आजकै दिन : आधुनिक ओलम्पिक सुरु

आजकै दिन : आधुनिक ओलम्पिक सुरु

चैत्र २३, २०७९

काठमाडौँ — खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको आधुनिक स्वरूपमा पुन: सुरुवात सन् १८९६ मा आजकै दिन (अप्रिल ६) मा भएको थियो । प्राचीन ओलम्पिक स्थगित भएको करिब डेढ दशकपछि आधुनिक ओलम्पिक सुरु भएको हो ।

यसको सुरुवातको श्रेय भने फ्रान्सका पियरे डि फ्रेडीलाई जान्छ । उनले सन् १८९४ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी गठन गरी त्यसको दुई वर्षपछि ग्रिसको एथेन्समा यो खेल मेला आयोजना गरेका थिए । त्यस ओलम्पिकमा १४ देशका २ सय ४१ खेलाडीले ४३ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा ट्र्याक एन्ड फिल्ड, जिम्न्यास्टिक, पौडी, कुस्ती, साइक्लिङ, टेनिस, भारात्तोलन, सुटिङ र फेन्सिङ थिए ।

अमेरिकी खेलाडी जेम्स कोलोनी आधुनिक ओलम्पिकका पहिला स्वर्ण विजेता हुन् । उनले ट्रिपलजम्पमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

ओलम्पिक हरेक ४ वर्षमा आयोजना गरिन्छ । सन् १९९२ देखि ग्रीष्मकालीन र हिउँदे ओलम्पिकको आयोजना हुन थाल्यो । संयुक्त राष्ट्रसंघले २०१३ अगस्ट २३ मा आधुनिक ओलम्पिकको सुरुवात भएको मिति अप्रिल ६ लाई खेलकुद विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

ओलम्पिक खेलको चिह्नको निर्माण पाँच वटा गोलो चक्का नीलो, पहेंलो, कालो, हरियो, रातोलाई एउटा सेतो पट्टीमाथि मिलाएर बनाइएको छ । प्रत्येक रङको चक्काले महादेशहरूको प्रतिनिधित्व गर्छ । आगामी ओलम्पिक सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुँदै छ ।