साताको कविता
*****
अछूतहरू पूर्ण रुपले छूत भए भने
अरे बाफ्रे वाफ !
धर्म शास्त्रको इज्जत के होला ?
बाहुन क्षेत्रीको आजको उच्चाई के होला ?
त्रिशूल लिएर सडकमा आइहाल्लान ।
महिलाहरू पुरुष सरह समान भए भने
मनुस्मृतिको दर्जा कस्तो होला ?
पुरुषहरूले कुन विधीले आत्महत्या गर्लान ?
या धरतीबाटै पोथीहरूको अस्तित्व समाप्त पार्ने
तुरुन्तै घोषणा गरिदेलान ।
मजदूरहरूले
आफ्नो पसिनाको कमाई सबै हात परे भने
पूँजीपतिहरू कसरी बहुलाउलान ?
त्यसो भएको भोलिपल्टबाटै
हरेक पूँजीपती आमघाती हमलावर बन्लान ।
मधेशी अनुहारकाहरू
राष्ट्रपति,
प्रधानमन्त्री,
प्रधान न्यायधीश,
मुख्य सचिव,
प्रधान सेनापती ,
र आइजिपी
एकसाथ बने भने
सिङ्गो पहाडले
(हिमाल होइन)
देशलाई हिन्दूस्तान
र आफूलाई शरणार्थी घोषणा गर्ला
खप्ला चै कसरी ?
धन्न धन्न
माथि भनिएका
कुनै पनि सकरात्मक दूर्घटनाहरू भएका छैनन्
तत्काल भैहाल्ने पनि छैनन
र एकै पटक हुदा पनि हुदैनन्
र त पुरानो अमन चयन कायम छ ।
यो तथाकथित अमन चयन
मुठ्ठीभर लुटेराहरूद्वारा
हजारौं लाखौंको अमन चयन लुटेर
कायम भएको हो
यो तथाकथित सामाजिक सद्भाव
मुठ्ठीभर असामाजिक समुहहरूद्वारा
लाखौं सामाजिक समुहरूको
समाजलाई तहस नहस पारेर कायम भएको हो
यो तथाकथित कानून ब्यबस्था
मुठ्ठीभर जङ्गलराजका राजाहरूद्वारा
सभ्य मानिसहरूलाई गोलीले भुटेर
र जेलमा सडाएर चलेको हो ।
धन्न धन्न
पिँधको ढुङ्गो
आवस्यकता अनुसार अझै हल्लेको छैन
र पुरानो भाष्यले अझै शासन गरिरहेको छ ।
समाज बहिस्कार गर्नु पर्ने को हो ?
डाका घोषणा गरेर जेल हाल्नु पर्ने को हो ?
को हो धार्मिक फासिवादी ?
को हो साम्प्रदायिक अपराधी ?
साँच्चा साँच्ची भन्नु पर्दा
को हो आतङ्कवादी ?
इतिहासले एक दिन
सुल्टो घोषणा गर्ने छ
र त्यो इतिहास
वर्तमानको गर्भमा छ
धन्न धन्न वर्तमानलाई सुत्केरी बेथा लागेको छैन
त्यसैले हाँसी खुसी देखिन्छ अझै !
२०८० जेठ २३
सिनामंगल
































