४ बर्षदेखि मिटरब्याजीले लगाएको ताला फोडेर घरमा पसे पीडितहरु

४ बर्षदेखि मिटरब्याजीले लगाएको ताला फोडेर घरमा पसे पीडितहरु

काठमाडौं । सर्लाहीको हरिपुरमा मिटरब्याजी सुदखोरले चार वर्षदेखि कब्जा गरेको घरमा ताला फोडेर पीडित परिवार प्रवेश गरेका छन् । सदरमुकाम मलंगवाका सुदखोर रामस्वरुप रायले कब्जा गरेर अर्कै व्यक्तिलाई बिक्री गरेको घरमा ताला फोडेर सोमबार दिउँसो पीडित परिवार घरभित्र प्रवेश गरेका हुन् । मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीको पहलमा पीडित परिवारलाई घरभित्र प्रवेश गराइएको संघर्ष समितिकी मधेश प्रदेश संयोजक सरस्वती मिश्रले जानकारी दिइन्।

ऋण नतिरेको भन्दै सुदखोर रायले हरिपुर ५ मजुरवाकी जमिला खातुनको घर चार वर्षअघि नै कब्जा गरेका थिए। खातुनसँग कब्जा गरेको घर रायले स्थानीय कलिम अन्सारीलाई २० लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ। मिश्रका अनुसार केही वर्षअघि खातुनले घरायसी प्रयोजनका लागि रायसँग दुई लाख रुपैयाँ ऋण लिएकी थिइन्। दुई लाख रुपैयाँ ऋण दिँदा रायले ८ लाखको कागज बनाएका थिए।

खातुन परिवारले त्यतिबेलै रायलाई ५० हजार रुपैयाँ बुझाइसकेका थिए। तर, रायले ८ लाख ऋण लिएको फर्जी कागजको बलमा खातुनको चारकोठे पक्की घर र ११ धुर जमिन कब्जा गरेर अर्कै व्यक्तिलाई २० लाख रुपैयाँमा बेचेपछि संघर्ष समितिले पीडितलाई न्याय दिन पहल गरेको मिश्रको भनाइ छ।

सोमबार दिउँसो ठूलो समूहमा गएका महिलाहरुले घरको ताला फोडेर खातुन परिवारलाई आफ्नो घरमा प्रवेश गराएका हुन्। पीडित पक्षको अगुवाइ संघर्ष समितिकी प्रदेश संयोजक मिश्र र सर्लाही जिल्ला संयोजक रुक्मिणी चौधरीले गरेका थिए।

घरको ताला फोडेर मिटरब्याज पीडित खातुन परिवारलाई घरभित्र प्रवेश गराउने क्रममा सामान्य झडपसमेत भएको थियो। त्यस क्रममा अन्सारी परिवारलाई घरबाट निकालेर खातुन परिवारले आफ्ना सामान घरभित्र राखेको छ। आफ्ना सामान राखेपछि खातुन परिवारले घरको मूल ढोकामा ताला लगाएका छन्।

अहिले पीडित पक्ष र घर किन्ने दुवै परिवारका सामान एउटै घरमा रहेको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए।

‘अब मिटरब्याजी राय, घरधनी पीडित परिवार र घर किन्ने तीनै पक्षलाई एकठाउँमा राखेर हामी छलफल गर्ने प्रहरीले जनाएको छ । ऋण नतिरेको भन्दै रायले खातुनको घर कब्जा गरेपछि पीडित परिवारले त्यतिबेलै न्यायको लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए। तर, स्थानीय प्रशासनले पनि यस विषयमा ठोस निर्णय नगर्दा पीडितले न्याय पाउन सकेका छैनन्। आफूले दुःख गरेर जोडेको घर घडेरी साहुले खाइदिएपछि खातुन परिवार ऐलानी जमिनमा झुपडी बनाएर बसिरहेको छ।