नयाँ साल २०८०

नयाँ साल २०८०

साताको कविता

कसरी मनाऊँ म खुशी
शान्तिबाटिका असान्त छ
बोकेर मिटर ब्याज पीडितको
आँसु र आक्रोश छातीभरी
सिंहदरबारमा फोहर उठ्दैन
के आशा के अपेक्षा ?
आफ्नो टाउको फुटे मितको टाउको बेलैसरी
गर्दैछन् नयाँ सपना बाँडेर हिंडेकाहरू
यी र यस्तै बासी बोकेर काँधमा
टुप्लुक्क आइपुगेछ पुरानै पहिरनमा
यो नयाँ साल २०८० ।

कसरी स्वागत गरौ म यसलाई
देखिरहेको छु भयाबह बाढीपहिरोको सपना
महामारीका नयाँ सूचना र नामपाटीहरू
प्रतिवाद बिहिन भ्रष्ट्रतन्त्रका अपुतालीहरू
देशमा आगो झोसेर भ्रष्टाचारमा खुशी
रिस्वत र कमिसनमा लालायित जेलेन्स्कीहरू
कोरोना जस्तै जेलेन्स्कि पथका भेरिएन्टहरू
बोकेर गर्भमा बिसंगत बिजातीय भ्रुणहरू
टुप्लुक्क आइपुगेछ पुरानै पहिरनमा
यो नयाँ साल २०८० ।

बास माग्ने बाढीपहिरो पीडितहरू
ब्याज र स्याज पीडितहरू
कानुनको लिलाम बजारमा अस्तित्व गुमाउनेहरू
बिभेद रहित समाजको आशामा
कुश्त अपमान बोकेर बाँचिरहेकाहरू
फेरि ठगिन मन्साइएको बोका जस्तै
झिलिमिली जाल र दाम्लोमा गुजुल्टिएकाहरू
सबैसबैले बोकेर झुठा सपनाहरू
किन फेर्दैछन् यो कहरको ओढापरी
र गाउदैछन् गीत नयाँ सालको
बजाउदै छन् धुन नयाँ सालको
सत्यको खोजी छोडेर भड्किएकाहरू
बाड्दैछन् नयाँ पोकामा पुरानै खुराकहरू
सबै उस्तै छ पहिरन र चालामाला तर
देखाउदै नयाँ हुनुको दर्प
टुप्लुक्कै आइपुगेछ पुरानै रवाफ बोकेर
यो नयाँ साल २०८० ।

न म स्वागत गर्न सक्छु
न म बदल्ने सामर्थ्य सहित हाजिर छु
यो निरिह बर्तमानमा उभिएर
कसरी सक्छु र झुठ्ठा बोल्न
सबै सबैको लागि बोकेर नयाँ सुकुनहरू
नयाँ फरिस्ता बनेर आएकोछ भन्न
तर दुःख र अपमानका मिसाइल बोकेर
आउ पट्काउन सिसमहलहरू
सायद यस्तै साउतीको साइतमा बदल्न
तत्परहरूको मुटुमा र नसा नसामा कतै
केही बोकेर सार्थक सपनाहरू
फेरिंदै गरेका निमेषहरू,
बाँचिरहेका आशाहरू
यसैबिच कतै ओझेलमा छ कि
मैले खोजेको नयाँ बर्ष र त
न म इन्कार गर्न सक्छु
यो भित्तेपात्रोमा फेरिएको
नयाँ साल २०८० !
१ बैसाख २०८०