पठन संस्कृति ः प्रतिभा हुनेखानेकै अधिनमा छ

पठन संस्कृति ः प्रतिभा हुनेखानेकै अधिनमा छ

 
साताको साहित्य : निबन्ध 

अध्ययन, अनुसन्धान र सिर्जनामा आर्थिक अवस्थाले प्रभाव पार्दैन ? विशेष गरी नेपालको औपचारिक शिक्षा प्रणाली खोजमूलकभन्दा पनि पास गर्नेमा केन्द्रित छ । अनौपचारिक अध्ययन, अनुसन्धान तथा सिर्जनाको बारेमा यहाँ प्रसङ्ग उठाइएको छ । पुस्तक पढ्न, अध्ययन गर्न, तथा सिर्जना गर्न ज्ञान र साधना दुवै आवश्यक छ ।

एउटा सम्पन्न मान्छे जो आर्थिक सङ्कटको तनावमा परेको छैन र उसको पारिवारिक जोहोका लागि कुनै पनि झमेला गर्नु पर्दैन उसले अध्ययन, अनुसन्धान र सिर्जनालाई आर्थिकसँग जोड्दैन बरु समयसँग जोड्छ । समय व्यवस्थापन गर्न सके अध्ययनमा आर्थिक प्रभाव नपर्ने तर्क राख्न सक्छ । तर आर्थिक सङ्कटले अध्ययन अनुसन्धान र सिर्जनामा तनावमा परेको मान्छेको मानसिकता र समय दुबैमा प्रभाव पार्छ र अध्ययन, अनुसन्धान र सिर्जनामा बाधा उत्पन्न गर्छ । भएको प्रतिभा, रुचि र खोज नै हराएर जान्छ ।
पाश्चात्य मुलुकका धेरैजस्तो अध्ययन, अनुसन्धान तथा स्रष्टाहरू प्रायः मालिकहरू थिए या त सत्ताबाट सुविधा प्राप्त गरेका थिए । उनीहरू नोकरचाकर घरमा राख्थे र आफ्नो परिवारको खानपान, जिविकोपार्जनका लागि चाहिने अत्यावश्यक वस्तुको उत्पादन नोकर चाकर तथा दासहरूबाटै जुटाउने गर्थे । जिविकोपार्जका लागि कुनै तनाव नभएका कतिपय मालिकहरू बोद्धिक विलासिताका लागि अध्ययन गर्थे त कतिपय चर्चाका लागि । राजाहरूले आनन्दका लागि समेत नयाँ र अनौठा लाग्ने चिजहरूको सिर्जना गर्ने गर्थे । कतिपय त अनुसन्धानकै लागि पनि अध्ययन गर्ने गर्थे । पादरी तथा खोजकर्ताहरू विभिन्न देशको भ्रमण समेत गर्ने गर्थे । कतिपय राजा महाराजा, सामन्त तथा मामलिकहरू चर्चित बन्नकै लागि दास तथा नोकरहरूलाई प्रयोगमा ल्याएर नयाँ चिजको निर्माण गर्थे । नयाँ नयाँ परिकल्पना गर्थे र प्रयोगमा ल्याउँथे । जसका कारण नयाँ नयाँ शौखिन तथा बिलासी चिज बन्थे त्यसका साथमा थुप्रै वैज्ञानिक आविष्कार पनि हुने गर्थे । नयाँ चिज बनाउन वा सिर्जना गर्न जनशक्ति पनि चाहिन्थ्यो । त्यतिबेला राजा महाराजा तथा दास मालिकहरूले प्रायः आफ्ना दासहरू, मृत्युदण्डको सजाय पाएका कैदीहरू तथा युद्धमा हारेका युद्धबन्दीहरूलाई त्यस्ता खतरनाक एवम् जोखिमपूर्ण कार्यमा झोसिदिन्थे । बाँचेर फर्किएमा मुक्त हुने आश्वासन उनीहरूलाई दिइएको हुन्थ्यो । अध्ययन अनुसन्धान र सिर्जनामा दासहरू प्रतिबन्धित हुन्थे । इतिहासका यी तथ्यहरूबाट प्रष्ट छ कि प्राचीनकालमा अध्ययन अनुसन्धान र सिर्जना केवल सम्भ्रान्त वर्गमा केन्द्रित थियो ।
के वर्तमान समयमा अध्ययन अनुसन्धान तथा सिर्जना गरिबसम्म पुगेको छ त ? हुनत हामीले प्राचीनकालको जस्तो अवस्था भोग्नु परेको छैन र त्यतिबेलाको जस्तो प्रतिबन्ध पनि छैन तर पनि अध्ययन अनुसन्धान र सिर्जनामा आर्थिक प्रभाव भने कायमै भएको छ । गरिब तथा विपन्न वर्गको मान्छेले अध्ययन, अनुसन्धान र सिर्जनामा आफ्नो पहुँच जमाउन सकेको छैन । त्यतिबेलाका बुर्जुवा वर्ग अहिले नव धनाढ्य वर्ग र सम्पन्न वर्ग बनेर देखा परेको छ । नेपालमा पनि वर्तमान समयमा समेत प्रायः प्राज्ञिक क्षेत्र र अध्ययन अनुसन्धान तथा सिर्जनाको क्षेत्रमा खोज्यो भने नियमित आम्दानीको स्रोत भएकाहरू नै देखिन्छन् । नेपालमा अध्ययन अनुसन्धान र सिर्जनामा लाग्नेहरू प्रायः प्रशस्त नियमित आयस्रोत हुने, जागिरे, प्राध्यापक, पेन्सन पकाएका पूर्व कर्मचारी तथा अन्य निकायका व्यक्तिहरू नै बढी छन् । त्यसपछि बाँकी रहेकाहरू पनि छोराछोरी वा नातापाता विदेश गएकाहरू देखिन्छन् । पुख्यौँली सम्पत्तिवालाहरू पनि फाट्टफुट्ट देखिन्छन् ।
अध्ययन, अनुसन्धान तथा सिर्जनामा आयस्रोत नहुने विपन्न वर्गको पहुँच अत्यन्त कठिन छ । त्यो विगतका दिनमा पनि थियो र वर्तमानमा पनि यथावत छ । वर्तमान समयमा पनि अध्ययन, अनुसन्धान र सिर्जनामा विपन्न वर्गको उपस्थिति अत्यन्त न्युन पाइन्छ । कहीँ कतै उपस्थिति देखिए पनि नेतृत्वसम्म पुग्न सकेको देखिन्न र निरन्तरता पनि देखिन्न । एकाध अपवादमा नपर्ने होइन तर पनि गरिब तथा श्रमिक वर्ग अध्ययन अनुसन्धान र सिर्जनामा लागेको पाइन्न । निम्न वर्गबाट प्रतिभाहरूको प्रस्फुटन कहिले होला ? निम्न वर्गको भएकै कारण प्रतिभाशालीहरू हराएर जाने, उठ्नै नसक्ने अर्थात उनीहरूले आफ्नो मेधावी जिन्दगी खेर फाल्नुपर्ने कहिलेसम्म ?
 एउटा गरिब र श्रमजीवि व्यक्तिमा पनि अध्ययन, अनुसन्धान र सिर्जना गर्ने इच्छा र क्षमता हुन्छ । रहर र प्रतिभा पनि हुन्छ । तर पनि उसले यी सबै गर्दैन । उसमा बाधा उत्पन्न हुन्छ । ती मध्ये धेरै जसो बाधा आर्थिकसँगै जोडिन पुग्छन् ।
 अध्ययन, अनुसन्धान र सिर्जनाका लागि ज्ञान हुनु आवश्यक छ । सर्वप्रथम त ऊ ज्ञान प्राप्त गर्नबाटै बन्चित हुन्छ । महङ्गो तथा वर्गीय शिक्षा प्रणाली उसको अध्ययनको बाधक बन्छ । दोस्रो कुरा आवश्यक सामग्री सङ्कलन गर्न सक्दैन । उसका लागि परिवार सहित आफ्नो खाना लुगालत्ता आदि जीवन बाँच्ने आधारभूत आवश्यकता प्राथमिकतामा पर्छन् सामग्री सङ्कलन होइन । दैनिक ज्यालादारी गरेर परिवारसहित आफ्नो पेट भर्नेले आफ्नो आम्दानी जीवन निर्वाहको लागि लगाउनुपर्छ । त्यसैगरी दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेका लागि एकदिन पनि महत्वपूर्ण हुन्छ । दिनभर श्रम गरेर साँझविहानको छाक जुटाउनेले काम छोडेर खर्च गरेर कार्यक्रमहरूमा जान सक्दैन न त बसेर अध्ययन नै गर्न सक्छ ।
 अर्को बाधा हो समय व्यवस्थापनको । समय व्यवस्थापनगर्नलाई पनि आयस्रोतको आवश्यकता जरुरत पर्छ । अध्ययनका लागि समय अवश्य चाहिन्छ । समय व्यवस्थापन गर्नका लागि श्रमिकले काम छोड्नुपर्ने हुन्छ । काम छोड्यो भने आयस्रोत बन्द हुन्छ । आयस्रोत बन्द भयो भने आर्थिक समस्याले घेर्छ र यसको पविारसमेत प्रभावित हुन्छ ।
 अर्को बाधा हो तनाव । मान्छेका इच्छा, लक्ष्य, उद्देश्यमा बाधा उत्पन्न भयो भने तनाव उत्पन्न हुन्छ । तनावले सिर्जनात्मक सोँचमा निकै बाधा उत्पन्न गर्छ । तनावको कारण व्यक्तिपिच्छे फरक हुनसक्छन् तथापि आर्थिक पाटो पनि तनावको कारण हो । अध्ययन अनुसन्धान एवम सिर्जनामा रुचि र क्षमता हुँदा हुँदै पनि आर्थिक अभावका कारण व्यक्ति पलायन भइरहेको हुन्छ । जसलाई पेट भर्नेको समस्या छ, परिवार पाल्ने समस्या छ उसको मानसिकता र सोँच नै साँझ विहानको छाक कसरी टार्ने भन्नेमा केन्द्रित हुन्छ । न उसको अध्ययनमा ध्यान जान्छ न सिर्जनामा । उसले अध्ययन र सिर्जनालाई निकै पर राख्छ र दैनिक पारिवारिक खानपान, लुगाफाटोलाई प्राथमिकतामा राख्ने गर्छ । उसको जिन्दगी यसैमा बित्छ र एउटा प्रतिभा पलायन भएर जान्छ । सारा क्षमता मरेर जान्छन् । विपन्न वर्गको प्रतिभा हराएर जान्छ । फेरि पनि नियमित आम्दानी हुने सम्पन्न वर्गकै हातमा अध्ययन, अनुसन्धान र सिर्जनाको सत्ता पर्नजान्छ । अध्ययन अनुसन्धान र सिर्जनामा हुनेखाने वर्गकै वर्चश्व रहन्छ । उनै पैसावाला अगाडि देखिन्छन् ।