काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध दुई अखिल (क्रान्तिकारी)ले भ्रष्टाचारीहरु र मानव तस्करहरुलाई कडा भन्दा कडा कारबाहीको माग गर्दैै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको माफियाकरण तथा महंगी, बेथिति, भ्रष्टाचार, संगठित अपराध, मानव तस्करी, राष्ट्रघाती कदम विरुद्ध प्रदर्शन कार्यक्रम’ लेखिएको ब्यानर र प्लेकार्डसहित क्रान्तिकारी विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष विरेन्द्र शाहले भ्रष्टाचारी र मानव तस्करहरुका नाइकेहरुलाई बचाउन तीव्र चलखेल भइरहेको भन्दै नक्कली शरणार्थी प्रकरण लगायत भ्रष्टाचारमा संलग्न अपराधीहरुलाई कारबाही नगरेसम्म विरोध प्रदर्शनका कार्यक्रमलाई जारी राख्ने उद्घोष गरे ।
कार्यक्रमको सञ्चालन संगठनका महासचिव पेशल दाहालले गरेका थिए । विरोध प्रदर्शनको क्रममा विद्यार्थी नेताहरुले भ्रष्ट, दलाल सत्ता, व्यवस्था र शासकहरुका विरुद्ध चर्को नाराबाजी गरेका थिए ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकै घोषित कार्यक्रम अनुसार भोलि पनि अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गर्ने, त्यसपछिका दुई दिन मजदुरहरुले र त्यसपछि प्रदेशहरुमा केन्द्रित हुने गरी विरोध प्रदर्शनसहित सडक संघर्षको कार्यक्रम गरिने पनि विद्यार्थी नेताहरुले जानकारी दिए ।