साताको साहित्य ः निबन्ध
ग्रामिण जीवनमा भान्सामा पाकेको जुरी भात बाको लागि छुट्टिन्थ्यो । अर्थात् एकाघरमा बाको सम्मान बेग्लै हुन्थ्यो । बा आदरार्थी शब्द मात्र होइन परिवारको अभिभावक पनि हुन् । परिवारमा बा केन्द्र हुन् । त्यसैले आदरणीय हुन्छन्् र बाको जिम्मेवारी पनि गहकिलो नै हुन्छ । परिवारको केन्द्रमा बा भएकोले सन्तानहरू आशाको भावले पनि हेर्छन् । सन्तानका लागि बाले त्याग पनि गरेका हुन्छन्् । बाको हेराइमा सबै सन्तान बराबरी हुन्छन्् तर सबै बाहरूमा यस्तो समानता पाइँदैन ।
जुरि अर्थात् अग्लो चुचुरो र धुरी उस्तै उस्तै हुन् । पहिले पहिले आमाहरू भन्नुहुन्थ्यो बाहरू घरको धुरी हुन त्यसैले जुरीको भात बाले पहिला खानु स्वाभाविक हो । अहिले तलदेखि माथिसम्म, भित्रदेखि बाहिरसम्म धुरीमा को हुने र जुरिको भात कस्ले खाने भन्ने सवालमा केटाकेटीले भने जस्तो लडाभाँती छ । अहिले समाज खण्ड खण्डमा बिखण्ड छ । हरेक खण्डपिच्छे एउटा एउटा धुरी छ । अनि त्यो धुरीमा पुगेर चुरिफुरी निकाल्नेको जण्डता भेऊ पाइनसक्नुको छ । समाजमा विभिन्न सङ्घ संस्था र सङ्गठनहरू खुलेका छन्् । मुलुकको ब्यबस्था बहुपार्टी पद्दतिमा चलेकोले पार्टीहरू पनि बग्रेल्ती छन् । यस्ता पार्टी सङ्गठनहरूमा थोरै मात्र सङ्गठनको चासोमा जनताको सरोकार पर्दछ । केही यस्ता सङ्गठन छन् जो धुरीमा को बस्ने र जुरिको भात कस्ले खाने भन्नेमा हानथाप हुने गरेको छ । दृश्यहरू कस्ता छन् भने नेपाली उखान जस्तो ‘पाए अन्त नपाए के जातिको जन्त’ जस्तै छ । समाजमा टोल छन्, विद्यालय छन् । वन र पिउने पानी बेच्ने संस्थाहरू छन् र अमुक अमुक सङ्गठनका झोले खोले र टोले कार्यकर्ता पनि छन् । अनि यी कार्यकर्ताहरू तत्सङ्गठनको धुरी ओगट्न ज्यान छाडेर लागेका छन् ।तपाईं हामिले सुनेका छौँ एउटा विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष हुनका लागि विद्यालयमा गोलिसम्म चलेको छ । कहिलेकाहीँ समचारहरू सुनेर वा दृश्यहरू देखेर तिनचित खाइएको छ । कुनै झोले वा टोले कार्यकर्ता ज्ञान र बिशिष्टताको हिसाबले शून्य चेतनाको छ तर ऊ अस्पताल बिकास वा स्कुल क्याम्पसमा धुरी बन्ने दाबी गरिरहेको हुन्छ । आफुलाई अब्बल कम्युनिष्ट कार्यकर्ता भनेर दाबी गर्ने कामरेडहरू कुनै सङ्घ संस्थामा धुरी भएनन् भने मन्दिर सन्चालनको अध्यक्ष वा सचिबमा भने पनि धुरी बन्ने होडमा छन् हुन्छन् र भएका छन् । साना घरका साना धुरी साना धुरीका सानै जुरी । योग्यता अनुसार र क्षमता अनुसार दाबी रहेको हुन्छ ।
अब अलिकती मझौला धुरी र अग्लो जुरिको अवलोकन गरौँ । नेपाली समाजको विभिन्न चरणमा गाउँ मौजा प्रगन्ना र गौँडामा तैनाथी लिएर द्वारे जिम्मल मुखिया थरी जस्ता धुरीवालहरू थिए । त्यस सामयमा शक्तिमा पुग्न माथिका भाइ भादरहरूको आशिर्वाद लिनु पर्दथ्यो । यसरी धुरीमा उक्लिएपछि तिनीहरूले जनताको जिउधन लुछेर शासकलाई पोस्थे र रहेबचेको तुष आफुले राख्थे । त्यतिबेला मौजा मौजामा किसानले रोपि फलाएका फलफूल, गोरस र सागपातको पहिलो उत्पादन त्यस्ता छोटा धुरीवालकहाँ अनिवार्य नजराना पुर्याउनु पर्दथ्यो । यो प्रथा त हरायो तर त्यस्ता धुरीवालको सट्टामा नयाँ धुरीवाल जन्मिए । यिनीहरू फलफुल सागपातको नजराना त खाँदैनन् तर आधुनिक सभ्यताले अनिवार्य बनाएको बिकाशे योजनाको जुरी नै हसुर्ने गर्छन् । यिनीहरूको खजाना भनेको निर्माणसित सम्बन्ध रहेको हुन्छ । खोलाको ढुङ्गा, बालुवा, गिट्टी, वन पैदावार र अस्पताल अनि निजी कलेजहरू नयाँ धुरीवालहरूका खान्की हुन् । यिनीहरू बेग्लाबेग्लै धुरी उभ्याएर बसेका पनि हुन्छन् र त्यस्ता धुरीहरू अवस्यकता अनुसार बिपरित तत्वको बिच एकता पनि हुन्छ । किनभने यस्ता धुरीवालहरू खाँटी द्वन्द्ववादी पनि हुन् । यिनीहरू धुरीको बसाइ र जुरीको खवाइमा आलोपालो पनि गर्छन् । यिनीहरू बाहिर बेरङका जस्ता देखिन्छन् तर भित्र एउटै रङका हुन्छन् । जुरिको खान पाए यिनीहरू धुरी पनि बदल्न सक्छन् । एउटा धुरीदेखि अर्को धुरीमा फड्कन पनि यिनीहरू चलायमान हुन्छन् । यिनीहरू एक्ला एक्लै वा आफ्ना नातागोता लिएर धुरी उक्लने गर्छन् ।
जुरिको भात र धुरीको थात अहिले युगिन नारा बनेको छ । रूपमा यिनीहरू समाज सेवाको खोल ओढेका हुन्छन् तर सारमा आफ्नो स्वाद भोक र स्वार्थले मोहोरेको हुन्छ । यस्ता धुरीमा पुगिसकेपछि झर्न कुनै हालतमा पनि उनीहरूको रुचि हुँदैन । तपाईं हाम्रो वरिपरि यस्ता धुरीवाल कति छन् लागत निकाल्न ढिला नगरौँ ।
































