
साताको कविता
***
भ्रष्टाचार बिरुद्धका कदम ती कैल्यै नकामून् जुधून्
जाली, घातक भ्रष्टका नजर ती भै पट्ट चाँडै फुटून्
आमा दुर्जन-जन्मले व्यथित भै छन् अश्रुधारा कति
पारे शङ्कट धुर्तले र यसरी हाम्राे गरे दुर्गति
छन् सारा जनता बिरुद्ध यिनका दिन्छन् भराेसा सदा
ज्यादै पीडित छन् परिश्रम गरी भाेका र नाङ्गा छँदा
गर्छन् जाल र झेल दुर्जनहरू चल्खेल गर्छन् अति
यिन्का जाल र झेल चट्चट गरी काटून् सुधारी मति

“भ्रष्टाचार म कत्ति गर्दिन” भनी भन्छन् नि सन्तै सरी
हिड्छन् लाज पचाउदै नकचरा त्याे नाक ठाडाे गरी
न्वाएझैँ दुधले सदा छल गरी आमा रुवाईरहे
हिड्ने चप्पल ती भिरेर कसरी सम्भ्रान्त ऐले भए
गर्ने बज्र प्रहार भ्रष्ट-शिरमा बेला छ याे उत्तम
दिन्छन् साथ सदा डटेर जनता वर्षा बनी झम्झम
यस्ताे दुर्गति देश याे अधमराे जस्ले बनाए चुसी
हानी डङ्डङ माथमा शिर चढी खेल्नै पर्याे बुर्कुसी
लड्दै युद्ध अनेक जीवन जले उत्सर्ग धेरै भए
वैरी उग्र भएर ती रगतका खाेला अनेकौँ बहे
छैनन् जीवन यी सपाट किन हाे भाेका र नाङ्गा अझै
के भाे खै गणतन्त्र याे मुलुकमा आएर फुर्क्याउदै ?