काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा जनयुद्धका वेपत्ता योद्धाच निश्चल नकर्मीका बुबा कमरेड सूर्यबहादुर नकर्मीको असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै पार्टी महासचिव मोहन वैद्य किरणले दिवंगत नकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
शुक्रबार एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै महासचिव किरणले उहाँको निधनले नेपालको कम्युनिस्ट आन्दोलन र विशेषत: हाम्रो पार्टीलाई गम्भीर क्षति पुग्न गएको बताउनु भएको छ ।
काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका अन्तर्गत महादेवस्थान निवासी सूर्य बहादुर नकर्मीको उच्च रक्तचापका कारण हृदयघात भएपछि बयोधा अस्पताल बल्खुमा उपचार गराउँदै गर्दा हिजो २०७९ चैत्र ३० गते बेलुकी ७:३० बजे आकस्मिक निधन भएको थियो ।

विक्रम सम्बत १९९८ साल चैत्र १२ गते जन्मनु भएका उहाँ २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्य बनेदेखि निरन्तर क्रान्तिकारी कित्तामा उभिएर देश र जनताको मुक्तिको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय सल्लाहकार समितिका सदस्य रहनुभएका कमरेड सूर्य बहादुर नकर्मी जनयुद्धका बेपत्ता योद्धा निश्चल नकर्मीका बुवा हुनुहुन्थ्यो । उहाँका जीवन संगिनी मनोरमा नकर्मी, छोरा चञ्चल नकर्मी, छोरी चारु नकर्मी, एउटी बुहारी र ज्वाइँ सहित दश नाति–नातिना हुनुहुन्छ ।
श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “हामी उहाँको निधनबाट अत्यन्तै दु:खित भएका छौं । द:ुुखको यस घडीमा हाम्रो पार्टी कमरेड सूर्य बहादुर नकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँका शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”































