चेतनाले उच्च भनिएका हामी किन र कहिलेदेखी विभेदाको चक्रमा हुर्कियौँ खोजी गर्नुपर्ने बिषय बनेको छ । हामि समान छौँ सामुहिक स्वरमा कहिलेकाहिँ यो फलाको सुनिन्छ । यस्ता स्वरहरु जहाँजहाँबाट आएपनी ब्यबहारमा भने यस्तो समानता पाइदैन । परिवारमा बा आमा छोराछोरी रहन्छन । हिन्दु सँस्कृतिको बैबाहिक परम्परा पश्चिमा समाज भन्दा पृथक पनि छ । यो समाजमा एकोदरबाट जन्मिएका छोरा र छोरीहरुमा एक अपृय विभेद पनि कायम छ । उन्नाइसौँ शताब्दि अघिदेखिको कुरुप चेतना निर्मुल नहुनु चिन्ताको बिषय हो । परिवारको छोराछोरीको सङ्ख्या वा रुप हेरेर पनि बा आमाले विभेद गरेका कयौँ सन्तती हरु अहिले पनि छन । जन्मदा सबलाङ्ग नभै कुन अङ्ग पुर्ण बिकशित नभएका बाल बच्चा यस्तो बिभेदमा परेका हुन्छन । अर्कोतिर हाम्रो साँस्कारिक वा धार्मिक मान्यताले पनि विभेद गर्न प्रोत्साहन गरेको छ ।
म सानो छँदाको एउटा घटना सम्झन्छु । म यस्तै सात आठ बर्षको थिएँ गाउँले काका पर्नेले खिस्याएर भने जेठो छोरो कान्छो नानी माइलो छोरो अनमनी । हामी तीन भाइमा म माइलो थिएँ ।बाआमको भेदभाव त थिएन तर ती काकाको खिस्याइले भने मन छोयो । त्यसको केही बर्षपछी म भाषा शिलोकका किताब पढ्न सक्ने भएको थिएँ । एकदिन बाको सिरानीबाट देबि भागबतको एउटा पाठ सत्य हरिश्चन्द्रको कथा लेघ्रो तानी तानी पढ्दै थिएँ एकाएक मेरो गला अवरूध्द भयो त्योभित्रको एक श्लोक यस्तो थियो-
” दुखी ब्राह्मण कोहि एक घरमा थिया दरिद्री अति
तीन्का ता तीन पुत्र थे र घरमा आफू दुई दम्पत्ती
सल्लाह गरि जेष्ठ बाबू तिर भो कान्छो उ आमा तिर
बेचिने तिर माइलो हुन गयो बेची दिए आखिर “
यो श्लोक पढेपछी मलाइ त्यो किताब प्रतिको मोह भङ्ग भयो केही पछि त्यो कथाको सबै सार बुझेपछी धर्मप्रति पनि मभित्र बितृष्णा बढ्यो । सत्यवादी भनिएका हरिश्चन्द्र पनि अन्यायी र झुटबादी रहेछन । आफ्नो छोरो यज्ञमा बलिदिन तयार नहुनु त बाबुको माया स्नेहले काम गर्यो होला तर अर्काको छोरो खरिद गरेर बध गर्न आदेश दिने पनि केको सत्यबादी हुनु यो त बिभेदको पराकाष्ठा हो मेरो ठम्याइ रह्यो ।
समाजलाई नैतिक पाठ सिकाउने धार्मिक / साँस्कृतिक मान्यतामा नै यस्तो बिभेदको व्यवहार देखिए पछि कस्तो सन्देश जाला आफुलाई धार्मिक अभियन्ता भन्नेहरुले यस बिषयमा किन सोचेनन ? समाज बिकाशको इतिहासदेखि नै मान्छे मान्छे बीच बिभेदको शृङ्खला शुरु भएको छ । हामी बर्गलाई मात्र बिभेदको कारक मान्छौँ तर त्योभन्दा गहिरो हामिभित्रको चिन्तन खराब छ । एउटै परिवारमा बाबुआमाले जुम्ल्याहा सन्तान जन्मदा छोरा छोरी जन्मिएका छन भने बा आमाको अन्तरमनमा वा बुझाइमा नै विभेद देखिन्छ । श्रम र शीपका हिसाबले नभै लैङ्गिक हिसाबले नै बिभेदी छन । एउटै कोखका दाजुभाइमा होचो अग्लो छन भने होचालाइ अग्लोले हेपेको हुन्छ ।गोरो अनुहार हुनेले कालो बर्णकोलाई हेप्छ । अझ जात, धर्म पेशा, ब्यबसाय आदिको क्षेत्रमा त यो चिन्तन व्यापक देखिन्छ । एउटै काममा एउटै श्रम गर्नेहरुमा ज्यालाको विभेद छ ।श्रम सबै मानिसको अनिवार्य शर्त हो तर जो बढी श्रम गर्छ उ बढता हेपिएको व्यवहार हामिले दिनहुँ देखि रहेका छौँ । हामी यसलाई जात व लैङ्गिकको आधारको विभेद भन्छौँ । धार्मिक चिन्तन लिने ब्यक्ती वा समुदायमा पनि मतको आधारमा चर्को विभेद कायम छ । हामिले देखेका सुनेका छौँ धर्म र सम्प्रदायको निहुँमा ठुला ठुला युध्द भैरहेका छन । यदि धर्म प्रती बिश्वास छ भने उनिहरुमा परधर्मिप्रती विभेदको भावना किन जन्मिन्छ ?
हामी भन्छौँ मुलुकमा गणतन्त्र आयो, परिवर्तन भयो तर कुनै पनि पुराना मान्यता च्यातिएनन । हिजो नारायणहिटिमा जसरी पुजा पाठ वा स्तुति चाकरी गरिन्थ्यो आज त्यही प्रथा कायम छ । राजाले सडक यात्रा गर्दा जनताले जुन सास्ती खेपे आज गणतन्त्रमा पनि उही कायम हुनुले परम्परादेखिको विभेद कतै पुरिएको छैन भन्ने सबुद प्रमाण हो । शासक र शासितमा रहेको यो बिद्यमान भेदकोअन्त्य कसरी हुन्छ ? मुलुकले नया सम्बिधान पायौँभनेर हामी फुर्फुर छौँ, सम्बिधानले धर्मको हकमा निरपेक्ष भनेर ब्यबस्था गर्यो तर ब्यबहारमा गैह्र हिन्दुमाथी वा एउटै आस्था राख्ने समुदायमाथी उहीँ परम्परित भेदभाव कायम रहनु जनसम्बिधान भनिएको संहिताको खिल्ली उडाउनुभएन र ? दुई बर्ष अघि चितवनको दुर्गा मन्दिरमा भएको घटनाले जातिय असहिष्णुता देखाएको छ ।
अखबारहरुले लेखेका छन एक्काइसौँ शताब्दिमा पनि माया प्रेम र सद्भावलाई जातको आधारमा बुझिएको सबुद समाजमा आइरहेका छन । यस्तो विभेद अपमानमा मात्र सिमित छैन हत्यामा समेत उद्दत छ । निषेध हुनुपर्ने त मान्यता पो हो तर मानबको जीवन चाहिँ निषेध गरिन्छ । जाजरकोटको घटना जातियताको घिनलाग्दो कलङ्क हो । मानिसको एक मात्र जाती हुनेछ भन्ने अन्तराष्ट्रिय गीत गाउनेहरुको हातमा शासन सत्ता पुग्दा पनि यस्ता घटना भैइरहनु र पिडितले न्याय नपाउनु शासकहरुले फुलबुट्टा भरेर बढाइचढाइ गरेको सम्बिधानको खिल्ली उडाउनु हो । नेपाली जन मानसमा चलेको एउटा उखान जस्तो जसो जसो बाहुन बाजे उसै उसै भक्त भने झैँ हजुरबाले जे गरे म उनैको नाति हुँ नि भन्ने कृत्य किन मौलाइरहन्छ । प्रकृतिमा समय र स्थान विशेष हावा पानी मौसम दिन रात फरक किसिमको भएझैँ भुगोल पनि फरक किसिमको अवस्थितिमा हुन्छ तर एउटै सिमाभित्र रहनेहरुमा पहाडे र मधिसे काँठे र पाखे शब्दावली र भौगोलिक वनोट हेरेर विभेद हुन्छ । तपाइँ वा म बाटोमा पैदल हिडिरहेका छौँ तर एउटा साइकलमा गुडिरहेको पात्रले हामिलाई बिभेदको आँखाले हेर्छ र त्यही प्रकारको व्यवहार गर्छ । त्यसो त उ पनि बाइक वा कार चालकद्वारा हेपिएको हुन्छ । त्यहाँ यो मान्यता हुदैन हामी समान छौँ । आधुनिक नियम कानुन बन्नु अघि केही साँस्कृतिक र नैतिक मान्यताहरु तयार गरिएका थिए ।त्यस्ता मान्यताभित्र आधुनिक बिज्ञान सम्मत केही समानताका बिधीहरु पनि छन । केही भने अन्धबिश्वाशका मान्यता बोकेका पनि छन । कतिपय मान्यता उत्पिडन गर्ने खालका छन । अलिकती साँस्कारिक मान्यता र बिभेदकै उत्खनन् गरौँ । हिन्दु मान्यताले उपल्लो जात भनिएकाहरुको घरभित्रको व्यवहार हेरौँ । परिवारमा बा केन्द्रमा हुन्छन । ग्रामिण गृहस्थमा बाको निम्ति जुरीको भात दिइन्छ तर आमाको भागमा पिँधको माम्री पर्छ । छोराहरुको भागमा रसिलो पोशिलो खाना पर्छ छोरीहरुलाई खस्रो धस्रो दिइन्छ । कुनै कुनै परिवारमा देब देवतामा निर्बाध आस्था छ तर त्यै देवपुजाको प्रसाद खानबाट त्यही परिवारका छोरीहरु बन्चित हुन्छन । यो साँस्कृतिक मान्यता छोरिहरुलाई आफ्नो सन्तती नबुझ्ने ढोँगी मान्यता हो । केही उपाध्याय भनिएका दमभी ब्राह्मणहरुमा पुजा सामग्री घरका छोरी बुहारीले तयार गर्नु पर्दछ तर उनिहरु देवस्थल जान निषेध छन । देव प्रसाद भनिएको खाद्यन्न खान बन्चित छन ।हाम्रा पुर्खाहरुले मान्दै आएको साँस्कारिक मूल्य मान्यताभित्रको विभेद अझै पनि कायम छन ।
बिभेदको मुल श्रोत अर्थतन्त्र हो । यसलाई बर्गिय विभेद भनेर बुझिन्छ । सम्पत्तिको श्रम नै हो तर किन श्रमिकहरु माथी असैह्य विभेद हुन्छ ।धन आर्जनको श्रोत श्रम र पसिना हो भन्ने मान्यताबाट हामी च्युत हुँदै गएका छौँ तर हामिमा धन आर्जनको मोह बढेर गएको छ । मेरा केही छिमेकी छन उनिहरुको आय आर्जनको श्रोत केही देखिदैन तर जीवनशैली भने सम्पन्न र शालिन छ ।उनिहरुका अगाडि विपन्न मान्छे वा श्रमिक अपमानित भएको मैले देखेको छु।ब्यक्तिको ब्यक्तित्व बिकाशमा सबै तहको सहयोग आवस्यक हुन्छ तर श्रम गर्ने श्रमिकहरु किन दबिन्छन् ।
हेमन्त ऋतुको एकदिन पुर्व बारातिरबाट दिस्ता जन्तर र गज बोकेर एउटा टोलि गाउँ पस्यो । टोलिमा सत्तरी उमेर आसपासका काजर आलम थिए । जाडो बड्दै गएको डरले केही धन्याढ्यहरु सिरक दसना निर्माणको योजनामा थिए । एकजना नव धनाढ्यको आँगनमा प्लाष्टिकको पाल फिजारेर उनिहरु रुइ फट्कार्न लागे । दुई तलामाथी उभिएकी घर मालिक्निले हकार्दै भनिन ” त्यो तुलसिको मठ छोइएला ” । ती मजदुरले पाल तानेर अर्को छेउमा लगे । एकछिन घोरिएर हेरेँ उनले बुनेका सिरक ओढेर जाडो मिल्काउन हुन्छ तर माटोको थुप्रो तुलसिको मठ छुनसम्म हुदैन । बिभेदको यो क्रुर व्यवहार हाम्रा गाउँ समाजमा बाँचेका छन ।
विभेद केवल धनी र गरिब बिचमा मात्र हुदैन सजातिय र सवर्गीय बिचमा पनि हुन्छ । सबै मानिससङ्ग एकै प्रकारको गुण हुदैन एकै प्रकारको प्रतिभा पनि हुदैन जो सङ्ग जे छ समाजको हितमा लागुहुन पाउनु पर्छ ठुला बोटको मकैको गुण र साना बोटको मकैको गुण एकै प्रकारको हुन्छ । चामलले मात्र पेट भर्दैन कोदो मकै पनि हितकर हुन्छ । समाजलाई सुशिक्षित र नैतिकवान बनाउन सबै खाले बिभेदको अन्त्य हुनु पर्दछ ।