
कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गको मुक्तिको लागि काम गर्ने पार्टी हो । सर्वहारा वर्ग भनेको माक्र्सको व्याख्यामा सामन्तवादी व्यवस्थाको अन्तसँगै पुँजीपति वर्गसँगै जन्मिएको अर्को तर पुँजीपतिवर्गकै विरूद्ध जाइलाग्ने वर्ग हो । किनभने सामन्तवादी व्यवस्थाको अन्तपछि संसारमा कि त पुँजीपति वर्गको राज्यसत्ता हुन्छ कि त सर्वहारा वर्गको ।
माक्र्सले समाज विकासको व्याख्या गर्ने क्रममा भन्नु भएको छ “सामन्तवादी व्यवस्थाको अन्त्यसँगै दुईवटा वर्गहरू पुँजीपति वर्ग र सर्वहारा वर्गको जन्म हुन्छ । तर, पुँजीपति वर्गसँग राज्यको शक्ति जसलाई राज्यसत्ता भनिन्छ, उत्पादनका साधन र पुँजी हुन्छ भने सर्वहारा वर्गसँग केवल श्रम मात्रै रहन्छ । यहि श्रम उसले पुँजीपति वर्गलाई बिक्री गरेर आफ्नो जीविका चलाउँछ । सर्वहारा वर्गले श्रम गरे पनि उसको आर्थिक हालत कमजोर रहने तर पुँजीपति वर्गले श्रम नगरिकन नै आर्थिक सम्पन्नताको शिखरतर्फ लम्किरहने हुन्छ । यो हुनुको पछाडि पुँजीपति वर्गसँग राज्यसत्ता, उत्पादनका साधन र पुँजी हुनु हो । त्यसकारण सर्वहारा वर्गले आफ्नो वर्गको ंमुक्तिको लागि पुँजीपति वर्गसँग भएको राज्यसत्ता, उत्पादनका साधन र पुँजी खोसेर आफ्नो अधीनमा ल्याउनु पर्छ ।”
अहिलेसम्मको विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा वर्गले आफ्नो वर्गको मुक्तिको लागि पुँजीपति वर्गसँग भएको राज्यसत्ता, उत्पादनका साधन र पुँजी खोसेर आफ्नो अधीनमा ल्याएका अनगिन्ति उदाहरणहरू छन् । साथै क्रान्तिद्धारा पुँजीपति वर्गसँग भएको राज्यसत्ता, उत्पादनका साधन र पुँजी खोसेर आफ्नो एक्लौटी अधीनमा ल्याउन नसकेका तर सामन्तवादको अन्त्यको लागि पुँजीपति वर्गसँग सहकार्य गरेर पुँजीवादी व्यवस्थाअन्तर्गत आमश्रमजीविको हितमा सुधारवादी खालको राज्यसत्ता सञ्चालन गर्ने प्रयास गरिरहेका उदाहरणहरू पनि प्रसस्त छन् र यो पछिल्लो प्रयास नेपालको सन्दर्भमा कार्यान्वयन गर्न खोजिएको छ । जहाँसम्म पुँजीपति वर्गसँग सामन्तवादको अन्त्यको लागि सहकार्यको सवाल छ, सिद्धान्तत: त्यो सही छ । तर पनि सर्वहारा वर्गको वास्तविक मुक्तिका लागि पुँजीपति वर्गसँग भएको राज्यसत्ता, उत्पादनका साधन र पुँजी खोसेर सर्वहारा वर्गले आफ्नो अधीनमा ल्याउनैपर्छ, त्यो बाहेक उसको लागि अर्को विकल्प छदैछैन् । अन्य विकल्प भनेका सर्वहारा वर्गका लागि सबै भ्रम मात्रै हुन ।
माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओले सर्वहारा वर्गको राज्य सत्ताबारे जे व्याख्या गनु भयो र त्यस दौरानमा जेजस्ता उपलव्धिहरू उहाँहरूले प्राप्त गर्नु भएको थियो, त्यसका आधारमा सञ्चालित राज्यसत्ताको अस्तित्व वर्तमान विश्वमा छैन् । विश्वको पहिलो समाजवादी देश सोभियत संघ १९८९मा पुगेर भङ्ग भयो ? चीनले सन १९७८ मा नै राज्यको आर्थिक नियन्त्रणहरूमाथिको अधिकारलाई खुकुलो पार्दै त्याहाँ पुँजीपति वर्गको राज्यसत्ता पुनस्र्थापना गर्ने अभियानमा लागेको छ । भियतनाम, कम्बोडिया, पूर्वि युरोपका देशहरूबाट समाजवादी व्यवस्था खतम हुन केही वर्ष र दसक पनि लागेन् ।
हामीले देखिरहेका छौ, सर्वहारा वर्गको राज्यसत्ताको नाममा अहिले पनि केही ‘कम्युनिष्ट’ नेताले आजन्म शासन गर्ने र आफ्नो शेषपछि आफ्ना सन्तानलाई उत्तराधिकारी घोषणा गर्ने गरेको पनि पाइन्छ । देशमा सर्वहारा वर्गको शासनव्यवस्था स्थापना गनका लागि वर्षौसम्म जनताको बीचमा काम गर्दा कठिन भन्दा कठिन परिस्थितिको सामना गर्न पनि पछि नपरेका कैयौ नेता तथा कार्यकर्ता विभिन्न राजनीतिक परिस्थितिले सत्तामा गए पछि आमश्रमजीवि वर्गको हितलाई नहेरी केवल आफ्नो व्यक्तिगत स्वार्थ वा पारिवारिक स्वार्थका लागि जे पनि गर्न तयार भएको हामीले देखेका, भोगेका छौ । माक्र्सले बारम्बार जोड दिनु भएको तथ्य के हो भने सर्वहारा वर्गको पार्टीको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो मात्र भलाई नहेरेर आमश्रमजीविको हितलाई हेर्छन्, जसलाई उहाँले सर्वहारावादी विश्व दृष्टिकोण भन्नु भएको छ र सर्वहारा वर्गको मुक्तिको लागि काम गर्ने कम्युनिस्ट पाटीका नेता तथा कार्यकर्ताहरू यो सर्वहारा वर्गीय विश्व दृष्टिकोणले लैस हुनै पर्छ ।
विश्व कम्युनिस्ट आन्दोलन र नेपालकै अनुभवमा पनि कम्युनिष्ट पाटीका नेता तथा कार्यकर्ताहरूले पार्टीभन्दा आफू, आफ्नो परिवार र नातागोतालाईमाथि राखि सोंच्ने गरेको पाइएको छ । यस्तो चिन्तनको विरूद्ध सचेत गराउँदै माओले लिन प्याओको चरित्रको बारेमा मन्तव्य दिने क्रममा भन्नु भएको थियो ‘मैले कहिले पनि कसैलाई पनि आफ्नै श्रीमतीलाई अफिसको म्यानेजर बनाउने कुराको स्वीकृति दिएको छैन् । तर लिन प्याओको श्रीमती येह चुन, जसले कार्यालय व्यवस्थापन गर्छिन् । चारजना मान्छेहरूले लिन प्याओलाई भेट्न चाहेमा उनीहरूले उनकी श्रीमतीको अनुमति लिनु पर्छ । कुनै काम गर्नु परेमा जो कोहीले पनि आफैले काम गर्नु पर्छ, आफैले कागजपत्रहरू पढनु पर्छ । कसैले पनि सेक्रेटरीमार्फत् काम गर्ने होइन् । मेरो आफ्नो सेक्रेटरीले त कागजातहरू लिने र मलाई दिने मात्रै जिम्मेवारी पाएका छन् । म आफै कागजातहरू छान्छु, आफै पढछु र केही लेख्नुपर्ने भयो भने आफै लेख्छु ताकि गल्ती हुन नपाओस ।’
माओको उल्लेखित भनाईको महत्व सर्वहारा वर्गीय विश्व दृष्टिकोणले लैस हुने कि परीवर्तन र क्रान्तिविरोधी दुइवटा धार दक्षिणपन्थी र वामपन्थी अराजकतावादी धारको दलदलमा नउठ्ने गरी भासिदै जाने भन्ने हो । माक्र्स, एङगेल्स, लेनिन, स्तालिन र माओले कम्युनिस्ट घोषणापत्र’मा लेखिएझै निजी सम्पतिको व्यवस्थाको खारेजी, आय, सम्पत्ति, उद्योग, व्यपार र व्यवसाय आदि सबै राज्यको अधीनमा ल्याउने , राजनीतिक र व्यक्तिगत अधिकारहरू सबै राज्यको अधीनस्थ राख्ने नै सर्वहारा वर्गीय सिद्धान्त हो भनेर त्यसैलाई ह्दयदेखि आत्मसात गर्दै कार्यान्वयन गर्नु भयो । यदि अहिलेका कम्युनिस्टहरुले पनि त्यसै गर्ने हो भने माओले भनेझै न त श्रीमती, न छोरा वा सालोलाई आफ्नो स्वकीय सचिव वा सेक्रेटरी राख्ने आवश्यकता नै पर्छ । न सत्तामा जाँदैमा अनावश्यक मोजमस्ती, सुखसयलका लागि राज्यको ढुकुटी सिध्याउने नै मन लाग्छ । न त एउटा मन्त्री पद प्राप्त गर्न त्यसका लागि र्याल चुहाउन नै पर्छ ।
नेपालका संसदवादी कम्युनिस्ट सभासदहरूले, मन्त्रीहरूले अहिले जसरी आफ्ना छोराछोरी, वा नातेदारहरूलाई सरकारी तलबी सुविधामा नीजि सहायक वा अनेक नाम दिएर राख्ने गरिरहेका छन्, तिनका लागि माक्र्सले भनेझै आफ्नो मात्र भलाई हेरेर आमश्रमजीविको हितलाई नहेरेको नै ठहर्छ । यसले सर्वहारा वर्गीय विश्व दृष्टिकोणबाट स्खलन भएको जनाउछ । किनभने सर्वहारा वर्गीय विश्व दृष्टिकोणले त आफ्नो मात्र भलाई नहेरेर आमश्रमजीविको हितलाई हेर्ने हो । यदि आमश्रमजीविको हितलाई वा आम कार्यकर्ताको हितलाई ध्यान दिएको भए नेपाल मै पनि जनयुद्ध तथा जनआन्दोलनहरूमा सहिद भएका परिवार, वेपत्ता परिवार तथा अपाङ्गहरू तथा उनका परिवार नै मन्त्री तथा सभासदहरूको नजरमा पहिलो छनौटको तालिकामा पर्दथे । यो नभएर व्यक्तिगत स्वार्थको जब बोलबाला भएर जान्छ, अनि स्वत: यी गौण बन्न जान्छन् र गौण भएका पनि छन् ।
मानिस कम्युनिस्ट किन बन्दछ ? केहि साथी संगतिले बन्ला, केहीले किताब र पत्रपत्रिका पढेर बन्ला तर अत्यधिक चाहिँ समाजमा हुनेखाने र ठूलाठालुहरूले गरिब, निमुखा र निरीह मानिसहरूमाथि गरेको अन्याय, अत्याचार, शोषण, दमन देखेर वा भोगेर त्यसका विरूद्ध विद्रोह गरी समाजमा न्याय र समानताको व्यवस्था स्थापित गनुपर्दछ भन्ने उद्देश्यबाट कम्युनिस्ट बन्दछन् र बनेका छन् । समाजमा उपल्लो वर्गको सधैभरिको हालीमुहाली र निम्न वर्गको सधैभरिको अभाव, गरिबी, दुख, शोषण, दमन, अन्याय र अत्याचार हुने राजनीतिक तथा सामाजिक व्यवस्थामा आमूल परिवर्तन गरी न्याय र समानतायुक्त सामाजिक संरचना स्थापित गर्ने उद्येश्यबाट प्रेरित भएर मानिसहरू कम्युनिष्ट बनेका हुन्छन् । त्यसका अतिरिक्त कम्युनिस्टको बिश्वदृष्किोण आफ्नै हुन्छ । त्यसैगरी समाज र इतिहासलाई हेर्ने तथा त्यसलाई परिवर्तन गर्ने पनि आफ्नै वैज्ञानिक दृष्टिकोण छ । यी दृष्टिकोणहरू यस्ता छन्, जसलाई गैर कम्युनिस्टले पनि विमती जनाउन एक पटक राम्रैसँग सोंच्नु पर्दछ । त्यसैले कम्युनिस्ट बन्नु वा हुनु समाजमा गर्व गर्ने कुरा हो । कम्युनिस्टहरू मानवीय हुन्छन् किनभने समाजका कमजोर वर्गले न्याय र समानताको व्यवहार पाउनु पर्छ , उनीहरूमाथि कुनै किसिमको शोषण , दमन, अन्याय, अत्याचार हुने व्यवस्थाको अन्त्य हुनु पर्दछ भन्ने कम्युनिस्टको मान्यता रहन्छ । त्यसैकारण कम्युनिस्ट अत्यन्त सभ्य र आधुनिक हुन्छन् । तर, समाजभित्र माथिल्लो वर्गका मानिसहरू पनि हुन्छन्, तिनी अत्यन्त स्वार्थी, आत्मकेिन्द्रत, अमानवीय र अत्याचारी हुन्छन् । त्यसैले उनीहरू असभ्य र अत्याचारि हुन्छन्, असभ्य र असामाजिक पनि हुन्छन् । यसैले समाजमा यी दुइ वर्गका बीचमा सङघर्ष चलिरहन्छ ।
समाजमा जबसम्म असमानता रहन्छ, शोषण दमन , अन्याय अत्याचार रहन्छ, उपल्लो वर्गको सधैभरि एकलौटी हालीमूहाली रहन्छ, तबसम्म समाजमा कम्युनिस्ट पार्टी र कम्युनिस्टहरूको आवश्यकता परिरहन्छ । औधोगिक क्रान्तिको कालमा माक्र्स र एङ्गेल्सले मजदुरहरूमाथि अति नै अमानवीय शोषण र अत्याचार देखेपछि मात्रै उहाँहरूले वैज्ञानिक समाजवादी सिद्धान्तको प्रतिपादन गर्नुभयो । त्यसैकारण पुँजीवादमा शोषण , दमन, अन्याय, अत्याचारको जुन अन्तरनिहित प्रवृत्ति छ, त्यसबाट निम्न वर्ग, किसान र मजदुर आदिलाई बचाउन र जोगाउन कम्य¬निष्ट पार्टी र कम्युनिस्टहरूको आवश्यकता परेको हो । समाजवादी दर्शन र सिद्धान्तको आवश्यकता परेको हो । कम्युनिस्ट सरल, मृदुभाषी, सङ्घर्षशील आदि चरित्रका हुन्छन् । आफूलाई सर्वहारा वर्गको सांस्कृतिक स्तरमा माथि उठाएर मात्रै कम्युनिस्टहरू सही अर्थमा कम्युनिस्ट बन्दछन् । सामन्ति, पुँजीवादी, निम्न पुँजीवादी तत्वहरूले झै काम गर्ने हो भने एउटा कम्युनिस्टले आफनो सांस्कृतिक स्तर माथि उठाउन सक्दैन् । परिणाम पार्टीको क्रान्तिकारी सिद्धान्त र उद्देश्यलाई प¬रा अपनाउन असफल रहन्छ । क्रान्तिकारी सिद्धान्त र उद्देश्य अनुसार आफैलाई ढाल्न सक्दैन् । त्यसअनुसारको अनुशासन र जिम्मेवारी पालना गर्न सक्दैन् । त्यसकारण सांस्कृतिक रूपान्तरणको आवश्यकता कम्युनिस्ट पार्टीमा परिरहन्छ । सर्वहारा वर्गको संस्कृतिको आधार भनेको कम्युनिस्ट घोषणपत्रमा लेखेझै सर्वहारा वर्गको निम्ति ग¬माउनको लागि केही हुन्न, जित्नको लागि सारा संसार छ भन्ने मान्यता नै हो । यही सैद्धान्तिक मान्यतामाथि सर्वहारा वर्गको संस्कृति टिकेको हुन्छ । यो भनेको कम्युनिस्टहरूको सांस्कृतिक चेतनाले निर्धारण गर्दछ , त्यसैद्धारा निर्देशित रहन्छन् । तर, बिडम्बना के छ भने कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूमा गैर कम्युनिस्ट सोचाइ, मान्यता वा स्वार्थद्धारा प्रेरित भएर गैर सर्वहारा वर्गीय कमजोरी अगाडि आइरहेका छन् । पिछडिएको मध्ययुगिन तथा सामन्ती संस्कृतिको प्रभावबाट माथि उठे पनि कैयौ कम्युनिस्टरू पुँजीवादी संस्कृतिको स्तरसम्म पनि उठन सकेको पाइदैन् । विश्वास चाहिँ सबैभन्दा उन्नत संस्कृतिको गर्ने तर व्यवहार र चिन्तनचाहिँ अत्यन्त पिछडिएको संस्कृतिको गर्ने । भौतिक पक्ष र चेतना मध्य भौतिक पक्षले प्रधानता लिँदालिँदै पनि उन्नत चेतनाले पछि गएर भौतिक पक्षलाई पनि प्रभावित पार्न पर्नेमा भौतिक पक्ष सधै बलियो बन्दै जाने, चेतनामा स्खलन हुँदै जाने, यो नै अहिलेको विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनभित्रको पनि समस्या हो ।
