
काठमाडौं । भारतकाे झारखण्डमा सक्रिय प्रतिबन्धित माओवादी (नक्सलवादी) संगठन पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (पीएलएफआई) का प्रमुख दिनेश गोपलाई पक्राउ गरी प्रचण्ड नेतृत्वकाे सरकारले गाेप्य रुपमा भारत समक्ष सुपुर्दगी गरेको खुलासा भएकाे छ।
भारतीय विस्तारवादी शासकलाई खुशी पार्न आफ्नाे भारत भ्रमणअघि प्रचण्डले भारतका माओवादी नेतालाई पक्राउ गरी ‘सुपुर्दगी’ गरेका हुन् ।
स्राेतका अनुसार नेपाल प्रहरीको विशेष ब्युरोले विराटनगर आसपासबाट पक्राउ गरी गोपलाई जेठ ७ गते गोप्य रुपमा दिल्ली प्रहरीलाई बुझाएको थियो।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल जेठ १७ गतेबाट चार दिने भारत भ्रमणमा जाँदैछन्।
गोप खुन्ती जिल्ला झारखण्ड निवासी वरिष्ठ नक्सालवादी नेता थिए। उनी डेढ दशकदेखि भूमिगत थिए।
भारतीय सुरक्षाकर्मीले गोपलाई विगत १५ वर्षदेखि खोजिरहेको थियो। उनलाई पक्राउ गरि बुझाउनेलाई भारु ३० लाख दिइने घाेषणा समेत गरिएकाे थियाे । गोपलाई पक्राउपछि दिल्लीको ‘स्पेसल ब्युरो’लाई हस्तान्तरण गरिएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएकाे छ।
भारतीय सञ्चारमाध्यमहरु इन्डिया पोस्टको अंग्रेजी संस्करण र इस्ट कोस्ट दैनिकले गोप पक्राउको खबरलाई प्रमुखताका साथ स्थान दिएका छन्। केही भारतीय सञ्चारमाध्यमले गोप नेपालमा पक्राउ परेको जनाएका छन् भने केहीले नेपालको सीमानजिकै त केहीले भारतमै पक्राउ परेको खबरहरु प्रकाशन गरेका छन्।
भारतीय सर्वहारा श्रमजीवी वर्गका लागि बलिदानीपुर्ण संघर्ष गरिरहेका भारतीय माओवादी नेताहरुलाई यसरी पक्राउ गरि त्यहाँकाे फासिवादी सत्तालाई बुझाएर प्रचण्ड-नारायणकाजीहरुले अक्षम्य अपराध गरेकाे नेपालका माओवादी वृत्तमा टिप्पणी भइरहेकाे छ ।
