बन्ध बिच्छेद हुन थालेका छन् ।

दाम्पत्य सम्बन्धलाई दास र मालिक जस्तो वा पश्चिमा स्वतन्त्र र उन्मुक्त जस्तो हुन नदिइ हाम्रै खालको पद्दतिको बिकाश गर्न सबैले प्रयत्न गर्नु पर्दछ । दाम्पत्य जीवनलाई शुखमय बनाउन एक अर्काको भावनालाई गहिरोसित बुझ्ने, माया प्रेम र सम्मान गर्न सक्नु पर्दछ । विभेद वा बैमनस्य निम्त्याउने बिषयमा आपसमा सल्लाह छलफल गरि निष्कर्षमा पु¥याउन अभ्यास गरियो भने सुखद दाम्पत्य बिताउन सकिन्छ ।