काठमाडौं । ‘भ्रष्ट व्यवस्था, भ्रष्टाचार र भुटानी शरणार्थी प्रकरणका मानव तस्कर विरुद्ध आयोजित संयुक्त मजदुर मार्च’ कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता दिनेश शर्माले नेपाली युवालाई विदेशमा बेचीखाने यो भ्रष्ट संसदीय व्यवस्थालाई धुलो चटाएरै छाड्ने चेतावनी दिनुभएको छ ।

सोमबार माइतीघर मण्डलामा आयोजित संयुक्त मजदुर मार्चलाई सम्बोधन गर्दै नेता शर्माले वैधानिक रुपमा नेपाली युवाहरुलाई विदेशमा बेचेर उनीहरुको पसिना र रगत पिएर बाँचिरहेको यो संसदीय व्यवस्था, नेपालीलाई भुटानी शरणार्थी बनाएर मानव तस्करी गर्ने तस्करहरुको यो व्यवस्थाको अन्त्य अब अपरिहार्य बनेको भन्दै दशवर्षसम्म जनयुद्ध लडेर अढाई सयवर्षको शाही सत्तालाई फाले जस्तै भ्रष्ट, नालायक, जनविरोधी र राष्ट्रविरोधी संसदीय व्यवस्थालाई ढालेरै छाड्ने उद्घोष गर्नुभयो ।

यो कथित लोकतान्त्रिक गणतन्त्र मजदुर किसान, शोषित, दलित, महिला, मधेसी, आदिवासी जनजाति, पिछडिएको क्षेत्रको गणतन्त्र नभएको भन्दै उहाँले अब यो कथित लोकतान्त्रिक गणतन्त्रलाई फालेर यो देशमा जनताको गणतन्त्र ‘संघीय जनगणतन्त्र’ ल्याउनु पर्ने अनिवार्य भएकोमा जोड दिनुभयो ।

उहाँले अहिले एक दुई जना भ्रष्ट नेताहरुलाई पक्राउ गरेर अरुलाई चोख्याउने र शरणार्थी प्रकरण लगायत सयौं काण्डमा संलग्न अपराधीहरुलाई बचाउन चौडधूप चलिरहेको भन्दै सबै भ्रष्टाचारीहरुलाई कारबाही नगरे अब जनताले उनीहरुलाई सिंहदरबार र संसद भवनबाट थुतेर सडकमा पछार्ने दिन आउने चेतावनी पनि दिनुभयो ।

उहाँले भन्नुभयो, “अब यो देशका मजदुर, किसान, शोषित उत्पीडित वर्ग र समुदाय मिलेर यो भ्रष्ट संसदीय व्यवस्थाको अन्त्य गर्छौं र जनताको नयाँ जनवादी गणतन्त्र स्थापित गर्छौं । भ्रष्ट श्रमचोरहरुलाई लखेटेर मजदुर किसानको सत्ता स्थापित गर्छौं ।”

कार्यक्रम दुईवटा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र क्रान्तिकारी ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा मजदुर नेताहरु बसन्त बोगटी, राजन तिमिल्सिना, विनोद तिमिल्सिना लगायतले पनि भ्रष्ट संसदीय व्यवस्थाका विरुद्ध आक्रोश पोख्दै जनताको नयाँ जनवादी व्यवस्थाको आवश्यकतामा जोड दिनुभएको थियो ।
माइतीघर मण्डलाबाट सुरु भएको संयुक्त मजदुर मार्च नयाँ बानेश्वरमा पुगेर विरोधसभामा परिणत भएको थियो ।






























