क्रान्तिकारी माओवादी र बहुमतबीच पार्टी एकताका यस्ता छन् आठ आधार

क्रान्तिकारी माओवादी र बहुमतबीच पार्टी एकताका यस्ता छन् आठ आधार

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला कञ्चन नेतृत्वको नेकपा (बहुमत)ले विभिन्न आठ वटा विषयलाई आधार मानेर पार्टी एकता गरेका छन् । एकता पछि बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले केन्द्रीय स्तरमा एकता अधिवेशन, पार्टीको केन्द्रीय सचिवालयको बैठक सम्पन्न गरी अहिले प्रदेशस्तरको एकता अधिवेशन सम्पन्न गर्ने चरणमा रहेको छ ।

पार्टीभित्र र बाहिर पनि यी दुई पार्टीले के के विषयलाई आधार मानेर पार्टी एकता गरे भन्ने विषय विशेष महत्व, चासो र सरोकारको विषय रहेको छ ।

दुवै पार्टीको एकता अधिवेशनले पारित गरेको दस्तवेजका अनुसार क्रान्तिकारी माओवादी र बहुमतले विभिन्न आठ वटा आधारमा टेकेर पार्टी एकता गरेका छन् ।

दुवै पार्टीले भौतिकवादी द्वन्द्ववाद (एकता–संघर्ष र रुपान्तरण), सहमतीय विधि र जनवादी केन्द्रीयताको विधिमध्ये तत्कालका सहमतीय विधिमा आधारित भएर निम्न लिखित आठवटा विषयलाई आधार मानेर एकता गरेका हुन् । पार्टी एकताका ती विचारधारात्मक, राजनीतिक तथा सांगठनिक आधारहरुमा १. माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्ने, २. नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्ने, ३. नयाँ जनवादलाई आम र वैज्ञानिक समाजवादलाई आधारभूत कार्यक्रमका रूपमा अंगीकार गर्ने, ४. क्रान्तिमा बलप्रयोगको भूमिकालाई स्वीकार गर्ने र त्यससम्बन्धी मान्यतालाई विकसित तुल्याउने, ५. सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्तलाई अवलम्बन गर्ने र महान सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्दै जाने, ६. सर्वहारा अन्तराष्ट्रियतावादलाई स्वीकार गर्ने, ७. जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार संगठन परिचालन गर्ने र ८. पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल राख्ने रहेका छन् ।