भैँसीको उपहार वर्णन चल्यो, लाजै पचायौ निल्यौ ।
सट्टा भर्न सिपालु नागरिकता, बाँडेर आयौ मिल्यौ ॥
सत्ता स्वार्थ मिल्यो मिल्यौ अनि यहाँ सुर्के पर्यो बन्धन ।
पार्यौ घात उजाडियो धरहरा, भित्र्यो नि कालो दिन ॥
कस्तो आँट गर्यौ बतास जसरी, प्रस्थान दिल्ली भर्यौ ।
तिम्रो क्रान्ति कहाँ छ हासिल यता, आखीर दिल्ली छिर्यौ ॥
तिम्रै युध्द थियो नयाँ समरको, काहाँ गयो त्यो दिन ।
पार्यौ घात उजाडियो धरहरा, भित्र्यो नि कालो दिन ॥
गन्दा एक दुई र चार पछि भो, छर्लङ्ग ऐले झनै ।
रित्यायौ ढुकुटी सक्यौ लुछिलुछी, भोगे महङ्गी जनै ॥
लम्बा हात बढ्यो घटेन कहिल्यै, चोखो कहाँ छौ भन ।
पार्यौ घात उजाडियो धरहरा, भित्र्यो नि कालो दिन ॥
हाम्रा साँध मिचेर त्यो दिनदिनै, सार्दैछ त्यो दुष्टले ।
बोलेनौ किन चूँ गरेर पनि खै, चुप्पै बस्यौ मक्खले ॥
दूधे बालक माथि घात पनि भो, त्यै हातले त्यो दिन ।
पार्यौ घात उजाडियो धरहरा, भित्र्यो नि कालो दिन ॥
त्यो साम्राज्य अमेरिकी डलरमा, आँखा लगायौ जुन ।
केको क्रान्ति गर्यौ कमाण्डर थियौ, के बिर्सियौ त्यो दिन ?
यौटा सुन्दर शान्त राष्ट्र अहिले, यो कष्ट भोग्दै किन ।
पार्यौ घात उजाडियो धरहरा, भित्र्यो नि कालो दिन ॥