भ्रमको खेती

भ्रमको खेती

संसदीय व्यवस्थामा यस व्यवस्थाका सारथीहरूले नयाँ नयाँ भ्रमहरू सिर्जना गर्ने जनतामाथि शासन गर्ने देश लुट्ने धन्दा निरन्तर जारी राख्दछन् । यो उनीहरूको धर्म हो । वर्तमानमा प्रचण्ड सरकारले नयाँ भ्रम छरिरहेका छन् । त्यो हो भ्रष्टाचारीलाई कार्वाही गर्ने । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भने जस्तो गिनिजवुकमा नै नाम लेखाउन मिल्ने गरेर । दलाल संसदीय व्यवस्था अन्तर्गत बनेका सरकार र संसदीय पार्टीहरूले भ्रष्टाचार गरेका छन् । जनतामा यो व्यवस्था र यी नेताहरूमा ठुलो आक्रोस र असन्तुष्टी बढेर गएको छ । जसको विकसित रूप विस्तारै विद्रोहतिर विकास हुँदैछ । यस प्रकारको विद्रोहलाई रोक्नको लागि शासकहरूले भ्रष्टाचारीलाई कार्वाही गर्ने नाटक मञ्चन गर्न खोजिरहेका छन् । देशलाई टाटपल्टाइ सकेपछि कर्मचारीलाई जागीर र पेन्सन दिन नसक्ने भइसक्यो । जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता दिन नसक्ने भनेर सतहमा हल्ला चलिरहेको छ । प्रचण्ड सरकारले भ्रष्टाचारीलाई कार्वाही गर्ने भनेर खुब कोकोहोलो मच्चाइरहेका छन् । कसले कसलाई कार्वाही गर्ने ? तैं चोर मैं चोर प्रचण्डले आफ्नो सम्पत्ति सार्वजनिक गरे ? भरतपुर १४ मा १४ कठ्ठामा बनेको घर, भरतपुर १० मा घर, पोखरामा घर, काठमाडौंमा घर अन्त कताकता घर जग्गा जमिन भएको विषय सतहमा आएको छ । यी सबै सम्पत्तिको स्रोत के हो ? यस विषयकोे जानकारी नेपाली जनताले पाउनु पर्छ कि पर्दैन ? वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको विषय उनी २०७४ को निर्वाचनमा गोरखा २ नं. क्षेत्रबाट हारेका मान्छे ५ वर्ष पनि पर्खन नसकेर राष्ट्रिय सभामा गएर तलब भत्ता भ्mवाम पारे यिनको बोलीको के ठेगान छ र हिजो एमसीसी पास गर्ने बेलामा हाम्रो पार्टीले कुनै पनि हालतमा एमसीसी पास गर्दैन भन्दै वकालत गरेका थिए कालान्तरमा आफ्नो पार्टीले एमसीसी पास गरेरै छाड्यो ।

यसकारण यिनको बोली र काम कार्वाहीमा कुनै दम छैन । अब आयो नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह । साँच्चै गहिरिएर विचार गर्ने हो भने संसदीय पार्टीका नेताहरूका छोराहरू कसैको पनि छाँटकाँट गतिलो छैन । कारण बाउ पदमा बस्ने भ्रष्टाचार गरेर सम्पत्ति घरमा लाने छोराहरू साँढे बनेर हिड्ने । विचार गरौं न उनी मरेर गए प्रचण्डका छोरामा पनि गतिलो छाँट थिएन शेरबहादुर देउवाको छोरा हेरौं, रामबहादुर थापा वादलको छोरा हेरौं, नन्दबहादुर पुनको छोरा हेरौं, टोपबहादुर र उनका छोरा, आरजु राणा, बालकृष्ण खाँड, मञ्जु खाँड, देवनारायण पाण्डे, इन्द्रजित राई लगायतको नाम जोडिएको छ । मर्ने बेलामा कमिलाको प्वाँख आउँछन् भने जस्तो श्रम पसिना बगाएर पनि बाँच्न सकिनथ्यो श्रमजीवी जनता गिट्टी फोरेर पनि बाँचेकै छन् । यस्तो कुकर्म किन गर्न पर्ने थियो ? माथी नै भनि सकियो वि.संं. २०४६ सालपछि सत्तामा गएका नेताहरू कोही चोखा छैनन् र अहिलेको प्रचण्ड सरकारको कदम पनि भ्रष्टाचारीलाई कार्वाही गरेर देशलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्य हुँदै होइन । प्रचण्ड सत्तामा भएको बेलामा भ्रष्टाचारको डण्डा देखाएर ओलीलाई साइजमा ल्याउने र सत्तामा बस्ने ओली सत्तामा भएको बेलामा उक्त डण्डा देखाए प्रचण्डलाई साइजमा ल्याएर सत्तामा बस्ने र अझ ठुला ठुला भ्रष्टाचार गर्ने खेल देखि बाहेक अरू केही हुँदै होइन । अर्को भ्रष्टाचारीलाई कार्वाही गर्ने छाँट होइन भन्ने कुरा यहाँबाट पनि बुझ्न सकिन्छ कि ? ५ वर्ष अगाडीको भ्रष्टाचार नर्हेने अथवा ती भ्रष्टाचारीलाई छुटदिने विधेयक ल्याउँदै छन् । यसो गरियो भने बहुसंख्यक ठुलाठुला भ्रष्टाचारीहरू उम्काउने खेल हुनेछ । अर्कोतिर यती, ओम्नी, वाइडवडी, आयल निगम, टुँडीखेल जग्गा, गोकर्ण जग्गा लगायत भ्रष्टाचारको नाम पनि लिइएको छैन । आरजु देउवा मञ्जु खाँडलाई गिरफ्तार गरिएको छैन । आरजु देउवा कहिले छोराको कसम खाने कहिले बन्दुकको ध्वास देखाउने गरेर बौलाउँदै हिडेकी छन् । प्रचण्डले मेरो लभ शेरबहादुरसँग परेको छ भनेका छन् । आफ्नो लभ परेको व्यक्तिको श्रीमतीलाई समात्ने कुरै भएन । बालकृष्ण खाँडलाई हत्कडी नलगाएर प्रहरीले हामी साधारण राजनैतिक व्यक्तिलाई हत्कडी लगाउँछ । सामान्य चोरी गर्ने मान्छेलाई हत्कडी लगाउँछ । खाँड कुख्यात मानव तस्करलाई किन हत्कडी लगाउँदैन । यो पनि शङ्काको विषय छ । अर्को उ चोर भएको ठाउँमा बस्दिन भनेर भन्यो । चोर त सामान्य साना कसुरदार मान्छे हुन् तिनको ठाउँमा यसलाई राख्न हुँदैन यसलाई नर्कमा राख्नुपर्दछ अर्को उसलाई खानामा अचार चाहिने रे त्यसलाई सामान्य खोले खुवाएर तडपाउनु पर्दछ । टोपबहादुरलाई घरको खाना चाहिने रे गर्दा खेरी विभिन्न जघन्य कुकर्म गर्ने अनि घरको खाना चाहिने । यी विभिन्नन दृष्टान्तलाई विचार गर्दा वर्तमानमा ओली प्रचण्ड र देउवाको वाक्लो भेटघाटले आफ्ना श्रीमती छोराछोरी भाइ भतिजालाई कसरी हुन्छ उन्मुक्ति दिने भन्ने षड्यन्त्रको गन्ध सजिलै बुझ्न सकिन्छ । यी भ्रष्टाचारी नेताहरूले यो भ्रष्टाचारको जालोलाई यसै सामसुम पार्न खोजीयो भने यो देशमा ठुलो विद्रोह हुने सम्भावना छ । सारा नेपाली जनता सडकमा आउनेछन् । जसरी श्रीलंकामा जनताको विद्रोहले भ्रष्टाचारीहरू देशै छोडेर भाग्न परेको थियो । त्यो दिन नेपालमा पनि नआउला भन्न सकिन्न ।

देशमा भएका यी यावत समस्या समाधान गर्नु भनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा हुने विशाल संघर्षबाट प्राप्त हुने जनगणतन्त्रबाट हुने कुरामा दुई मत छैन । अबको नेपाली जनताको कार्यभार भनेको उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भने जस्तै दलाल भ्रष्टाचारी संसदीय व्यवस्थालाई लिपिपोती गरेर समस्याको हल खोज्नु वा मशानघाटमा गइसकेको राजतन्त्र फर्काएर समाधानको विकल्प हुन सक्दैन । तीन करोड नेपाली जनता अटाउन सक्ने वृहत जनसंघर्षबाट जनगणतन्त्र प्राप्तको दिशामा अगाडी बढ्नुमै अर्को विकल्प छैन ।

भ.म.न.पा. १४, चितवन