काठमाडौं/११ जेठ
भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचार, गैर नेपालीलाई नेपाली नागरिकता दिने सम्बन्धि विधेयक तथा राष्ट्रियता, जनतन्त्र र जनजिविकाका बिषयमा राष्ट्रिय क्रान्तिकारी माेर्चा, नेपालले यही जेठ १६ गते खबरदारी कार्यक्रम गर्ने भएको छ । साे कुरा अाज माेर्चाकाे कार्यालय बागबजारमा बसेकाे बैठकका निर्णय सार्वजनिक गर्न जारी गरिएको वक्तव्यमा जनाइएको छ ।

माेर्चाका संयाेजक नारायण प्रसाद शर्मा द्वारा जारी वक्तव्यमा भनिएकाे छ- “नेपाली जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भारतीय दवावमा चुरे क्षेत्रका गिट्टी-बालुवा बिक्रीको नीतिबाट तराई र देसलाई नै मरुभूमीकरण गर्ने जस्ता विभिन्न गम्भीर, संवेदनशील र ज्वलन्त समस्याहरुलाई लिएर संघर्ष गर्ने विषयमा व्यापक छलफल भयो । यसक्रममा मोर्चाका अवधारणा र आचारसंहितालाई थप प्रस्ट गर्दै जनतामा प्रस्तुत भएर मोर्चालाई थप सुदृढ र शक्तिशाली बनाउने निर्णय गरियो ।” साथै, वक्तव्यमा अगाडि भनिएकाे छ -“वर्तमानमा राज्यका उच्चपदस्थ नेतृत्व र व्यक्तित्वहरुबाटै गरे-गराइएको बहुआयामिक हिसाबले देस र जनताकै बेइज्जति गर्ने सर्वाधिक गम्भीर र लज्जास्पद भ्रस्टाचारजन्य कुकृत्यको रुपमा प्रकट भएको नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित मुद्दालाई लिएर सशक्त विरोध, भण्डाफोर र खबर्दारी गर्ने निर्णय भयो । बैठकमा यो मुद्दालाई सामान्य कीर्ते र ठगी मात्र नभएर आफ्नै देसका नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर विदेस (अमेरिका) मा बेचेर पैसा कुम्ल्याउने घोर देसद्रोह र मानवबेचविखनकारी महाअपराध भएको ठहर गर्दै यस्को व्यापक भण्डाफोर गर्ने, यसमा संलग्न गिरफ्तार गरिएका वा फरार रहेका, पोल परेका वा नपरेका, ठुला वा साना, सत्तापक्षका वा विपक्षका, देसका वा विदेसका जोसुकै र जस्तासुकै अपराधीहरुलाई पनि निस्पक्ष रुपमा तथ्य-प्रमाणका आधारमा अनुसन्धानको दायरामा ल्याई कानुनबमोजिम कडाभन्दाकडा कार्वाही गर्न-गराउनको लागि सरकारसँग जोडदार माग गर्ने पनि निर्णय गरियो”
माेर्चाले यदि याे मुद्दालाई सामसुम पार्ने खेल भयो भने त्यस अपराधका भागिदार स्वयं वर्तमान सरकार र प्रचण्ड हुने चेतावनी दिँदै भनेको छ-“यस मुद्दामा विभिन्न अवांछित प्रभाव र दवावमा परेर पक्षपात, आलटाल, ढिलासुस्ती आदि केही गरेर मुद्दामा संलग्न अपराधीहरुलाई ढाकछोप गर्ने, मुद्दालाई कमजोर पार्ने, शिथिल बनाउने र संलग्न राष्ट्रद्रोही भ्रष्टाचारी अपराधीलाई उम्काउने वा कम सजाय हुने गरे-गराएमा त्यसको सम्पूर्ण जिम्मा वर्तमान पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको गठबन्धन सरकार र यस दलाल पुँजीवादी राज्यव्यवस्थाका संचालकहरुले नै लिनुपर्ने छ र त्यसबापत जनकार्वाहीको निसाना पनि सम्बन्धित सबै बन्नुपर्ने कुराको हेक्का रहोस् भन्न समेत चाहन्छौं ।”
माेर्खचाले यही जेठ १६ गते दिउँसो २ बजे काठमाडौंकाे माइतीघर मण्डलामा खबर्दारी कार्यक्रम गरिने जनाउँदै उक्त कार्यक्रममा सहभागी हुन सबै राष्ट्रप्रेमी नागरिकलाई अाह्वान गरेको छ ।