काठमाडौं । त्रिभुवन विश्वविद्यालय , समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि २०७७ साल असोज २० गते गरिएको जघन्य भौतिक आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयको नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले तीव्र विरोध र भत्र्सना गरेको छ ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले एक वक्तव्य जारी गर्दै सरकारको यो निर्णय उपप्राध्यापक प्रेम चलाउनेमाथिको आक्रमण समग्र प्राध्यापकमाथिको आक्रमण भएको भन्दै तीव्र विरोध र भत्र्सना गर्नुभएको हो ।
वक्तव्यमा भनिएको छ, “केही अराजक उदण्ड एवम् अपराधिक समूहको संलग्नतामा भएको उक्त घटनाका दोषी उपर कडा तथा निर्मम कारबाही गर्नुको सट्टा अदालतमा विचाराधीन रहेको मुद्दामा सर्वसत्तावादी स्वार्थका निम्ति हस्तक्षेप गर्नु निन्दनीय छ ।”
वक्तव्यमा सरकारी निर्णय खारेजीको माग गर्दै भनिएको छ, “यसर्थ सरकारले गरेको उक्त प्राध्यापक विरोधी , अन्यायपूर्ण र विवेकहीन मुद्दा फिर्ताको निर्णय तत्काल खारेज गर्न र फिर्ता लिन हाम्रो सङ्गठन अपिल गर्दछ । साथै सरकारका त्यस किसिमका गैरजिम्मेवार, मर्यादाहीन, प्राज्ञिक स्वतन्त्रताघातक गतिविधि समेत नगर्न आह्वान गर्दछ।”