ब्वाँसाे राेइरहेकाे छ

ब्वाँसाे राेइरहेकाे छ

साताको कविता 
**
सावधान !
ब्वाँसो रोइरहेको छ !!

ब्वाँसाको आँखामा आँसु छैन
त्यहाँ समवेदनाको अलिकति पनि नून छैन….
ब्वाँसाका आँखामा त पानी पनि छैन
सबै पानी वाफ बनिसकेको छ ।
ब्वाँसो धूर्त हो ,शिकारी हो
उसका आँखाबाट वाफ निस्किरहेको छ
राता राता आँखाबाट निस्किरहेको
रङ्गहीन-स्वादहीन
तर दूर्गन्धित विषालु वाफ ।

सावधान !
ब्वाँसो ह्वाँ ह्वाँ रुन थालेको छ !
ब्वाँसो यसरी रुनु शुभ मानिदैन !
सावधान !!

सावधान !
जब ब्वाँसो रुने गर्छ
विषालु वाफको चपेटामा सबै पर्न थाल्छन
मानिसहरू
पहिले भीडमा त्यसपछि भेडामा बदलिन थाल्छन
अनि भेडाको दिमागमा ब्वाँसो पस्छ
लिप्साका तीखा दाँत उम्रिन थाल्छन्
जङ्गली र्याल खस्न थाल्छ
सबैका आँखा डर लाग्दा बन्न थाल्छन
र चारैतिर विषालु वाफ फिँजिन थाल्छ
देशका देश
र भूभागका भूभाग
विषालु ग्याँस चेम्बरमा बदलिन थाल्छ ।

सावधान !
ब्वाँसाले रोएको शुभ मानिदैन !
सावधान !!

अनु: मुक्ति पथिक