क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय समितिको सचिवालयको बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय समितिको सचिवालयको बैठक सम्पन्न

२७ जेठ काठमान्डौ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय समितिको सचिवालयको प्रथम बैठक सम्पन्न भएको छ । जेठ २३ गतेदेखि २६ सम्म काठमान्डौमा सञ्चालित बैठकले सबै तहको एकता साउन १५ सम्म टुङ्ग्याउने निर्णय गरेको छ ।
बैठकमा राजनीतिक र सङ्गठनात्मक दुईवटा प्रस्ताव पेस गरिएको थियो । दुवै प्रस्तावमा सचिवालयका सबै सदस्यले आ—आफ्ना धारणा र सुझाव राखेका थिए । दुवै प्रस्तावहरू सुझावहरूलाई समेट्दै पारित गरिएको थियो ।
सचिवालयका सदस्यहरूले राखेका जिज्ञासाहरूको जबाफ अध्यक्ष किरण र प्रवक्ता कञ्चनले दिनु भएको थियो । नयाँ जनवादी क्रान्तिको बाँकी रहेको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्ने कार्यदिशासहितको प्रतिवेदन गत वैशाख १६ गतेको एकता अधिवेशनले पारित गरेको थियो ।


अध्यक्ष किरणले सचिवालय सदस्यहरूले उठाएका जिज्ञासाहरूको प्रत्युत्तर दिँदै यो एकता ऐतिहासिक भएको, क्रान्तिकारीहरूबीचको एकताले जनतामा पनि उत्साह उत्पन्न थपेको बताउनु भएको थियो । उहाँले एकता, सङ्घर्ष र रूपान्तरण विधिद्वारा पार्टीमा अन्तर्घुलन गर्दै द्वन्द्वात्मक भौतिकवादी पद्धति आत्मसात गर्ने सहमति भएको बताउनु भएको थियो । उहाँले आगामी महाधिवेशन आयोजक समितिको बैठकले एकता महाधिवेशनको तिथिमिति तय गर्ने बताउदै अन्य क्रान्तिकारी शक्तिसँग पनि एकताका लागि पहल गर्ने र संयुक्त मोर्चा बनाउने जानकारी दिनु भयो ।
प्रवक्ता कञ्चनले क्रान्तिकारी पार्टीहरूका बीचमा भएको एकताले नयाँ अभिभारा थपिएको बताउनु भएको थियो । उहाँले विगतमा नेताहरूले क्रान्ति सफल गर्ने अवसर पाउँदा पनि किन गर्न सकेनन्, क्रान्ति किन हुन सकिराखेको छैन ? टुटफुट किन भैराख्छ ? यिनीहरूको तथ्यपरक अध्ययन गर्दै अबका दिनमा नेपाली क्रान्तिलाई अघि बढाउनुपर्ने बताउनु भएको थियो ।