सकुनकाेे नीद

सकुनकाेे नीद

साताको साहित्य : संस्मरण 

होटल मालिकका अनुसार कालीबाडी मन्दिर, मन्दिरमात्र नभएर धर्मशाला पनि थियो । धर्मशाला भएकै कारणले होटल मालिकले ममाथि दया गरेर बास बस्न पठाएका थिए । धर्मशालाका हर्ताकर्ता ब्रह्माण समुदायका नेपाली रहेछन् । कहाँ, के, कसो, कुनै कारण नसोधी उनले मेरो थरी सोधे । मैले थरी ढाटिन । आफ्नो जात वा थरी जे थियो वा रहेकोछ, त्यो सहिसलामत बताएँ । मेरो जातको अन्तिम शब्दप्रति उनी यति आगो भएकी “विश्वकर्मा भए त्यतै बिसाऊ” आदेशलाई कलात्मकता दिँदै सलाइको काँटी बालेर मैनबत्ती बाल्ने समेत जरुरत देखेनन् । उनीसँग विवाद गर्ने मेरो औकत पनि त थिएन । कुनै जवाफ नदिएर म फनक्क फर्किएँ र जताबाट आएको थिएँ त्यतैतिर लम्किन थालेँ ।

दार्शनिकरुपमा म कम्युनिष्ट पार्टीमा सामेल हुनुभन्दा पहिल्यैदेखि भगवानको काल्पनीकिबाट निकै टाढा पुगिसकेको थिएँ । गाउँघरमा हुने जातीय विभेद, पास्नी, बर्तबन्ध, पुजाआजामा खेप्नुपर्ने सामाजिक विभेदले मलाई धर्मविरुद्ध लाग्न बल मिलेको थियो । पछि कम्युनिष्ट पार्टीको संगतले मलाई धर्म संस्कृतिबारे नयाँ सोँच दियो । म धर्म मान्दिनथेँ । तर, सामाजिकरुपमा त्यसको विरोध पनि गर्दिनथेँ । तर, जुन दिन म धर्मशालामा बास पाइन त्यहि दिन देखि कट्टर नास्तिक बने । हिन्दु धर्म, हिन्दु मन्दिर र हिन्दु विधिविधानलाई मनैदेखि तिरस्कार गर्न थालेँ । जो आजसम्म जारी छ ।

यो परिघटना कुनै सिद्धहस्त कथाकारद्वारा लेखिएको कथाको पाना भन्दा कम मर्माहत छैन । नेपाली सिनेजगतले यस्ता किसिमका परिघटनाहरूलाई आफ्ना सिनेमाहरूमा नउर्तालान् । तर भारतीय सिनेमाहरूले मैले भोगेको घटनालाई क्यामराले कैद गरेजस्तो लाग्छ । परिवेशको भावनात्मकतालाई मैले भोगेको उमराङ्सोको पहिलो रातलाई कलासिनेमामा उतार्ने हो भने लाखौं उत्पीडित मान्छेहरूले हिन्दुधर्म त्याग गर्ने छन् । मन्दिरहरू भत्किने छन् र धर्म परिवर्तनको मिसाल कायम हुने छ ।

मन्दिरबाट ओरालो लागेपछि म होटल लिलीतर्फनै लम्किन थाँले । मेरो हिँडाई यति सुस्त थियोकी मुस्किलले म पाइला गनिरहेको थिएँ । होटेलमा अघि मैले भात खाँदाको बेलामा जुन हल्लीखल्ली थियो, फर्किदा पनि त्यस्तै थियो । व्यापारीहरूको मदिरामा बहकिएको आवाज बाटोसम्म सुनिन्थ्यो । होटल नजिक पुगिसक्दा मेरा पाइला झन् भारी भए । एकमनले सोँचेको यियो, काउण्टरमा गएर पुनः दुःख पोखुँ । तर मनले मानेन । होटलवालाले किन बास दिएनन् पण्डितले भनेर सोधेभने धर्मशालाका हेरालुले मलाई भनेको कुरो भन्नुपथ्र्यो । उनलाई यथार्थ खोल्नु भनेको जातकै कारणले बास दिएनन् भनेर बताउनु पर्ने हुनसक्थ्यो । यसबाट त होटलवालाको नजरमा पनि गिर्न सक्थेँ म । यो जातको अपमानको भारी कहाँ कहाँ बिसाउँदै हिड्नु ? मनले भन्यो— जे पर्लापर्ला होटलमा पसे यहाँ पनि जलिल होइने पक्का छ । बरु बाटैबाटो अगाडि बढ, कुनै न कुनै उपाय अवश्य लाग्ला ।

लिली होटलको सामान्य ओराले झर्दै म उमराङ्सो बजारको मुख्य चोक पार गरेँ । त्यहाँबाट पनि अगाडि बढ्दै गएँ । जाडोको बेला भएर होला वा बस्ती पातलो भएर पनि हुनसक्छ, बजार क्षेत्र सुनसान थियो । दोकान घरहरू छाप्राजस्तै थिए सो बेला । बाटो त झन् सुनसान थियो । म बजारको नापनक्सा, यसको बनोट, यहाँ बस्ने मानिसहरूको सामाजिकता, जनसाङ्खीक संमिश्रण आदि कुराबाट अनभिज्ञ थिएँ । रात झन् पछि झन् छिप्पिदै थियो र तापक्रमको पारा माइनस तिर झर्दै थियो । लिली होटलबाट तलझर्दा बायाँ हाततर्फ कुनै घर थिएनन् । बरु काँडेतार लगाएर सिमाना छुट्याएको प्रष्ट देखिन्थ्यो । बजार पस्ने पहिलो गल्ली पार गरेर दुईचार पाइला तल झरेपछि बायाँतर्फ लाग्ने फराकिलो पिचबाटो रहेछ । मेरा आँखा त्यहि पिचबाटो हुँदै परसम्म पुगे । केही पर लटरम्मै ससाना घरहरू देखिए । ती घरहरू देख्दैमा बुकुराजस्ता थिए । तर सबै घरहरूमा विजुलीबत्ती झिमिलाइरहेको थियो ।

सो बेला मेरो जुन अवस्था थियो, जुन मनोदशा थियो, त्यस मनोदशाको बारेमा आलेख तैयार गर्न लेखनीका शब्द नै छैनन् मसँग । आगतको कुनै परिकल्पना नगरौं, विगतका भोगाइहरूको पनि यहाँ दोहोराएर नलेखौं, तर देवदूतीय लामा बालाई नमन गर्दै त्यसपछि मैले कसरी रात गुजार्ने न्यानो सिरक प्राप्त गरेँ भन्ने बारेमा एक फरिस्तासँग भएको जम्का भेटबारे कुरो गरौं ।

उमराङ्सो बजार पस्ने मुख्य गल्ली पारगरेर म सुस्तसुस्त अगाडि बढिरहेको थिएँ । मलाई कुनै हतारो थिएन । त्यो मध्येरातमा मलाई जानु पो कहाँ थियो र छिटो हिँडेर ? बरु जति सुस्तरी हिड्यो, त्यति त्यति अर्कोदिनको बिहानको समय छोट्टिदै जान्थ्यो । जब दोस्रो गल्ली पारगरेर केहि अगाडि बढ्दै थिएँ, मेरो अगाडिबाट एकजना मान्छे आइरहेको देखेँ । कालीबाडी धर्मशालाबाट अपमानित भएर हिँडेपछि उनी नै मैले देखेका पहिलो ब्यक्ति थिए । मनमनै सोँचे, कुनै उपाय लगाइदेलान् यिनले । जब उनी मलाई बायाँ परेर पार हुँदैथिए हिम्मत जुराएर नमस्कार टक्र्याउदै बिन्ती बिसाएँ— यता बास बस्ने अरु कुनै होटल पाइला र हजुर ?

मैले उनी नेपाली हुन् भन्ने ठम्याउन सकेको थिइन । ठम्याउने पनि कसरी ? दिनको समय भएको भए, नेपालीलाई जहाँ भेटेपनि चिन्न सकिन्छ । त्यो त रातको बेला थियो । तर, उनले म नेपाली हुँ भन्ने कुराको भेउ पाइसकेका रहेछन्, टक्क रोकिएर नेपाली भाषामा प्रतिप्रश्न गरे—अगाडि होटेल छैनन् । उताबाट आउँदा दाहिना तिर होटेल थियो नी । त्यहाँ पसेनौ र ?
उनी नेपाली रहेछन् । यसमानेमा म आधा मनले ढुक्क भएँ । तर जब उनले होटलको कुरो सोधे, त्यो बेला फेरि मेरो मनले हंस छोड्यो । सबै कुरो बताउँदा यिनी पनि धर्मशालाका हेरालुजस्तै ठहरिए भने मेरो के हाल होला ? मेरो थरजात थाहा पाएपछि यिनलेपनि “हिँड्दै गर बाटोमा” भनेर कटु जवाफ दिए भने के गर्ने ? त्यो निमेषभरमा ब्रह्माण्ड घुम्यो मेरो दिमागमा । तर जे पर्ला पर्ला अन्तिममा हिम्मत जुटाएर उनको प्रश्नको उत्तर दिएँ— होटेलमा खाना खाएँ । त्यहाँ कोठा रहेनछन् आज । होटेल मालिकले कालीबाडी धर्मशालामा बास पाइन्छ भन्दै पठाए । त्यहाँ मैले बास पाइन ।

ती मान्छे दयालु रहेछन् । मसँग केहीबेर उभिएरै संबाद गरे । केही चासो लिएजस्तो तरिकाले उनले पुनः प्रश्न गरे— धर्मशालामा किन पास पाइएन त ? त्यहाँ त बिपतको बेलामा मान्छेहरू बस्ने गर्छन् । मेरो कुरो सुन्न उनी उभिएका थिए । यिनी गतिला मान्छे रहेछन्, मैले मनमनै अड्कल काट्दै कुरो लुकाइन खुलस्त भने— हजुर के थर हो कुन्नी ? म विश्वकर्मा हुम् । धर्मशालाको हेरालु मान्छे बाहुन रैचन सायद । होटेल साहुले अह्राए जसरी म कालीबाडी पुगेर बास मागेको दिएँ । मन्दिरमा बत्ती थिएन । अध्यारो थियो चारैतिर । टुकी बाल्न सलाइ खोज्दै उनले मेरो जात सोधे । प्रदेशमा पनि के को भेदभाव होला र भनेर मैले जात ढाँटिन । उनलाई खुलस्त बताएँ । उनले भित्र जहानसँग केहीबेर गन्थन गरेर ढोकाबन्द गर्दै “ए ! त्यसोभए त्यँै बिसाउ” भन्दै ढोका बन्द गरेर चुपचाप भए । म मन्दिरबाट ओर्लिएर बाटैबाटो हिँडिरहेको छु ।

उनी मेरो झन् नजिक आए । नजिक आएर मन्दिरबारे, धर्मशालाबारे, हेरालु बारे कुनै कुरो गरेनन्, बरु पहाड घर कहाँ हो ? नयाँ प्रश्न गरे ।

गुल्मी, मैले एकशब्दे उत्तर दिएँ । गुल्मी काँ ? तम्घास नजिक भाडगाउँ । यहाँ किन आएका हौ ? कामको खोजीमा । चिनेजानेको कोही छ याँ ? कोही छैन । यसरी नचिनेको नजानेको ठाममा राताविरात आउने हो त ? ल हिँड मसँग । कुनै थातथलो नभएको एक मुसाफिर थिएँ म । उमेरले पनि उनी मभन्दा जेठा देखिन्थे । त्यसैले पनि उनलाई सम्बोधनको क्रममा मलाई तिमी भन्ने पूर्णाधिकार थियो । सम्बोधनको भाषा जेजस्तो होस्, उनी मेरा अर्को देवदूतीय फरिस्ता बनेर टुपुक्क मेरो अगाडि पदार्पण गरेर मृतप्रायः भइसकेको मेरो शरीरमा संजीवनीको लेपन लगाए ।

त्यो क्षेण, त्यो परिवेश, ती फरिस्तासँगको सम्बादको वर्णन गर्न सक्ने कुनै शब्दभण्डारा छैन मसँग । स्वयम् मआफैलाई यी लेखकीय हरफहरू कापीमा उतार्दा हात काँप्छन् । दिमाग सुन्य हुन्छ र कोमामा पुगेजस्तो भान हुन्छ । ती फरिस्ताले मलाई आफूसँगै आउन आदेश गरे । उनको आदेशलाई शिरोपर गर्दै म अघि मैले वर्णन गरेको पारीपट्टी देखिने झोपडीजस्ता घरको बाटो नाप्न थालेँ । जति नजिक गयो ती झोपडीहरू ठूला हुँदै गए र टिनको छानासहितको सिमेण्टले लेपन गरेका आसामटाइप घरहरूमा परिणत भए । बाटोमा उनले मेरो बारेमा धेरै कुरो सोधेर निधिखुदीँ गरेनन् । मेरो जात थर थाहा पाइसकेका थिए । कामको खोजीमा कसैले पठाएर आएको कुरो भने उनलाई सुनाएँ । वेदुदाइ, प्रेम लामादाइ र तीलक क्षेत्रीको बारेमा उनीसँग सोध्नु अलि ठूलोकुरो हुनजान्थ्यो । त्यसैले त्यस बारेमा केही बताइन ।

उनले आफ्नो बारेमा थोरै कुरो भने । आफ्नो घर अर्घाखाँची भएको कुरो बताएँ । अर्धाखाँची सुन्दैमा म आफुलाई उनीसँग केही नजिक भएको महशुस गरेँ । आफु नेप्को कम्पनीको सरकारी कर्मचारी भएको कुरो गर्दै परिवार पहाड गएकोले पाहुना सुत्न कुनै समस्या नरहेको बताए ।

यी मेरा जीवनमा अवतरित् देवदूतीय अवतारहरूमध्येका अर्का देवदूत थिए । मिथकीय कुरो गर्ने हो भने, प्रारब्धले मलाई पुषमाघको त्यो जाडोमा कठ्याङ्ग्रीएर मर्नबाट बचाउन उनलाई फरिस्ता बनाएर त्यो मध्यरातमा म जिइरहेको, तड्पीरहेको, बाटो बिराएर भड्कीरहेको नर्कलोकमा पठाएका थिए । उनको पछि लागेर नेप्को क्वाटरमा पुँगे म । कोठामा पुग्नासाथ उनले बिजुलीवाला हिटर जलाए । थर्मसमा रहेको एक गिलास तातेपानी टक्रयाए । तातोपानी पिइसकेपछि सुत्नेकोठा देखाउँदै भने— अब सुत भाइ, निद लाग्यो होला । भोलि बात मारौंला ।
धर्म, जात, भात, रीति, परम्परा र सामाजिक मूर्दान्यायले सिर्जना गरेका सारा मनका दुःख, पीडा, घृणा, तिरस्कार र अपहेलनालाई बिर्सेर न्यानो कपासको सिरकमा लुटुपुटु भएँ म । मध्यरातमा प्राप्तभएको त्यो सुकुन, माया र अपनत्वको गरुङ्गो भारीलाई आजसम्म बोकिरहेको छु र जीवनको अन्त्यसम्म बोकेरै हिँड्ने छु ।
बैशाख ५, २०८०
बुटवल ।