संकोफा संकोफा ..

संकोफा संकोफा ..

साताको कविता 

अतीतलाई न्याय दिने खाले
यो ‘राष्ट्रिय खनाई अभियान’मा‌
अन्तत: म पनि सहभागी भएँ !

कोदालो बोकेर म पनि अतीततिर निस्किएँ….

खन्दा खन्दा जब म थाक्दै थिएँ
त्यही बेला केही ठोक्कियो ,
मैले छिटो छिटो माटो पन्छाएँ
तर त्यहाँ कुनै मन्दिरको अवशेष थिएन
बरु एउटा कङ्काल थियो
एउटी आइमाईको कङ्काल
म एकदम आश्चर्यमा परें
किन कि
महिलाको योनीमा ताल्चा लागेको थियो
ताल्चामा बेस्सरी खिया लागेको थियो
तर त्यो भाँचिएको भने थिएन
त्यही बेला ऊ चिच्याएर बोली
म डराएर पछाडि सरें
ऊ आफैं केही भनिरहेकी थिई
मैले कान थापें
‘मेरो योनीलाई मुक्त गर !’
यसको चाबी खोज र मलाई मुक्त गर !
म‌ असिन पसिना भएँ
यस्तो कसरी हुन सक्छ
सदियौंदेखि यो आइमाई
आफ्नो योनीमा लागेको ताल्चा खुल्ने पर्खाइमा‌
अझै मरेकी छैन
अत्तालिएर मैले खन्ने काम रोकिदिएँ ।

दोस्रो दिन मैले अर्कै ठाउँमा खन्न सुरु गरें
यो पटक जब टनन्न आवाज आयो
म हैरान भएँ
त्यो त केवल टाउकाको कङ्काल थियो
शरीर कहाँ होला?
टाउकाको त्यस कङ्काललाई मैले हातमा लिएँ
त्यो काँप्न थाल्यो
र कतैबाट आवाज आयो
मेरो शरीरलाई खोज !
त्यो नभैकन म कसरी मर्न सक्छु
मेरो टाउकोलाई त
मन्त्रीहरूले फुटवल बनाएर खेले
शरीरलाई खै के गरे
मलाई थाहै छैन
मैले बाँकी गिँडको खोजीमा
चारैतिर छिटो छिटो खन्ने काम गरें
तर सबैतिर
फुटवल जसरी गुडिरहेका
र सदियौं पछाडि पनि मर्न नमानेका
टाउकै टाउका मात्र भेटिए ।

अचानक मेरा आँखा
केही अनौठा काला कङ्कालहरूमा परे
यी त आगोले जलेजस्ता पो देखिन्छन त
म डराउँदै डराउँदै ती कङ्कालहरूनेर गएँ
मलाई देख्नासाथ तिनीहरूले कोल्टो फेरे
ओहो, यी पनि जीउदै पो रहेछन !
मैले हिम्मत गरेर सोधें
तिमीहरूको त अन्तिम‌ संस्कार पनि भैसकेको छ
तिमीहरू अझै जीउदै किन छौ हँ ?
ती मध्ये एउटाले दिक्क मान्दै भन्यो-
हामीलाई हाम्रो झुपडीमा
हाम्रा लालाबाला सहित जलाइएको थियो
मैले आश्चर्य मान्दै सोधें
किन ?
किन कि
मैले पहिलो चोटी
आफ्नो खानामा घीऊ झानेको थिएँ !
दक्षिणी टोलबाट गएको घीउको वासना
उनीहरलाई रिस उठ्ने गरी पुग्यो !
किन कि घीउको स्वादमा
उनीहरूको मात्र अधिकार थियो
त्यसैले
खानुभन्दा पहिलै
हामीलाई जलाइयो !
म अहिले पनि भोकै छु
अनि कसरी मर्न सक्छु ?
म असिन पसिन भएर त्यहाँबाट भागें ….
मैले सोचें- अब म बहुलाउँछु होला …..

तर केही दिनपछि
यी सबै कुरालाई
हटाएर दिमागबाट
मैले खनाइको काम फेरि सुरु गरें
यो पटक
एउटा भत्केको हवेलीको खनाइ गर्दा गर्दै
मैले त्यसको जगमा
एक पछि अर्को गरेर
कैयन सग्ला कङ्कालहरू भेटें
ती पनि मरेका थिएनन्
बरू गुन्गुनाई रहेका थिए
तिनीहरूले
साउती गरेर मलाई भने-
यो महललाई बनाउदै गर्दा
हामी यसैमा पुरियौं
यसैको जग बन्न पुग्यौं
राजाले सुरक्षाका कारण देखाएर
हाम्रा परिवारलाई यहाँ आउनै दिएन
अन्तिम संस्कार नै नभैकन
हामी कसरी मर्न सक्छौं ?

म त्यहाँबाट पनि ज्यान जोगाएर भागें
अन्तत:
एउटा खुला मैदानमा मैले खनाई गर्न थालें
रात भरी खनेर जब म लोत भएको थिएँ
विहान सबेरै मैले जे देखें
त्यसले मेरो होसै उडाइदियो
यता उता हजारौं कङ्कालहरू छरिएका थिए
तर कुनै सग्ला थिएनन्
कसैका खुट्टा थिएनन
कसैका हात थिएनन्
अनि कसैका आँखै थिएनन्
मलाई आश्चर्य लाग्यो
यी पनि कोही मरेका थिएनन !
सबै छटपटाइरहेका थिए
मानौ माटोको भार हट्नासाथ
सबै अब उठ्न चाहन्थे
ती मध्ये कुनै एउटाले
निकै नै सानो आवाजमा भन्यो
‘अन्धोयुग’मा हामी जुन राजाको बिरुध्द लड्यौं
उसलाई हामी चिन्दा पनि चिन्दैनथ्यौं
तर जुन राजाको लागि लड्यौं
उसको वारेमा पनि हामीलाई थाहै थिएन
विजयी र पराजित राजाहरू
दुवैले सन्धी गरे
र हामीलाई छोडेर गए
हामी हाम्रा परिवारको पर्खाईमा
अहिले पनि
मृत्युको प्रतिक्षा गरिरहेका छौं
के तिमी तिनीहरूलाई भेट्टाइदिन सक्छौ ?

म हैरान हैरान छु
यो सबै के भैरहेको छ
कतै यो कुनै दु:श्वप्न त होइन
अतीत यसरी कसरी जीउँदै छ !

मैले कोदालो मिल्काएँ
र हतास भएर समुद्रमा डुबुल्की मारें
जब सास रोकेर म
समुद्रको गहिराईमा पौडदै थिएँ
पिँधमा पुगें म
त्यहाँ पनि आश्चर्यले मलाई पछ्याउन छोडेन
मैले जे देखें- त्यो दृष्य डरलाग्दो थियो !
कल्पनाभन्दा धेरै टाढा !
समुद्रको पिँधमा
लाखौं कङ्कालहरू छरपस्ट थिए ….
तिनीहरूका हात खुट्टा मात्र बाँधिएका थिएनन्
तिनीहरु एक आपसमा पनि बाँधिएका थिए !

मलाई बुझ्न समय लागेन
पक्कै दास विद्रोहका कारणले
यिनीहरूको जहाज डुब्यो होला
मैले सोचें-
पानीभित्र त यिनीहरू पक्कै मरिसकेका होलान
तर म यहाँ पनि गलत थिएँ
नजिकै पुगेपछि मैले देखें
ती त हल्लिरहेका पो थिए
तिनीहरूलाई
समुद्रको लहरले हल्लाएको होला
या ती आफैं हल्लिएका होलान त !

थाहा छैन
तर मलाई देख्ने बित्तिकै
सानो तर एक स्वरमा सबै बोल्न थाले –
‘संकोफा, संकोफा…..’*
मैले बुझिहालें
यिनीहरू
मलाई सुदूर अतीतमा पठाएर
आफ्ना यातनादायी बन्धन चुँडाउन सकियोस भनेर
आफ्नो लागि केही माग्न चाहन्छन !
मुक्त भएर एक अर्कालाई अँगालो हाल्न चाहन्छन !
र आनन्दले मर्न चाहन्छन !

अब त मेरो सास रोकिनै लागेको थियो
मैले अतीतबाट बाहिर आउनै पर्यो
समुद्रको सतहमा आएर
लामो लामो सास फेरेर
म सोच्न थालें –
अतीत त यथार्थमा जीउँदै पो छ
सम्पूर्ण रुपमा जीउँदै !
ठीक हामीजस्तै
र त्यो पनि न्यायको पर्खाईमा छ
ठीक हामीजस्तै …..

अनु: बलराम तिमल्सिना

* संकोफा अफ्रिकी मुलुक घानामा बोलिने अकान भाषाको शब्द हो । यसको अर्थ फर्कनु, खोज्नु भन्ने हुन्छ ।