कसले गर्यो

कसले गर्यो

 
कसले गर्यो र कल्पना
बैरीको टाङमुनी छिरेर
सुप्रीमोले नाक रगट्ने कुरा
छेपारोले जिल खानेगरी
पल पलमा रंग बदल्ने कुरा ।
 
निष्ठा धर्मराएपछि
पर पर भाग्दोरहेछ
आफ्नै यात्राको गन्तव्य
आस्था चर्मराएपछि
बिरानो बिरानो लाग्दोरहेछन्
आफै हिडेका पाइलाहरु।
कसले गर्यो र कल्पना
आफ्नै इतिहासले लखेट्ने कुरा
लखेटेपछि आफ्नै इतिहासले
ढल्दै गरेको आदर्श
र, मर्दै गरेको इमान च्यापेर
आफ्नै टाउकाको मूल्य तोक्नेहरुसँग
सगोत्रीय पिरती गाँस्नुपर्ने कुरा
आफैले `आतंककारी´ करार गरेकाहरुसँग
अस्तित्वको गुहार माग्नुपर्ने कुरा
कसले गर्यो र कल्पना
संकटमोचनका लागि
`प्रभु´ पुज्न पराइतिर बरालिनुपर्ने कुरा ।
०८०/०३/०७