बदलिंदो अन्तराष्ट्रिय परिस्थिति

बदलिंदो अन्तराष्ट्रिय परिस्थिति

सोभियतसंघको बिघटन पछि खडा भएको एकध्रुबिय विश्व रुस–युक्रेन युद्ध पछि स्पष्ट रुपले दुई ध्रुबमा बिभाजित भएको छ । उसो त, असंलग्न राष्ट्रहरुको हिसाब गर्ने हो भने बहुध्रूब पनि भत्र सकिएला । त्यो केवल राजनीतिक बिषय हो । बीसौ शताब्दीको समाजवादी ध्रुब र साम्राज्यवादी ध्रुब अहिले बिद्देमान नभएपनि अहिलेको विश्व अमेरीकी गठबन्धन र रुसी गठबन्धन सहितको सैन्य ध्रुबमा बिभाजित भएको छ । त्यसमा बिगतकै जस्तो नाटो र वार्सा गठबन्धन नबने पनि अमेरीकी नेतृत्वको नाटो गठबन्धन बिरुद्ध रुस, चीन, कोरिया र इरानको नेतृत्वमा अघोषित सैन्य संगठन खडा भएको छ ।
अमेरीकाले आफैँलाई लोकतन्त्र (डिमोक्रेसी)को स्वघोषित पहरेदार करार गरे पनि यहाँको पूजीवादी–साम्राज्यवादी सत्ता विश्वका उत्पीडित जनताको आँखामा अन्तराष्ट्रिय आतंकवाद हो । यसबाट तेश्रो विश्वका जनता मात्र आजित भएका छैनन्, स्वयं अमेरीकी र युरोपीयन जनता समेत प्रताडित छन् । अमेरीकी सत्ता बिरुद्ध त्यहाँका जनताको रुष्टता विल्कुल जायज छ, किनकि अमेरीका नै यस्तो देश हो, जहाँ आर्थिक, राजनीतिक र सास्कृतिक असमानतको खाडल विश्वमै सबै भन्दा धेरै छ । अमेरीकी सरकारबाट संसारमा राजनीतिक, आर्थिक एबम् सामाजिक अस्थिरता पैदा गर्न, सरकारको फेरबदल गर्न, राज्यकालागि तिरेको कर लोकतन्त्रको स्थापनाको नाममा कतिपय उत्पीडित मानिसको हत्या गर्न र प्रकृतिक साधनहरुको लुटपाटगर्न प्रयोग भएकोमा अमेरीकीहरु नाराज छन् । युरोपीयन जनता पनि युरोपमा यीनै कारणहरु लागु हुने अवस्थाले अमेरीकी उपनिवेशबाट आजित छन् । चाहेर होस या नचाहेर, युरोपेली सरकारहरु नाटो गठबन्धनको कारण युरोपीयन जनताले तिरेको कर विश्वभर अस्थिरता पैदा गर्न र जनताको हत्या गर्न अमेरीकी निर्देशनको पालन गर्न विवश छन् । युरोप र स्क्यान्डीनेभियन जनता रुस युक्रेन युद्धमा आफ्नो कमाईमा कटौती गरी तिरेको करले आफ्नै जीबीकामा चुनौति पस्कने र आफ्नै घरको धुरीमा बम बर्षने खतराले आतंकित छन् । करको पैसाले थुपारेका बमबारुद युक्रेनमा रुसी हमलामा खरानी मात्र भएका छैनन्, युरोपकालागि आवस्यक पर्ने ज्ञास, तेल, गहँु जस्ता उपभोग्य सामानमा हुनसक्ने अवरोधबाट भयभित छन् । रुससंगको व्यापारिक सहकार्यमा बाँच्नु पर्ने यी देशहरु अहिले पनि अमेरीकी उपनिवेशबाट मुक्त छैनन् ।
युरोपमा फ्रान्स बाहेक सबै देशहरु अमेरीकी सेनाको बुटमुनि बस्नु परेको छ । बेलायत, जर्मनी, इटली, बेल्जीएम, लगायतका देशहरुमा आर्थिक सम्पत्रताका बाबजुद अमेरीकी उपनिवेशबाट पील्सीएको आत्मसम्मानमा मल्हम लगाउने आधार बनेको बनेन । कुनै समयको विश्वसाम्राज्य र कुनै समयमा अमेरीकालाईनै उपनिबेश बनाएको बेलायत अहिले स्वयं अमेरीकी उपनिवेशमा रहनु बेलायतीहरुकालागि अतिनै पिडादायक बिषय हो । मानिसका दिनहरु बित्दै गएपनि इतिहास कहिल्यै बित्दैन । इतिहासको बोध गर्ने हरेक नयाँ पीँढिकालागि अमेरीकी अपमानका काँडाहरु झन झन तिखा भएर घोचिन पुग्छन ।
यता यसियामा जापान, एकीकृत कोरीया, फीलीपीन्स लगायतका आस्यान देशहरु अमेरीकी बुठमुनि बस्न बिवस छन । बेलायत स्वयम अमेरीकी उपनिवेश भएपनि अष्टे«लिया र न्युजील्याण्ड बेलायतका उपनिवेश हुन । राजनीतिक स्वतन्त्रता, अर्थिक सम्पत्रता, भौगोलिक सार्बभौमिकता जस्ता शब्दहरु यी सबै देशका सम्बिधानमा महत्वका साथ उल्लेख छन् । परन्तु, कुनै पनि उपनिवेशको राजनीतिक वास्तविकताले मानिसको मनोवैज्ञानिक प्रताडनालाई इन्कार गर्न सक्दैन ।
युद्ध, रुस र युक्रेन बिच चलेको भएपनि यो रुस र नेटो गठबन्धन बिचको राजनीतिक, आर्थिक र सैनिक टकराव हो । नेटोमा अमेरीका र क्यानडा सहित युरोप र यसिया गरी ३१ देशहरु सामेल छन । रुससंगको युद्धमा यी देशहरुमा बर्षै देखि थुप्रिएका पुराना हतियार समाप्त मात्र भैसकेका छैनन्, नयाँ हतियारको मारक क्षमतामा भएको बिज्ञापन समेत फीका परेको छ । सोभियत संघको बिघटन र एकीकृत रुस बिभित्र देशहरुमा बिभाजीत पछि सत्तामा आएका पुतिनले गत तीन दशकमा “समाजवादी शान” देखाउने तैयारी गरेको देखिन्छ । शोभियत सत्ताको बिघटनलाई “ऐतिहासिक प्रलयको (हीस्टोरिकल डिज्यास्टर) रुपमा शस्लेषण गरेका पुतिनले नाटो गठबन्धनका ३१ देशहरुलाई युक्रेको समर्थन गर्नु “भालुको कंचट” समाउनु सरहको अवस्थामा धकेलेका छन् । यदि अमेरीका र नाटो देशहरुको प्रत्यक्ष सहभागिता युक्रेनमा भयो भने त्यसले चीन, कोरीया, इरान समेत सैनिक सहभागि हुने अवस्थामा पुर्‍याउने छ, जसको परिणाम अमेरीका “भूतको खाजा” सरह हुनु अनिवार्य हुने छ । अहिलेनै १७ महिनाको युद्धमा अमेरीका र नाटो गठबन्धनकालागि युक्रेनमा न प्रत्यक्ष सहभागि हुनु न भागेर उम्कनु जस्तो भएको छ । अवस्था जेसुकै भएपनि यो युद्धमा अमेरीका र नाटोको राजनीतिक, आर्थिक र सैनिक पराजय भैसकेको छ । विश्वभरको अमेरीकी प्रभुत्व समाप्त हुन भने अमेरीकी साम्राज्यवादको औपचारिक पराजय अनिवार्य हुने छ ।
युद्धको जटिलता बढ्दै जाँदा, छद्म युद्ध प्रत्यक्ष युद्धमा बदलीने सम्भावना बढ्दै गईरहेको छ । आण्विक हतियारको भण्डारण जो बाईडन र नाटोका नेताहरुको ब्रेकफाष्ट गर्ने भुट्टाको चाँङ अवस्य हुने छैनन्, हिरोसीमा र नागासाकिमा जस्तै आवस्यक परेको अवस्थामा मानिसका चमडी पगालेर दमडी असुल्ने होडबाजी हुने छन् । बस्तुको बिकास सामान्यबाट जटिल तिर जाने जस्तै टेक्टीकल न्युक्लीयर हुँदै स्ट्राटेजिक तिर अमेरीका र बेलायत सोझ्याउँदै छन् । दोश्रो विश्वयसद्ध पछि प्रतिबन्धित क्लष्टर बमको प्रयोग भैसकेको छ । युद्धमा होमिय पछि सनक र बाध्यता दोस्ती भएर आउँछन् । अमेरीका अहिले दुबैको सिकार हुन बिवस हुँदैछ ।
अमेरीकाले युक्रेन युद्धमा हतियारको ब्यापार गर्न, युक्रेनमाथि ऋणको भारी बोकाउन र रुसलाई ४३ देशहरुमा बिभाजन गर्ने रणनीति पुरा गर्न अप्रत्यक्ष सहभागिता देखाए पनि प्रत्यक्ष भिड्ने अवस्था नल्याउन सचेत देखिन्छ । युद्धको स्तर अनुसार चलाउने र रोक्ने कुरा कसैको इच्छा र चाहना भन्दा बाहहिरको कुरा हो, लेनिनले भनेजस्तै पूजीवादी–साम्राज्यवाद भनेको युद्ध हो र यो साम्राज्यवादी उत्पादन सम्बन्धले पैदा गरेको राजनीतिक अवस्था हो । अमेरीकी साम्राज्यवादकालागि “अमेरीकी प्रतिष्ठा” आँचको फन्दामा फँस्न थाल्यो भने त्यसको उद्धार गर्ने अस्त्र आणविक युद्ध बाहेक अर्को हुने छैन । युक्रेन युद्धमा अमेरीकाले रुससंगको बार्ताका ढोकाहरु पुरै बन्द गरिसकेको छ, कुटनीतिक असफलताको परिणाम पनि युद्धनै हुन पुग्छ । यदि अमेरीकाले आणविक अस्त्रको बटनमा औला पुर्‍यायो भने आफ्नो प्रतिरक्षाकालागि चीन, कोरिया, र इरानले पनि बटन दवाउनु अनिवार्य हुने छ । त्यतिबेला छद्म युद्धले केवल तेश्रो विश्व युद्धको रुप मात्र लिने छैन, विश्वको राजनीतिक, आर्थिक, सैनिक सन्तुलनमा ब्यापक बदलाव आउने छ । पहिलो र दोश्रो विश्वयुद्धबाट बचेको उत्तर अमेरीकी भूभागमा लामो दुरीका क्षेप्यास्त्रहरुले प्रवेश गर्नेछन् । एउटा बटन दवाउँदा पूर्बमाको गोवाम देखि लसएन्जलस सम्म र पश्चिमको न्युयोर्क देखि वासिंटन सम्म डडाईदिने कोरीयाली धम्की कुनै दिनको वास्तविकतामा बदलीन बेर लाग्ने छैन । चिनीया हतियार युद्धमा परिक्षण नभए पनि अमेरीकी प्रतिरक्षाकालागि चुनौति हुने स्पष्टै छ । रुसी हतियारले युक्रेन युद्धमा अमेरीकी प्रतिरक्षाको हुर्मत मात्र लिएन, पेट्रियोट प्रणाली र क्षमताको प्रचार गरिएका बिज्ञापननै उल्ट्याई दियो । परणामत: अमेरीकी हतियारको अन्तराष्ट्रिँय बजार धाराशाही भएको विश्वलेनै देखिसकेको छ । जति युद्धको आतंक अमेरीकालाई छ त्यति विश्वका कुनै देशहरुलाई छैन, किन कि अमेरीका अहिले सम्म कुनै बाह्य युद्धमा फँसेको छैन, बाँकी सबै साम्राज्यहरुले युद्धको प्रक्रियाबाटै उत्थान र पतन भोगेका छन् ।
विश्व युद्धले विश्वको राजनीतिक सन्तुलनमा ल्याउने परिवर्तनमा प्रथम भारत–चीन सम्बन्ध हुने छ, दोश्रो रुस–जापान सम्बन्ध हुने छ । तेश्रोमा युरोप–अमेरीकी सम्बन्ध हुने छ भने चौथोमा स्वयम उत्तर अमेरीका र दक्षिण अमेरीकी सम्बन्ध हुने छ । यस्तो स्थितिमा अहिले अमेरीकी क्याम्पमा रहेको भारत प्रतिद्वन्दी मात्रे गरेको चीनको पक्षामा उभिनु अनिवार्य हुने छ । अमेरीकी सैनिक सुरक्षामा रहेको जापान रुसको पक्षमा लाग्नु अनिवार्य हुने छ । नीहुँ पाउने बित्तिकै पेरिस र बर्लिनका शहरहरुमा डलेलो लगाउने युरोपीयन जनता अमेरीकी दासत्वबाट मुक्त हुन रुसको पक्षमा खडा हुनेछन् । बोलीमा जनपक्षिय र व्यवहारमा धनपक्षिय नीति भएको युरोपीयन ढोगी प्रजातन्त्र युद्धको अन्त्य संगै बिसर्जित हुने छ र त्यसको स्थान वैज्ञानिक समाजवादले लिने छ । अमेरीकी साम्राज्यवादको पराजयले मेक्सीको सहित दक्षिण अमेरीका र अफ्रीकाले मात्र स्वाधिनता प्राप्त गर्ने होईनन्, स्वयम उत्तर अमेरीकी महादेशका जनताले समेत साम्राज्यवादी उत्पीडनबाट मुक्ती पाउने छन् । यसरी, अमेरीकी साम्राज्यवादबाट युरोप देखि यसिया सम्म र अमेरिका देखि अफ्रीका सम्म मुक्त हुनु भनेको अहिलेको अवस्थामा विश्वभर समाजवादको नयाँ लहर पैदा हुनु हो । माओ त्से तुङले “साम्राज्यवादी युद्धले या त क्रान्तिको जन्म दिन्छ या क्रान्तिले साम्राज्यवादी युद्धलाई रोकि दिने छ, दुबै अवस्थामा विश्वको मुल प्रबृत्ति क्रान्ति नै हो” भत्रु भएजस्तै अहिलेको विश्वको मुल प्रबृत्ति समाजवादी–साम्यवादी क्रान्ति नै हो ।
के हामीले सम्पूण मानवजातीकालागि खुला र उन्मुक्त नयाँ युगको अपेक्षा गर्न सक्छौ ? अथवा के मुठ्ठीभर पूजीवादी–साम्राज्यवादी बँधुवा मानिसहरुले सोचे जस्तै पुरानै सिकन्जा र साधुरो सन्सारको कैदखानाको अन्त्य नहुन सक्छ ? रुसको बाध्यता र अमेरीकी अजिर्णताले भिड्नु परेको युद्धले विश्वभरका मानिसलाई पुरानोको मृत्यु र नयाँको जन्मको दोसाँधमा पुर्‍याएको छ । अमेरीकी साम्राज्यवादी बिध्वसका बिरुद्ध राजकीय पूजीवादी (स्टेट क्यापिटलिष्ट) पुतिनकालागि यो युद्ध लेनिन र स्तालिनको जस्तो बृहत मानविय हित भन्दा फरक हुन सक्छ, परन्तु पुतिनले जुन युद्धको नेतृत्व गरेका छन् त्यसको बिजयपूर्ण सफलताले नयाँ युगको जन्मदिने धाईको धर्म निश्चित रुपले पालन गर्ने छ, जसकालागि अमेरीका र नाटोको युद्धमा प्रत्यक्ष सहभागिता र पराजय अनिवार्य हुने छ ।
यदि युद्धले नयाँ विश्व व्यवस्था स्थापना गर्ने हो भने त्यसकालागि युरोपेली र अमेरीकी जनताले युरो–अमेरीकी साम्रज्यवादको बिरुद्ध स्पष्ट रुपमा खडा हुनु पहिलो आवस्यकता हो । युक्रेनी जनताको सार्बभौमिकता र शान्तिकोलागि संसार भरका मानिसहरु एकजुट हुनु दोश्रो आवस्यकता हो । सन्सार भरका मानिसहरु साम्राज्यवादी युद्धको अन्त्य र समाजवादको स्थापनाकालागि उभिनु अहिलेको तेश्रो आवस्यकता हो । यो भन्दा महत्वपूर्ण बिषय सबै देशका कम्युनिष्टहरुले आ–आफ्नो देशमा क्रान्तिको तैयारी गर्नु नै हो ।
श्राबण २०८०