मजदुरसँग महासंघ अभियान : बनेपा नगर भेला सम्पन्न

मजदुरसँग महासंघ अभियान : बनेपा नगर भेला सम्पन्न

काभ्रे । अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ बनेपाको प्रथम नगर भेला सम्पन्न भएको छ । कृष्ण बहादुर पुलामीको अध्यक्षतामा सम्पन्न भेलाले विनोद आलेको संयोजकत्वमा पन्ध्र सदस्यीय नगर कमिटी गठन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं महासंघका उपाध्यक्ष इश्वर तिमिल्सिनाले भेलालाई शुभकामना दिँदै मजदुरका संकट र मुद्दाहरुको चौतर्फी चाङ लागेको बेला, यसप्रकारका संकटबाट मजदुरवर्गलाई स्वतन्त्र गर्न मजदुरसँग महासंघ अभियान सञ्चालन गरिएको स्पष्ट गर्नुभयो ।

‘यो अभियानले लाखौं मजदुरसँग पुग्ने, हजारौं मजदुरहरुलाई संगठित गर्ने र मजदुरहरुका संकटसँग साझा जुध्ने लक्ष्य लिएको छ । हामी मजदुरहरुलाई यो व्यवस्थाले थोपरेको सामाजिक, आर्थिक र राजनीतिक शोषण उत्पीडनको बन्धनबाट स्वतन्त्र गर्न चाहन्छौं ।’ उहाँले भन्नुभयो ।

त्यसैगरी संगठनका महासचिव वसन्त बोगटीले मजदुरहरु असलमा पेशागत ज्ञानसँगै सांगठनिक र राजनीतिक ज्ञानले प्रशिक्षित हुनुपर्नेमा जोड गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले मजदुरहरु जुन न्यून वेतनमा काम गर्न बाध्य पारिएका छन, त्यसले मजदुरहरुको दैनिक चुल्हो बल्ने स्थिति छैन । स्वास्थ्य, शिक्षा र सुरक्षाको प्रश्न अझ ज्वलन्त बन्दै छन । त्यसकारण त्यसको सुनिश्चितताको निम्ति संघर्ष गर्नैपर्छ । हामी मजदुरहरुको न्यूनतम तलब तीस हजार हुनुपर्छ, पचास लाखको दुर्घटना बिमा हुनुपर्छ, पच्चीस लाखको स्वास्थ्य बिमा हुनुपर्छ भनेर संघर्ष गरिरहेका छौं, केवल यति मात्र संघर्षले पुग्दैन र संघर्षलाई यो व्यवस्था बदल्ने स्तरसम्म उठाउनु पर्छ । त्यो किन उठाउनु पर्छ भने, मजदुरहरुको राजनीतिक प्रतिनिधित्व नभएको व्यवस्थामा मजदुरहरुका अधिकार संधै दमित गरिन्छ । यो व्यवस्थामा मजदुरहरुको राजनीतिक प्रतिनिधित्व छैन । सरकार, संसद, न्यायलय जताततै कि त नोकरशाही दलाल, सामन्त वा तिनीहरु कै प्रतिनिधिहरुको नियन्त्रण छ । यसबारेमा बुझ्न मजदुरहरुले राजनीतिक प्रशिक्षणका शिविरहरुमा भाग लिनुपर्छ । हाम्रो संगठनले ति शिविरहरु सञ्चालन गर्नेछ ।”

त्यससँगै उहाँले आगामी मई– १ अर्थात १३४ औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसलाई ऐतिहासिक र प्रभावकारी बनाउने गरि भूमिका खेल्न भेलामा उपस्थित सम्पूर्णमा आव्हान गर्नुभयो ।

प्रथम नगर भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य सोमान तामाङ, महासंघका कोषाध्यक्ष कुमार घताने अतिथि हुन्हुन्थ्यो । भेलाको सञ्चालन महासंघका केन्द्रीय सदस्य प्रदीप अस्थानीले गर्नुभएको थियो ।

मजदुरसँग महासंघ अभियान अन्तरगत महासंघले पाँच लाख मजदुरसम्म पुग्ने, दशहजार मजदुर संगठित गर्ने र एक हजार नयाँ इकाई निर्माणको लक्ष्य लिएको छ ।