पाख्रीबास हत्याकाण्डका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

पाख्रीबास हत्याकाण्डका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

चितवन । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको आयोजनामा २०६१ साल जेठ ३१ गते तत्कालीन नेपाली शाही सेनाले हत्या गरेका पाख्रीबास हत्याकाण्डका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। उक्त घटनामा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का ऋषि रेग्मी, राम बहादुर खड्का, मनोज चौधरी लगायतका पाँच जनालाई सेनाले कब्जामा लिएर र खाल्डो खन्न लगाइ जघन्य हत्या गरेको र खाल्डोमा पुरेको थियो।

श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय कार्यालय सदस्य गुणराज लोहनी, अतिथिहरु उक्त पार्टीको केन्द्रीय सचिवालय सदस्य एवं वाग्मती प्रदेश व्यूरो ईन्चार्ज चन्द्रहरि सुबेदी अटल, उक्त घटनामा बाँच्न सफल जिउँदा शहीदद्वय केन्द्रीय सल्लाहकार किसान नेता भूमिश्वर कँडेल, रामचन्द्र पाठक (माओवादी केन्द्रका सदस्य), स्थानीय कुलो समितिका अध्यक्ष गजेन्द्र चौधरी रहेका थिए।

कार्यक्रममा साहित्यकार मोदनाथ मरहठ्ठा र इश्वरी ओझाले शहिदको स्मृतिमा कविता वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य घननाथ सापकोटा विकास र कार्यक्रमको अध्यक्षता केन्द्रीय सचिवालय सदस्य विश्वनाथ चौधरी महेशले गरेका थिए।