
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पूर्व सांसद परि थापाले नेपालीहरुलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने मानव तस्करीको प्रकरणका मुख्य नाइके नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेको दावी गर्दै उनीहरुलाई पक्राउ गरी छानबिन गर्न माग गर्नुभएको छ ।

केपी ओली र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै नक्कली भुटानी शरणार्थी प्रकरण घटित भएको र उनीहरुको संलग्नताबिना गृहमन्त्री र सचिवहरुले मात्र यो कार्य गर्नै नसक्ने जिकिर गर्दै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणको साँच्चै छानिबिन प्रक्रिया अगाडि बढाउने र यसलाई टुंगोमा पु¥याउने हो भने ओली र देउवामाथि नै छानबिन हुनुपर्ने उहाँको दावी थियो । शरणार्थी प्रकरणमा अहिले पक्राउ परेका बालकृष्ण खाँड र टोपबहादुर रायमाझीलाई अन्तर्राष्ट्रिय जगतका लागि पनि देखाउनै पर्ने भएकाले मात्रै उनीहरुलाई पक्राउ गरी छानबिन अगाडि बढाएको बताउँदै थापाले यो प्रकरणलाई ढाकछोप गर्न बालुबाटारमा ओली, देउवा र दाहालबीच पटक पटक छलफल भएको पनि स्पष्ट पार्नुभयो ।
उहाँको दाबी थियो। “कुनै पनि देशमा राज्यसत्ताले ढाकछोप नगरेसम्म भ्रष्टाचार हुनै सक्दैन ।” नेता थापाले भन्नुभयो, “नेपालको सिंगो राज्य भ्रष्टाचारमा लिप्छ छ । भ्रष्टाचारका सबै शीर्षकमा संस्थागत भ्रष्टाचार छ । राजनीतिक पार्टीका शीर्ष भ्रष्ट नेतृत्व, कर्मचारीतन्त्रका शीर्ष भ्रष्ट नेतृत्व र दलाहरुका नाइकेहरुले मिलेमत्तोमा नेपालको सत्ता कब्जा गरेका छन् । सत्ता अपराधीकरणमा तीव्र अगाडि बढेको छ । अब कोल्याप्स हुन मात्र बाँकी छ ।”
उहाँले भन्नुभयो, “नेपाल जनसंख्याको हिसाबले विश्वको ४९ औं देश, भूगोलका हिसाबले ९० औं देश हो तर भ्रष्टाचारका हिसाबले १०७ औं देशमा पर्दछ । भ्रष्टाचार नेपालमा संस्थागत हुन पुगेको छ । राज्यका सम्पूर्ण अंगमा भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचार समाजमा पनि संस्कारगत रुपमा विकास भएको छ । भ्रष्टाचार संसदीय व्यवस्थाका शासकहरुको नियमित काम नै हो । भ्रष्टाचारका सम्पूर्ण शीर्षकमा भ्रष्टाचार हुने देश नेपाल नै हो । नेपालीहरुलाई विदेशमा बेचेर रोयल्टी खाने कामको थालनी राजा र राणाहरुले गरेका हुन् । नेपाली युवाहरुलाई नव श्रमदासको रुपमा विदेशमा बेचिएको छ । नेपाली चेलीहरुलाई यौन व्यवसायीको रुपमा बेचबिखन भइनै रहेको छ । हगिङ र किसिङ, डाइनिङ र वाइनिङ गरेर सत्तामा बसेकाहरुले देश बेची खाइरहेका छन् । भ्रष्टाचारीहरुको भरिएको भाँडो र भुँडी अब फुटाउने बेला आएको छ ।”
‘फालौ भ्रष्ट शासन यो– सरकार अब मजदुर किसानको’, ‘सिंहदरबार बालुवाटार– जताततै भ्रष्टाचार’, ‘भ्रष्टहरुको मूल घर– संसद भवन खाली गर’, ‘जनताको म्याण्डेट बोल– भ्रष्टहरुको फायल खोल’ जस्ता लयबद्ध नाराहरुका साथ माइतीघर मण्डलाबाट सुरु भएको क्रान्तिकारी मजदुरहरुको विरोध प्रदर्शन नयाँ बानेश्वर संसद भवन अगाडि पुगेर विरोध प्रदर्शनमा परिणत भएको थियो । भ्रष्टाचार र मानव तस्करहरुका विरुद्ध आयोजित विरोध ¥यालीको नेतृत्व मजदुर नेताहरुका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य परि थापाले गर्नुभएको थियो ।
विरोध ¥यालीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य परि थापा, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापा, उपाध्यक्ष इश्वर तिमिल्सिना लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
विरोध ¥यालीसहितको सभाको सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटीले गर्नुभएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषित नीति र निर्णय अनुसार भ्रष्टाचार र मानव तस्करीका विरुद्ध संघर्ष जारी छ । भोलि पनि क्रान्तिकारी मजदुरहरुकै आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन राखिएको छ ।