पर्यावरण, पर्यावरणीय दृष्टिकोण र समालोचना

पर्यावरण, पर्यावरणीय दृष्टिकोण र समालोचना

गत शनिबारको बाँकी अंश

४. पर्यावरणसम्बन्धी मार्क्सवादी दृष्टिकोण
पर्यावरणसम्बन्धी मार्क्सवादी दृष्टिकोण पर्यावरणीय मार्क्सवादको भन्दा भिन्न रहेको छ । पर्यावरणीय मार्क्सवादलाई नै पर्यावरणसम्बन्धी माक्सर््ावादी दृष्टिकोणका रुपमा अथ्र्याउने कार्य पनि कतिपय प्राज्ञिक व्यक्तित्वहरुबाट भएको पाइन्छ । पर्यावरणीय मार्क्सवादीहरुले विचार निर्माण र आन्दोलनका निम्ति मार्क्सबाट धेरै कुरा लिएका छन् र कयौं ठाउँमा मार्क्समाथिको प्रहारको तिखो भाषामा प्रतिवाद पनि गरेका छन् तर उनीहरुका विमति पनि रहेका छन् । यो विमति मूलतः पर्यावरणलाई केन्द्रमा राखेर निर्माण गर्न चाहने समाजको स्वरुप र त्यसलाई प्राप्त गर्ने बाटोमा रहेको छ । पर्यावरणीय मार्क्सवादीहरु मार्क्सवादका कतिपय आधारभूत अवधारणालाई अस्वीकार गर्छन् । यसमा मार्क्सवादका वर्ग, वर्गसङ्घर्ष, समाज विकासको भौतिकवादी अवधारणा र उत्पादन मोडेल पनि पर्छन् । सुधारवादी एवम् क्रमिकतावादी अवधारणाले पर्यावरणीय मार्क्सवादीहरुलाई मार्क्सवादका आधारभूत मान्यताहरुबाट उनीहरु कसरी भिन्न छन् भनेर देखाउँछन् । त्यसैले पर्यावरणीय मार्क्सवाद वा पर्यावरणीय समाजवादका विषयमा चर्चा गरिसकेपछि पनि पर्यावरणसम्बन्धी मार्क्सवादी अवधारणाका बारेमा चर्चा गर्नुपर्ने आवश्यकता रहन्छ ।

पर्यावरणका बारेमा मार्क्स–एङ्गेल्सले व्यवस्थित रुपमा चर्चा गरेको पाइन्न । व्यवस्थित रुपमा चर्चा नगरे पनि उनीहरुले पर्यावरणका विषयमा चर्चा नै नगरेको भने होइन । मार्क्सले पर्यावरणका बारेमा जेजति चर्चा गरेका छन् तिनले पर्यावरणसम्बन्धी मार्क्सका धारणाहरु कति गम्भीर र सटिक थिए भन्ने मात्र देखाउँदैनन्, पर्यावरणसम्बन्धी मार्क्सवादी दृष्टिकोणलाई अझ गहिरो र खँदिलो बनाउन पनि आधार प्रदान गर्छन् । मार्क्स–एङ्गेल्सले आर्थिक, राजनीतिक, दार्शनिक एवम् सामाजिक विषयहरुको समग्र विवेचनाकै क्रममा पर्यावरणसम्बन्धी विषयमा आफ्ना धारणाहरु पनि प्रस्तुत गरेका छन् । मार्क्सले जति अरू कुनै ऐतिहासिक चिन्तकहरुले पर्यावरणका बारेमा चाखलाग्दो गरी बोलेका छैनन् भन्ने दृष्टिकोण जोन बोलमी फोस्टरको रहेको छ । निस्सन्देह मार्क्सले पर्यावरणका बारेमा चाखलाग्दो गरी बोलेका छन् र ती आज अझ महत्वपूर्ण बनेका छन् । मार्क्स मनुष्य प्रकृतिका कारण जीवित छ मात्र भन्दैनन्, प्रकृतिलाई उसको शरीरका रुपमा समेत उल्लेख गर्छन् (सन् १९७५, पृ.३२८) । उनले जीवनका निम्ति प्रकृतिसँग निरन्तर संवादको आवश्यकतालाई औंल्याएका छन् । मनुष्यको शारीरिक र मानसिक जीवन प्रकृतिसँग गहिरो गरी जोडिएको छ भन्दै उनी मनुष्यलाई प्रकृतिको एक अङ्गका रुपमा लिन्छन् । प्रकृति र मनुष्यबिचको स्वाभाविक सम्बन्धमा दरार उत्पन्न गर्ने कार्य पुँजीवादले गर्यो भन्ने दृष्टिकोण मार्क्सको रहेको छ । औद्योगिकीकरणको बर्बरतापूर्ण सोचाइ र त्यस अनुसारको संस्कृतिको निर्माण गरेर नै प्रकृतिलाई नष्ट गरिदै छ र पर्यावरणीय सङ्कट निम्त्याइँदै छ भन्ने दृष्टिकोण मार्क्सले व्यक्त गरेको पाइन्छ (सन् १९२४,पृ.१०१–१०३)। पुँजीवादका कारण प्रकृतिको परकीयकरण मात्र भएको छैन त्यसको चरम दोहन पनि भएको छ भन्ने धारणा मार्क्सको थियो । पुँजीवादले प्रकृतिलाई वस्तुमा बदल्यो, मोलतोलको विषय बनायो र यो चरम मुनाफा आर्जनको माध्यम बन्यो भनेर मार्क्सले पुँजीवादको कटु टिप्पणी गरेका छन् । मार्क्स प्रकृति हाम्रा लागि सबै थोक हो र हाम्रो अस्तित्वको पहिलो शर्त हो पनि भन्छन् । मार्क्सले पुँजीवादी उत्पादन प्रणालीका कारण प्रकृति र मनुष्यका बिचमा दरार उत्पन्न हुने र यसबाट प्रकृति र मनुष्यबिचको मेटाबोलिजम नै खलबलिने यथार्थलाई प्रस्तुत गरेका छन् । चयापचय प्रकृयामा उत्पन्न हुने दरारले जीवनलाई नै सङ्कटमा पु¥याउँछ । एङ्गेल्सले सहर र गाउँबिचको त्यस समयमा बढेको शत्रुताभावलाई पर्यावरण विनासको एक महत्वपूर्ण कारणका रुपमा उल्लेख गरेका छन् (सन् १९७५, पृ. ९२) । गाउँ र सहरबिच बढ्दो भिन्नता र द्वन्द्वलाई उनले पुँजीपति र मजदुरबिचको भिन्नतासँग तुलना गरेका छन् । यो औद्योगिकीकरणको प्रक्रिया र पुँजीको सञ्चय एवम् मुनाफासँग जोडिएको छ (किरण २०७७, पृ. २१) । मार्क्सका पर्यावरणसम्बन्धी मान्यता मानिस र प्रकृतिबिचको एकत्व तथा परकीयकरण, पुँजीको अतिसञ्चय जस्ता अवधारणाहरुमा आधारित रहेका छन् भन्छन् । पुँजीवादी उत्पादनप्रणालीले मनुष्य र प्रकृतिबिचको एकत्वलाई भत्कायो र परकीयकरणलाई बढायो । सर्वसंहारवादी दृष्टिकोण पुँजीवादकै परिणाम थियो । मार्क्सले पर्यावरणीय सङ्कटलाई समग्र प्रणालीका सन्दर्भमा हेरेका छन् र पुँजीवादको निषेध अनिवार्य रहेको उल्लेख गरेका छन् । वर्गसङ्घर्षका माध्यमबाटै पुँजीवादलाई अन्त्य गर्न सकिन्छ भन्ने दृष्टिकोण मार्क्स–एङ्गेल्सको रहेको छ । संज्ञानात्मक समाजको निर्माण एवम् लघु उत्पादन लगायतका सुधारात्मक कार्यबाट पर्यावरणीय सङ्कटलाई समाधान गर्न सम्भव छैन भन्ने दृष्टिकोण मार्क्सवादले राख्छ । पर्यावरणलाई केन्द्रमा राखेर अन्यलाई परिधिमा पु¥याउने र मार्क्सवादका ठाउँमा पर्यावरणीय मार्क्सवादका आधारमा अघि बढ्ने अनुमति पनि मार्क्सवादले प्रदान गर्दैन ।

५. पर्यावरणीय समालोचना
पर्यावरणीय समालोचनालाई कतिले नयाँ समालोचना सिद्धान्तका रुपमा पनि उल्लेख गर्ने गर्छन् । अन्यका तुलनामा नयाँ रहेकोले यसलाई यस रुपमा उल्लेख गरिएको हो । पर्यावरणीय समालोचनलाई पर्यावरणीय साहित्य अध्ययन, हरित साहित्य अध्ययन, हरित सांस्कृतिक अध्ययन, पर्यावरणोन्मुख समालोचना आदिका रुपमा पनि चर्चा गर्ने गरिएको छ । पर्यावरणीय समालोचनाको आरम्भ सन् १९९० तिरबाट भएको मानिन्छ । यसको आरम्भ नब्बेको दशकको सुरुतिरबाट भए पनि यसको पृष्ठभूमिको निर्माण सन् १९६० को दशकतिरबाट हुन थालेको हो । पर्यावरणीय चासो, यस सम्बन्धी दृष्टिकोणको निर्माण र आन्दोलनसँगसँगै पर्यावरणीय साहित्य र समालोचना पनि अगाडि आएको हो । सन् १९६० र ७० को दशकमा साहित्यमा पर्यावरणको प्रतिबिम्बनका विषयमा छलफल गर्न आरम्भ गरिएको थियो । ‘द वेस्टर्न लिटरेचर एसोसियसन (WLA) मा सन् १९७० मा पर्यावरणीय समालोचनाको अवधारणाका बारेमा छलफल भएको पाइन्छ । यसै समयमा छलफललाई क्रमबद्ध रुपमा अघि बढाउने क्रममा पर्यावरणीय समालोचनासम्बन्धी आधारभूत धारणाहरुको निर्माण हुन आरम्भ गरेको थियो । सन् १९७३ मा प्रकाशित रेमन्ड विलियम्सको कृति ‘द कन्ट्री एण्ड द सिटी’ यस सन्दर्भमा उल्लेखनीय मानिन्छ । यस कृतिमा विलियम्सले सहर र गाउँमा आएको परिवर्तन र त्यसको प्रभावलाई साहित्यको अध्ययनका माध्यमबाट गहिरो गरी प्रस्तुत गरेका छन् । यस अध्ययनले गाउँ र सहरसम्बन्धी अवधारणामा कसरी परिवर्तन आउँदैछ भन्ने यथार्थ प्रस्तुत गर्यो । विलियम्सले पुँजीवादका कारण आएको परिवर्तन र पर्यावरणीय सङ्कटलाई अगाडि सारेका थिए । उनका विचारहरुले हरित आन्दोलनलाई गहिरो गरी प्रभावित गरेका छन् । सन् १९७२मा जोसेफ मिकरको ‘द कमेडी अफ सरभाइबलः स्टडिज इन लिटरेरी इकोलोजी’ पुस्तक प्रकाशित भयो । पर्यावरणीय समालोचनासँग सम्बन्धित यो पहिलो पुस्तक थियो । ‘पर्यावरणीय समालोचना’ शब्दको सर्वप्रथम प्रयोग भने विलियम रुकर्टले सन् १९७८ मा प्रकाशित आफ्नो निबन्ध ‘लिटरेचर एण्ड इकोलोजीः एन एक्सपेरिमेन्ट इन इकोक्रिटिसिजम’मा गरेका थिए । यसमा उनले पर्यावरणीय समालोचनाका बारेमा चर्चा गरेका छन् । सन् १९९६ मा ग्लोटफेल्टी तथा ह्यारोल्ड फ्रोमको सम्पादनमा ‘द इकोक्रिटिसजम रिडरः द ल्याण्डमार्क इन लिटरेरी क्रिटिसिजम’ प्रकाशित भयो । पर्यावरणीय समालोचनाका बारेमा यस पुस्तकमा गम्भीर रुपमा चर्चा गरिएको छ । पर्यावरणीय सामलोचनाका सन्दर्भमा सन् १९९२मा गठन भएको ‘द यसोसिएसन फर द स्टडी अफ लिटरेचर एन्ड एनभायरन्मेन्ट’ (ASLE) नामक संस्थाको भूमिका महत्वपूर्ण रहेको छ । यसको गठन अमेरिकामा भएको थियो । छिटै यो अमेरिकामा पनि व्यापक बन्यो र यसको वैश्विक विस्तार पनि भयो । छोटकरीमा यस संस्थालाई ‘एज्ली’ भनिन्छ । यसले ‘इन्टरडिसिप्लिनरी स्टडिज इन लिटरेचर एण्ड एनभायरन्मेन्ट’ नामक पत्रिकाको प्रकाशन पनि सुरु गर्यो । यसले व्यवस्थित रुपमा प्राज्ञिक विमर्शलाई अघि बढायो । एज्लीको सक्रियता पर्यावरणीय सामलोचनाको विकास र विस्तारमा अत्यन्त महत्वपूर्ण रहेको छ । यसले आयोजना गर्ने यससम्बन्धी विमर्शहरुले यसमा महत्वपूर्ण भूमिका सम्पादन गरेका छन् । पत्रिकाको भूमिका पनि अत्यन्त महत्वपूर्ण रहेको छ । पर्यावरणीय समालोचना पदावलीलाई एक खास समालोचना दृष्टिका रुपमा प्रयोग गर्न सन् १९९८ देखि थालिएको हो । यसपछि नै यसले वैश्विक स्वीकृति प्राप्त गरेको हो । यसमा चेरिल ग्लोटफेल्टीको भूमिका निकै महत्वपूर्ण रहेको छ । उनले नै ‘वल्र्ड लिटरेरी एसोसियसन’को वैश्विक सम्मेलनमा प्रकृतिसम्बन्धी लेखनको अध्ययनका निम्ति ‘पर्यावरणीय समालोचना’ शब्दको प्रयोग गर्नुपर्ने प्रस्ताव राखेकी थिइन् र त्यसप्रति सहमति जनाइएको थियो । यसपछि नै यसले वैश्विक रुपमै स्वीकृति प्राप्त गरेको देखिन्छ ।

पर्यावरणीय समालोचनाको जन्म र विकास एक खास पृष्ठभूमिका बिचबाट भएको थियो । अनियन्त्रित पुँजीवाद, प्रकृतिको अत्यधिक दोहन, विकासको चिन्तालाग्दो परिभाषा र यस आधारमा आकार ग्रहण गरेको विकास पर्यावरणीय समालोचनको जन्मको कारकका रुपमा रहेका छन् (नायर, सन् २०१०, पृ. २४१) । यसलाई उनले अनियन्त्रित पुँजीवादको जैविक–सामाजिक सन्दर्भका रुपमा उल्लेख गरेको पाइन्छ । पुँजीवादको विकाससँगसँगै मुनाफाको आकाङ्क्षा र उपभोगको चाहनामा अत्यधिक वृद्धि भयो । यो पुँजीवादको स्वाभाविक परिणाम थियो । उत्पादन प्रक्रियामा मनुष्य र प्रकृति दोयम दर्जाका बनाइए । यसले प्रकृतिको दोहनलाई बढायो । यसबाट पारिस्थितिक प्रणालीमा सङ्कट देखिन सुरु गर्यो । पर्यावरणीय सङ्कट र यसप्रति आलोचनात्मक चेतनाको निर्माण पनि सँगसँगै भयो । यही पृष्ठभूमिका बिचबाट पर्यावरणीय समालोचनाको विकास भएको थियो (रिग्बी, सन् २००७, पृ.१५१) । नायर र रिग्बीका भनाइ पर्यावरणीय समालोचनाको पृष्ठभूमि निर्माणका सन्दर्भमा महत्वपूर्ण रहेका छन् । साहित्यमा प्रकृतिले अभिव्यक्ति प्राचीन समयमा पनि पाएको छ । प्रकृतिसँग मनुष्यको गहिरो र आत्मीय सम्बन्ध प्राचीन समयदेखि रहँदै आएको हो । पर्यावरणीय समस्या र सङ्कट पुँजीवादको परिणाम हो । पुँजीवादको आरम्भबाटै देखिन थालेको पर्यावरणीय समस्या पुँजीवादको विकाससँगसँगै बढ्दै गयो । प्रकृतिको दोहन, प्रदूषण, मरूभूमीकरणको प्रकृया तीब्र भयो । यसको अध्ययन, विश्लेषण र प्रतिवाद पनि बढ्दै गयो । स्रष्टाहरुले सिर्जनामा यस यथार्थलाई अभिव्यक्ति दिन सुरु गरे । साहित्य चिन्तनमा पनि यसले प्रवेश पायो ।

पर्यावरणीय समालोचनालाई सैद्धान्तिक दृष्टि प्रदान गर्ने गरी सन् १९९० को दशक र त्यसको सेरोफेरोमा केही महत्वपूर्ण कृतिहरु प्रकाशित भए । सन् १९८५ मा फ्रेडरिक ओ वागको पुस्तक ‘एनभायरन्मेन्टल लिटरेचरः मेटरियल्स मेथड्स, रिसोर्सेज’ पुस्तक प्रकाशित भयो । पर्यावरण, पर्यावरणीय समस्या र सङ्कट, साहित्यमा त्यसको प्रतिबिम्बन, पर्यावरणसम्बन्धी आन्दोलनका बारेमा पुस्तकमा विचार व्यक्त गरिएको छ । बुएल लरेन्सको पुस्तक ‘द एनभायरन्मेन्टल इम्याजिनेसन’ सन् १९९५मा प्रकाशित भयो । यस पुस्तकमा लरेन्सले पर्यावरणीय सङ्कटका बारेमा गम्भीर चर्चा गर्दै यसका कारणहरुलाई प्रस्तुत गरेका छन् । साहित्य र पर्यावरणका विषयमा पनि यसमा अध्ययन गरिएको छ । लुइस वेस्टलिङको सन् १९९६मा प्रकाशित पुस्तक ‘द ग्रिन बेस्ट अफ द न्यू वल्र्डः ल्याण्डस्केप, जेन्डर एण्ड अमेरिकी फिक्सन’ यस सन्दर्भमा अर्काे महत्वपूर्ण पुस्तक हो । यस पुस्तकमा पर्यावरणीय सन्दर्भसहित लैङ्गिक अध्ययनलाई प्रस्तुत गरिएको छ । पर्यावरणीय नारीवादका सन्दर्भमा यस पुस्तकको महत्व धेरै रहेको छ । सन् १९९६ मा चेरिल ग्लोटफेल्टी र ह्यारोल्ड फ्रोमको सम्पादनमा ‘द इकोक्रिटिसिजम रिडरः ल्याण्डमार्क्स इन लिटरेरी इकोलोजी’ प्रकाशित भयो । यस पुस्तकमा सर्वप्रथम पर्यावरणीय समालोचनाका विषयमा व्यवस्थित रुपमा चर्चा गर्ने प्रयास गरिएको छ । यस पुस्तकको परिचय खण्ड महत्वपूर्ण रहेको छ । ग्लोटफेल्टीले व्यक्त गरेका विचारहरु पर्यावरणीय समालोचनाको आधार निर्माणका दृष्टिले महत्वपूर्ण रहेका छन् । साहित्य र समालोचनाको पर्यावरणीय सरोकारका दृष्टिले आज पनि यस पुस्तकलाई उत्तिकै महत्व प्रदान गरिन्छ । बेट जोनाथनको सन् २०००मा प्रकाशित पुस्तक ‘द सङ अफ द अर्थ’ पर्यावरणीय समालोचनाका सन्दर्भमा अर्काे महत्वपूर्ण पुस्तक मानिन्छ । पर्यावरणीय समालोचनाका सैद्धान्तिक मान्यताहरुलाई समृद्ध गर्न यस पुस्तकले महत्वपूर्ण योगदान दिएको छ । लरेन्स कुपद्वारा सम्पादित र सन् २०००मा प्रकाशित ‘द ग्रिन स्टडिज रिडरः फ्रम रोमान्टिसिजम टु इकोक्रिटिसिजम’लाई पर्यावरणीय समालोचनाका क्षेत्रमा अर्काे महत्वपूर्ण पुस्तकका रुपमा लिइन्छ । यस पुस्तकमा विषयका विविध पक्षसँग सम्बन्धित विभिन्न विद्धान्हरुका आलेख रहेका छन् । पर्यावरणीय साहित्य र समालोचना एवम् हरित अध्ययनका सन्दर्भमा यस पुस्तकको महत्वपूर्ण स्थान रहेको छ । पर्यावरणीय समालोचनासम्बन्धी सैद्धान्तिक अवधारणा निर्माणका दृष्टिले माथि उल्लेख गरिएका सबै पुस्तकहरुको योगदान महत्वपूर्ण रहेको मानिन्छ । ग्लोटफेल्टी र ह्यारोल्ड फ्रोमले सम्पादन गरेको पुस्तक विषयवस्तुका दृष्टिले सबैभन्दा महत्वपूर्ण रहेको छ । सन् २००० पछि पनि पर्यावरणीय समालोचनासँग सम्बन्धित निकै पुस्तकहरु प्रकाशित भएका छन् । पर्यावरणीय साहित्य सिर्जना र गतिविधिको विस्तारसँगसँगै यसको अध्ययन, विश्लेषण र मूल्याङ्कनको कार्यमा पनि वृद्धि भएको छ ।

पर्यावरणीय समालोचनालाई विभिन्न विद्वान्हरुले आ–आफ्नो ढङ्गले परिभाषित गरेको पाइन्छ । सबैको मुख्य सरोकार साहित्यिक सांस्कृतिक पाठहरुमा पर्यावरण रहेको छ । पर्यावरणीय समालोचना पाठहरुप्रतिको सचेत हेराइका साथसाथै पर्यावरणप्रतिको सरोकार र त्यसको संरक्षणका निम्ति सक्रियताका रुपमा पनि रहेको छ । पर्यावरण र पाठलाई राजनीतिक धारणा र सचेततासहित लिनु यसको एउटा महत्वपूर्ण पक्ष हो । पर्यावरणीय समालोचना अन्तर्अनुशासनात्मक रहेको छ । यो दर्शन, समाजशास्त्र, मानवशास्त्र, पर्यावरण विज्ञान, नारीवाद, मार्क्सवाद लगायत विभिन्न ज्ञानअनुशासन एवं विचारहरुबाट प्रभावित मात्र छैन, पर्यावरणीय समालोचनाका निम्ति तीबाट आधारहरु ग्रहण गर्ने र तिनलाई प्रयोग गर्ने पनि गरेको छ । पर्यावरणीय समालोचनामा विभिन्न ज्ञान अनुशासनको उपयोग गरिएकैले यसलाई अन्तर्अनुशासनात्मक समालोचनाका रुपमा उल्लेख गरिएको हो । नायर पर्यावरणीय समालोचनाले विमर्श र अभ्यास गरेर दुई स्तरमा कार्य गर्छ भन्छन् । विमर्श संस्कृतिको पर्यावरणीय दृष्टिकोण र पाठहरुसँग सम्बन्धित छ, अभ्यास प्रमाणित सांस्कृतिक पाठहरुको पुनः पठन र पर्यावरणीय जागरणका निम्ति योगदानसँग सम्बन्धित छ । सन् १९६० र ७० को दशकमा पर्यावरणीय आन्दोलन प्रभावकारी रुपमा देखा पर्न सुरु गरेपछि मानविकीतर्फ पनि यसको प्रभाव प¥यो र पर्यावरणीय समालोचनासम्बन्धी दृष्टिकोणको निर्माण हुन थाल्यो । ‘पर्यावरणीय समालोचना’ शब्दको प्रयोगभन्दा पहिले पनि रेमन्ड विलियन्सको ‘द कन्ट्री एण्ड द सिटी’ (१९७३)मा पर्यावरणीय समालोचनात्मक दृष्टि पाइन्छ । एनेट क्लोडनीको ‘द ले अफ द लैन्ड’ (१९७५)मा पनि पर्यावरणीय समालोचनात्मक दृष्टि भेटिन्छ । यी कृतिहरुमा पर्यावरणका सम्बन्धमा व्यक्त विचार र त्यस विषयमा उठाइएका प्रश्नहरु पर्यावरणीय समालोचनाको आधार निर्माणमा महत्वपूर्ण रहेका पाइन्छन् । आन्दोलनका रुपमा पर्यावरणीय समालोचनाको आरम्भ भने सन् १९९०को दशकमा भएको हो र ९०को दशकपछि यसको प्रभावकारी रुपमा विस्तार भएको हो । पर्यावरणीय समालोचना अमेरिका र ब्रिटेन हुँदै संसारभरि फैलिएको हो ।

ग्लोटफेल्टी (सन्१९९६)ले पर्यावरणीय समालोचनालाई साहित्य र पर्यावरण बिचको सम्बन्धको अध्ययनका रुपमा परिभाषित गरेकी छन् । केरिज (सन् २००७)ले पर्यावरणीय समालोचनालाई पर्यावरणीय वा पर्यावरणवादी दृष्टिकोणका आधारमा गरिने साहित्यिक र सांस्कृतिक समालोचनाका रुपमा उल्लेख गरेका छन् । पर्यावरणीय दृष्टिले पाठ कति सहयोगी वा हानिकारक छ भनेर हेर्नु, विश्वास र विचारधारा कस्तो पर्यावरणीय निहितार्थसहित व्यक्त भएको छ भनेर नियाल्नु, पर्यावरणीय चासोसहित अवधारणाहरुको इतिहासलाई केलाउनु, पर्यावरण ध्वंसका कारकहरुलाई विश्लेषण गर्नु पर्यावरणीय समालोचनाका कार्यहरु हुन् भन्छन् केरिज । उनी पर्यावरणीय समालोचकहरु समग्र प्रकृति र दैनिक जीवनलाई पर्यावरणीय क्षयीकरणसँग जोडेर हेर्छन् भनेर उल्लेख गर्छन् । अब्राह्मस् (सन् २००७, पृ.७१) ले पर्यावरणीय समालोचनालाई साहित्य र पर्यावरणबिचको सम्बन्धको आलोचनात्मक अध्ययनका रुपमा उल्लेख गर्दै यसले मानवीय क्रियाकलापका कारण सङ्कटमा परेको पर्यावरणप्रति जागरण ल्याउने उद्देश्यलाई पनि महत्व दिएर हेर्छ भनेका छन् । नेपाली समालोचकहरुबाट पनि पर्यावरणीय समालोचनालाई परिभाषित गरिएको छ । किरण (२०७८, पृ.३५) पर्यावरणीय समालोचनालाई विभिन्न प्रकारका पर्यावरणवाद, नवमार्क्सवाद, नारीवादका साथसाथै उत्तरआधुनिकतावादबाट समेत प्रभावित रहेको उल्लेख गर्छन् । समाजकेन्द्रित र प्रकृतिकेन्द्रित धारा पर्यावरणीय समालोचनामा रहेको दृष्टिकोण किरणले प्रस्तुत गरेका छन् । प्रकृतिकेन्द्रित धारालाई उनी इकोकेन्द्रवादमा आधारित रहेको ठान्छन् र यसमा अस्तित्वको लागि सङ्घर्ष तथा योग्यतमको विजयको मान्यतामा आधारित डार्विनवाद, जैविक विश्वदृष्टिकोण तथा जैविक नैतिकताका पक्षधर अल्डो लियोपोल्डको मान्यता र स्वःस्फूर्त अविकसित चेतनालाई मान्यता दिने तथा नाजीवादी राष्ट्रिय समाजवादको पुर्पक्ष गर्ने हाइडेगरीय चिन्तनले काम गरेको उल्लेख गर्छन् । भट्टराई (२०७०, पृ.८१) प्रकृति र साहित्यको सम्बन्ध तथा पर्यावरणीय अध्ययन, प्रकृतिको इतिहास, वातावरण अध्ययन तथा यसले मानवजीवन एवम् पृथ्वीमा पारेको प्रभावजस्ता अध्ययनमा आधारित समालोचना नै पर्यावरणीय समालोचना रहेको उल्लेख गर्छन् । उनी पर्यावरणीय समालोचनालाई मूलतः प्राकृतिक विश्वसँग मानवीय विश्वको सम्बन्धलाई साहित्यिक कृतिमा कसरी व्यक्त गरिएको छ भनेर अध्ययन गर्ने समालोचनाका रुपमा लिन्छन् । यसका अतिरिक्त पर्यावरणीय समालोचनाले परिवर्तित राजनीतिक, सांस्कृतिक सन्दर्भमा प्राकृतिक वतावरणको निर्मितिमा साहित्यको भूमिकाको खोजी पनि गर्छ भन्ने दृष्टिकोण भट्टराईको रहेको छ । एटम (२०७०, पृ.१७२,७३) पर्यावरणीय समालोचनाले धरतीलाई एउटा साहित्यिक कृतिका रुपमा लिने उल्लेख गर्दै यसले धरतीलाई सचेत भएर गहन दृष्टिले अध्ययन गर्नुपर्छ र त्यसको सुमधुर लय, आत्मा, चेतना पहिचान गरी संरचनागत जटिलतालाई आत्मसात् गर्नुपर्छ भन्ने ठान्छ भन्छन् । उनका अनुसार आफू उभिएको भौतिक र सांस्कृतिक आधारसँग साहित्यिक कृतिलाई तुलना नगरी पर्यावरणीय समालोचना हुन सक्दैन । त्रिपाठी प्रकृतिलाई नै एउटा पुस्तकका रुपमा लिई प्रकृतिमा रहेका मानव, मानवेतर प्राणी र निर्जीव पदार्थबिचको सम्बन्धको अध्ययन गर्ने समालोचनालाई पर्यावरणीय समालोचना भनिने कुरा बताउँछिन् (२०७२, पृ.१९२–१९५)। उनले पर्यावरणीय समालोचनालाई सांस्कृतिक समालोचनाको एउटा महत्वपूर्ण पक्षका रुपमा उल्लेख गर्दै मानव र प्रकृति तथा मानव र पर्यावरणको सम्बन्धको अध्ययन गरी पर्यावरणीय साहित्यिक बौद्धिक विमर्शको निर्माण गर्ने कार्यको मुख्य पक्ष रहेको धारणा प्रस्तुत गरेकी छिन् ।

पर्यावरणीय समालोचनासम्बन्धी माथि प्रस्तुत गरिएका परिभाषाहरुले यसको उद्देश्य के हो, यो के गर्न चाहन्छ भन्ने कुरालाई हाम्रा अगाडि राख्छन् । सामान्य अर्थमा पर्यावरणीय समालोचना पर्यावरणसँग सम्बन्धित साहित्यको अध्ययन हो । यसले साहित्य र प्रकृतिबिचको सम्बन्धको अध्ययन गर्छ र समग्र साहित्यिक सांस्कृतिक पाठहरुमा प्रकृतिको प्रतिनिधित्व कसरी भएको छ भनेर हेर्छ । यससँग आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक पक्षहरु जोडिएर आउँछन् । एकातिर यो पर्यावरणीय सरोकारलाई केन्द्रमा राखेर गरिएको साहित्यको अध्ययन हो, अर्कातिर पर्यावरणको संरक्षण र सम्बद्र्धनमा साहित्यको सरोकार र भूमिकाको खोजी पनि हो । प्रकृति र मनुष्यबिचको सम्बन्ध, मनुष्य र मानवेतर प्राणीबिचको सम्बन्ध, मनुष्यका क्रियाकलापले प्रकृतिमा पारेको असर, प्रकृतिसम्बन्धी मनुष्यका हेराइ र बुझाइ, समाजव्यवस्था, आधुनिकता, औद्योगिकीकरण, सहरीकरण, उपभोक्तावाद, भूमण्डलीकरण, प्रविधिको विकास आदिका कारण पर्यावरणमा परेको गम्भीर असर, पर्यावरण विरोधी चिन्तनको प्रतिवाद, प्रकृतिप्रेम, पर्यावरण संरक्षणका निम्ति चलेका आन्दोलन, पर्यावरणसम्बन्धी विविध विचार आदि सबै पर्यावरणीय समालोचनाका सरोकारका विषयहरु हुन् । यसले पर्यावरणीय अध्ययन पर्यावरणीय आन्दोलनसँग जोडिनुपर्छ भन्ने ठान्छ र यससम्बन्धी सामाजिक विमर्शहरुमा आधुनिकता, सहरीकरण, विकास, जनसांख्यिकी आदि सरोकारका विषय बन्नुपर्छ भन्छ । पर्यावरणीय समालोचनाले संसारलाई, प्रकृतिलाई नै एक पाठका रुपमा लिदै त्यहाँ पर्यावरणीय तस्बिरलाई नियाल्ने कार्य गर्छ । प्रामाणिक पाठहरुमा पर्यावरणीय जागरण पाइनुपर्छ भन्ने दृष्टिकोण पर्यावरणीय समालोचनाले राखेको पाइन्छ । मानवकेन्द्रित, पितृसत्तात्मक र पुँजीवादी दृष्टिकोणप्रति पर्यावरणीय समालोचनाले आलोचनात्मक दृष्टि राख्छ । यसले नारी, प्रकृति, अजैव वस्तु र समग्र परिदृश्यप्रति तिनको व्यवहारलाई विशेष महत्व दिएर हेर्छ । विषयवस्तुका दृष्टिले पर्यावरणीय समालोचना फराकिलो देखिन्छ ।

पर्यावरणीय समालोचना एउटै सैद्धान्तिक आधार र पद्धतिमा उभिएको पाइन्न । साहित्य र पर्यावरणबिचको सम्बन्धको अध्ययन, विश्लेषण एवम् मूल्याङकनका साथसाथै यससँग सम्बन्धित अन्य महत्वपूर्ण विषयहरु पर्यावरणीय समालोचनाको केन्द्रीय सरोकारका विषयहरु भए पनि तिनलाई हेर्ने दृष्टिकोणहरु समान रहेका छैनन् । पर्यावरणीय समालोचनाले के हेर्ने र के गर्ने भन्ने विषयमा दृष्टिकोण प्रस्तुत गरिएको भएपनि एकरुपता आउन सकेको पाइन्न । विभिन्न सैद्धान्तिक दृष्टि र प्रक्रियाका माध्यमबाट तिनको अध्ययन, विश्लेषण र मूल्याङ्कन प्रस्तुत गर्ने गरिएको छ । ब्यारीले साहित्यिक पाठहरुको पर्यावरणीय समालोचनाका कोणबाट गरिने अध्ययनका सरोकारका विषयहरु उही रहे पनि पर्यावरणीय समालोचनाको वैश्विक रुपमा स्वीकृत मोडेल नभएका कारण पर्यावरणीय समालोचनामा एकरुपता नपाइने दृष्टिकोण प्रस्तुत गरेका छन् (सन् २०१०, पृ.२४८) । अब्राह्मस पनि पर्यावरणीय समालोचकहरुसँग पर्यावरणीय साहित्य अध्ययनको समान सैद्धान्तिक परिप्रेक्ष्य र प्रक्रिया नरहेको उल्लेख गर्छन् (सन् २००७, पृ. ७२) । ब्यारी र अब्राह्मसले भने जस्तै पर्यावरणीय समालोचनाका सैद्धान्तिक दृष्टि र पद्धति समान छैनन् । यसको सैद्धान्तिक र पद्धतिगत एउटै स्वरुपको निर्माण अहिलेसम्म हुन सकेको पाइन्न । यसको इतिहास पनि त्यति लामो छैन । यो विकासकै प्रक्रियामा छ र यसमा विभिन्न दृष्टिहरु क्रियाशील छन् । पर्यावरणीय विचार र आन्दोलनमा विद्यमान भिन्नता यसका आधारका रुपमा रहेका छन् । पर्यावरणीय समालोचना भिन्न–भिन्न सैद्धान्तिक दृष्टिहरुबाट प्रभावित रहँदै आएको छ । गहन पर्यावरण, पर्यावरणीय नारीवाद, तेस्रो विश्व पर्यावरणवाद, पर्यावरणीय मार्क्सवाद लगायतका पर्यावरणसम्बन्धी दृष्टिकोणहरुबाट समालोचकहरु मुक्त छैनन् । कुनै न कुनै सिद्धान्तको जगमा उनीहरु उभिएकै छन् । समालोचनामा त्यसको गहिरो छाप पर्ने नै भयो । यही भिन्नताका कारण पर्यावरणीय समालोचनाले एउटा सर्वस्वीकृत सैद्धान्तिक दृष्टि एवं पद्धति निर्माण गर्न सकेको छैन ।

पर्यावरणीय समालोचनाका सन्दर्भमा ग्लोटफेल्टी (सन्१९९६,पृ.xxiv) ले प्रस्तुत गरेका विचारहरु महत्वपूर्ण रहेका छन् । उनी पर्यावरणीय समालोचनालाई प्रथमतः साहित्यमा प्रकृतिको प्रतिनिधित्वको अध्ययन हो भन्छिन्, दोस्रो, यो प्रकृतिसँग सम्बन्धित लेखनको पुनः खोज हो र तेस्रो यसले प्रजातिहरुको प्रतीकात्मक संरचना, मानव र लिङ्सँग सम्बन्धित निर्मित विमर्शहरु र पाठको अध्ययनको सैद्धान्तिक ढाँचाहरुको विकास गर्छ भनेर उल्लेख गर्छिन् । उनको बढी ध्यान पर्यावरणीय नारीवादमा पाइने भिन्नताप्रति गएको देखिन्छ । ग्लोटफेल्टीको अवधारणाले पर्यावरणीय समालोचना के हो र यसले के गर्नुपर्छ भन्ने कुरालाई प्रस्तुत गर्छ । पर्यावरणीय समालोचनाका सन्दर्भमा बुएल (सन् १९९५, पृ.७–८)ले केही बुँदाहरुलाई महत्व दिएर उठाएका छन् । पाठको मूल्याङ्कनका निम्ति प्रस्तुत बुँदाहरुका अनुसार पाठमा मानवेतर आयामको उपस्थिति वास्तविक हुनुपर्छ, आवरण वा मुखौटोको रुपमा मात्र प्रस्तुत गरिएको हुनुहुन्न र मानव तथा मानवेतर संसारलाई एकीकृत रुपमा प्रस्तुत गरिएको हुनुपर्छ । मानव अभिरूचि वा चाहनालाई अरूलाई भन्दा विशेष अधिकार प्रदान गरिएको हुनुहँुदैन । पाठहरुले मनुष्यलाई पर्यावरणप्रति जबाफदेही देखाउनुपर्छ र उनीहरुबाट पर्यावरणीय विनाशलाई सहयोग पुग्ने गरी कुनै कार्य गरिएको हुनुहुँदैन । पर्यावरणलाई स्थिर अवस्थाका रुपमा होइन प्रक्रियाका रुपमा लिइएको हुनुपर्छ । बुएलका मान्यताहरुले पर्यावरणीय समालोचनाले पाठमा पर्यावरणीय सचेतना र सरोकारलाई कसरी हेरिनुपर्छ र मूल्याङ्कन गरिनुपर्छ भन्ने कुरा अघि सारेका छन् । रूकेर्ट (सन् १९९६, पृ.१०५–२३)ले पर्यावरणीय दृष्टिकोणबाट कविताको पठनका सन्दर्भमा प्रस्तुत गरेका विचारहरु पनि पर्यावरणीय समालोचनाका सन्दर्भमा महत्वपूर्ण रहेका छन् । उनी विशिष्ट पर्यावरणीय अवधारणाका आधारमा कविताको अध्ययन गरिनुपर्छ भन्छन् । उनी कविता शक्तिको भण्डारण हो र यसको पठन शक्तिको स्थानान्तरको प्रक्रिया हो, कक्षाकार्य कविताको शक्तिलाई सिर्जनशीलता र समुदायको विकासका निम्ति प्रयोग गर्ने गरी गरिनुपर्छ र शक्तिका स्रोतहरुसँग सबै अन्तर्सम्बन्धित रहेको हुनुपर्छ भन्दै तर त्यो प्रकृतिको विपरीत हुनुहुन्न भन्छन् । पाठकले जसरी शिक्षाशास्त्र, इतिहास, सामाजिक न्यायका बारेमा चासो राख्छन् त्यसै गरी साहित्य पढ्दा हामीले पृथ्वीप्रतिको हाम्रो जिम्मेवारी एवम् पर्यावरणीय दृष्टि गुमाउँदै त छैनौं भनेर प्रश्न गर्न सक्नुपर्छ भन्ने कुरामा उनको विशेष जोड रहेको पाइन्छ । उनी पर्यावरणीय दृष्टिसहित साहित्य रचिनुपर्छ भन्ने कुरामा जोड दिन्छन् । आफ्ना सरोकारहरु अनुसार पाठको अध्ययन, विश्लेषण र मूल्याङ्कनका निम्ति यसले विभिन्न ढाँचा, पद्धति र दृष्टिहरुको उपयोग गर्दै आएको छ । पर्यारवरणीय समालोचना अन्तर्अनुशासनात्मक वा अन्तर्विषयक भएकाले यसले विभिन्न क्षेत्रबाट अवधारणा र प्रक्रियाको सहयोग लिएर आफ्नो कार्यलाई अघि बढाउने कार्य गर्दै आएको हो ।

पर्यावरणीय समालाचनाले साहित्य र प्रकृतिबिचको सम्बन्धलाई केन्द्रमा राखेर अध्ययन गर्ने प्रक्रियालाई अघि बढाएर साहित्यका क्षेत्रमा एक नयाँ समालोचनादृष्टिलाई अघि सारेकै हो । साहित्यमा प्रकृतिको प्रतिनिधित्वको अध्ययनका रुपमा मात्र सीमित नरहेर पर्यावरण र साहित्यसम्बन्धी समग्र विमर्श यसको सरोकारको केन्द्रमा रहेको पाइन्छ । उत्तरआधुनिकतावादको अन्त्य होइन, यससम्बन्धी विमर्श अलि कमजोर भएको बेलामा प्रकृति, पर्यावरण र साहित्यलाई जोडेर यसको जन्म भएको थियो । पर्यावरणीय अध्ययन र आन्दोलनको आरम्भ अलि पहिलेदेखि भइसकेको थियो । पर्यावरणसम्बन्धी अध्ययन र आन्दोलनमा उत्तरआधुनिकतावादको प्रभाव नै परेको छैन भन्ने होइन । पर्यावरणीय मार्क्सवादमा समेत यसको प्रभावलाई नियाल्न सकिन्छ । खास गरी स्थापित सैद्धान्तिक मान्याताहरुको आलोचना र पर्यावरणीय अध्ययनमा सांस्कृतिक पाठ र जाति, लिङ्ग, जस्ता श्रेणीहरुको प्रतिनिधित्व र पर्यावरणलाई त्यससँग जोडेर गरिने विश्लेषणमा यसलाई हेर्न सकिन्छ । अब्राह्मसले (सन् २००७, पृ. ७२) पर्यावरयणीय समालोचनाले परम्परावादी दृष्टिबाट मात्र होइन उत्तर संरचनावादी, उत्तरऔपनिवेशिक दृष्टिबाट पनि पर्यावरणीय साहित्यलाई हेर्छ भनेर उल्लेख गरेका छन् । फोस्टर (सन् २००७, पृ. १७१) ले हरित विचार आफ्नो उत्तरआधुनिक, उत्तरप्रबोधन परिप्रेक्ष्यका माध्यमबाट बुझिन्छ भनेर पटक पटक हामीलाई भनिन्छ भनेर यसै सन्दर्भमा उल्लेख गरेको देखिन्छ । खास गरी पर्यावरणसम्बन्धी मार्क्सको हेराइ र बुझाइको आलोचनाको सन्दर्भमा यस्तो दृष्टिकोण व्यक्त भएको पाइन्छ । उत्तरसंरचनावादी दृष्टिकोण र गहन पर्यावरणवादी दृष्टिकोणका बिचमा कैयौं पक्षमा पाइने समानतालाई यहाँनेर ध्यान दिन आवश्यक छ । प्रकृतिलाई संस्कृति र विचारधारात्मक रुपमा संरचित संरचनाका रुपमा हेर्ने यसको दृष्टिकोणमा उत्तरआधुनिकतावादको प्रभाव पाइन्छ । उत्तरआधुनिकतावादले महाख्यानलाई अस्वीकार गर्यो र बहुलतालाई महत्व दियो । यो प्रवृत्तिबाट पर्यावरणीय समालोचना पनि प्रभावित रहेको छ । गौतम (२०६४, पृ.२०७) वाताकाव्यशास्त्र सांस्कृतिक तथा साहित्यिक एकलवादको विरोधी भएकोले अन्य अवधारणा, विचार र चिन्तनहरुबाट सहयोग लिने अन्तर्अनुशासनात्मक, पारअनुशासनात्मक एवम् बहुअनुशासन प्रेरित साहित्य सिद्धान्त हो भन्दै वातावरणवादको साहचर्य उत्तरआधुनिकतावाद र उत्तरसंरचनावादसँग भएकोले अद्यतन वातावरणवाद वा उत्तरवातावरणवाद वाताकाव्यशास्त्रको आधार हो भन्छन् । भट्टराईले पर्यावरणीय समालोचनालाई उत्तरआधुनिक चेतनाले खोलेको सिर्जना र समालोचनाको नयाँ बाटोको रुपमा उल्लेख गरेका छन् (२०६४, पृ. २०२)। पर्यावरणीय समालोचनालाई सम्पूर्ण रुपमा उत्तरआधुनिकतावादी, उत्तरसंरचनावादी हो भनेर भन्नु उपयुक्त हुँदैन तर यसमा क्रियाशील कयौं दृष्टिहरुमा उत्तरआधुनिकतावाद र उत्तरसंरचनावादको छाप छ । यसको प्रभाव प्रक्रिया र पद्धतिमा पनि देखिन्छ । पर्यावरणीय अध्ययन र समालोचनामा पवित्रतावादी, आध्यात्मिक, रहस्यवादी, नीतिवादी धारणाहरु बलियै रुपमा उपस्थित भएका पाइन्छन् । एकातिर पर्यावरणमाथिको संरचनागत प्रहारको तिखो आलोचना पाइन्छ भने अर्कातिर पर्यावरण संरक्षणका निम्ति प्रस्तुत बाटाहरु भावुक र कल्पनाशील पाइन्छन् ।

पर्यावरणीय समालोचना स्वच्छन्दतावादबाट पनि गहिरो गरी प्रभावित रहेको छ । स्वच्छन्दतावादी मान्यताहरुलाई पर्यावरणीय समालोचकहरुले उच्च महत्व दिएका छन् । ‘द सङ अफ द अर्थमा’ बेट जोनाथनले किटस, वर्डस्वर्थ, कलरिजलाई उच्च महत्व दिएर प्रस्तुत गरेका छन् । गहन पर्यावरणवादी धारणाहरुमा यसको प्रभावलाई राम्रोसँग नियाल्न सकिन्छ । ग्राम्यवादको अवधारणालाई पर्यावरणीय अध्ययनमा महत्वपूर्ण मानिन्छ । ग्राम्य जीवनको आदर्शीकरण र औद्योगिक एवम् नागर जीवनको आलोचना यसको विशेषता हो । ग्राम्यवादले प्राकृतिक जीवनलाई महत्व प्रदान गर्छ । सरल र प्राकृतिक जीवनपद्धति यसका निम्ति प्रिय रहेको पाइन्छ ।

६. निष्कर्ष
पर्यावरणीय समस्या र सङ्कट बढेसँगसँगै पर्यावरणीय अध्ययनतिर ध्यान आकृष्ट भयो र अध्ययन एवम् आन्दोलनलाई सँगसँगै जसो अगाडि बढाइयो । पर्यावरण अध्ययनको विषय मात्र बनेन् सङ्घर्षको विषय पनि बन्यो । मनुष्यको प्रकृतिप्रति चासो र प्रेम प्राचीन समयदेखि पाइए पनि पर्यावरण सङ्कट, यससम्बन्धी अध्ययन र आन्दोलन पुँजीवादको विकासका परिणाम थिए । पर्यावरणीय सङ्कटको मूल कारकका रुपमा पुँजीवाद रहेको छ । पुँजीवाद आर्थिक प्रणाली मात्र होइन । यसलाई आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक प्रणालीको समष्टिका रुपमा लिइन्छ । पर्यावरण सङ्कटप्रति गम्भीर सरोकारकै क्रममा यससम्बन्धी विभिन्न दृष्टिकोणहरु देखापरेका थिए । पर्यावरणीय नारीवाद, पर्यावरणीय मार्क्सवाद, तेश्रो विश्व पर्यावरणवाद आदि यसका दृष्टान्त हुन् । पर्यावरणीय अध्ययनमा पर्यावरणवाद, पारिस्थितिकीवाद, गहन पर्यावरण, सतही पर्यावरण, मानवकेन्द्रित अवधारणा, प्रकृतिकेन्द्रित अवधारणा, ग्राम्यवाद, पवित्रतावाद, पर्यावरणीय नैतिकता, सर्वसंहारवाद, स्थिरता, आत्मिक रुपान्तरण, पर्यावरणीय केन्द्रवाद आदि जस्ता पदावली र धारणा महत्वपूर्ण मानिन्छन् । हेउडका शब्दमा पर्यावरणवादको मुख्य सार ‘प्रकृतितर्फ फर्क’ नै हो । पर्यावरणीय मार्क्सवाद र पर्यावरणीय मार्क्सवादी नारीवादीहरुमा पुँजीवादको गहिरो आलोचना र वैकल्पिक व्यवस्थाको आग्रह पाइए पनि यसले मार्क्सवादको क्रान्तिकारी सारतङ्खवलाई राम्रोसँग पक्रन सकेको पाइन्न । अन्य दृष्टिकोण र धारणामा पुँजीवादको आंशिक आलोचना पाइए पनि ती बढी कल्पनिक, पवित्रतावादी र भावनात्मक हेराइबाट प्रभावित छन् । पर्यावरणीय अध्ययन, दृष्टिकोण र आन्दोलनको सबैभन्दा ठुलो सीमा भनेकै यसको अवैज्ञानिक विश्वदृष्टिकोण, आधिभूतवादी चिन्तनप्रणाली, समस्याको भावनात्मक अध्ययन र समाधानको उपयुक्त मार्गको अभाव नै हो ।

साहित्यमा प्रकृतिले अभिव्यक्ति प्राचीन समयदेखि पाएको छ । पूर्व र पश्चिम दुवैतिर यसका सुन्दर दृष्टान्तहरु रहेका छन् । पुँजीवादको विकाससँगसँगै पर्यावरणीय सङ्कट बढदै जान थालेपछि साहित्यको पनि यो गम्भीर सरोकारको विषय बन्यो । साहित्यमा प्रकृतिको विनाश र पर्यावरणीय सङ्कटलाई आलोचनात्मक दृष्टिसहित प्रस्तुत गरियो र यस विरुद्ध जागरण र आन्दोलनको आवश्यकतालाई औंल्याइयो । साहित्यले सङ्घर्षचेतनाको निर्माण गर्न भूमिका सम्पादन गर्यो । पर्यावरणीय समालोचना साहित्य र पार्यवरणबिचको सम्बन्धको अध्ययनका रुपमा अगाडि आयो । यसको मुख्य अभीष्ट साहित्य र पर्यावरणबिचको सम्बन्धको अध्ययन रहे पनि यसको भूमिका पर्यावरण विनाशका कारकहरुका विरmद्ध सङ्घर्ष र पर्यावरणमैत्री समाजनिर्माणसम्म विस्तार भएको पाइन्छ । यो प्राज्ञिक अध्ययन र आलोचना मात्र नभएर एकप्रकारको आन्दोलनका रुपमा पनि रहेको छ । पर्यावरणीय समालोचनाले विभिन्न ज्ञान शाखाहरुबाट दृष्टि र उपकरणहरु ग्रहण गर्दै अध्ययन, विश्लेषण र मूल्याङ्कनको कार्यलाई अघि बढाएको छ । यसको वैश्विक रुपमा स्वीकृत एउटै पद्धति पाइन्न । उत्तरआधुनिकतावादी, उत्तरसंरचनावादी एवं उत्तरऔपनिवेशिक दृष्टिकोणहरुको प्रभाव पनि यसमा परेको छ । यो मूलतः साहित्यिक सांस्कृतिक पाठहरुको अन्तर्वस्तुमा केन्द्रित रहेको पाइन्छ । यसको आलोचनात्मक दृष्टिमा रहेका कमजोरीहरुका कारण न यसले पाठको मूल्याङ्कन वस्तुनिष्ठ ढङ्गले गर्न सकेको देखिन्छ न त पर्यावरण सङ्कटलाई सम्बोधन र समाधान गर्ने गरी साहित्यको भूमिकाका सन्दर्भमा समुचित वैचारिक आधार नै प्रदान गर्न

सन्दर्भसामग्री
एटम, नेत्र (२०७०). अन्तर्विषयक नेपाली समालोचना. काठमाडौंः एकता बुक्स डिष्ट्रिव्युटर्स प्रा.लि. ।
किरणः मोहन वैद्य (२०७७). मार्क्सवादी समालोचना. काठमाडौंः शमी साहित्य प्रतिष्ठान ।
गौतम, कृष्ण (२०६४). उत्तरआधुनिक जिज्ञासा. काठमाडौंः भृकुटी एकेडेमिक पब्लिकेसन्स ।
त्रिपाठी, गीता (२०७२). “समकालीन नेपाली कवितामा पर्यावरण”. प्रज्ञा समाकलीन नेपाली कविता विमर्श (सम्पा.) काठमाडौंः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
भट्टराई, गोविन्दराज (२०६४). उत्तरआधुनिक विमर्श. काठमाडौंः मोडर्न बुक्स ।
भट्टराई, रमेश, (२०७०). समय, सौन्दर्य, पर्यावरण र कविता. काठमाडौंः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
फोस्टर, जोन बेलेमी (२००७). “मार्क्स और पर्यावरण”, इतिहास के पक्ष मे (सम्पा.) दिल्लीः ग्रंथशिल्पी ।
मिश्र, शिव कुमार (२०१०). मार्क्सवादी साहित्य चिन्तनः इतिहास तथा सिद्धान्त. नयी दिल्लीः वाणी प्रकाशन ।
सिंह, नरिंदर (२०११). संस्कृति, शिक्षा और लोकतन्त्र. दिल्लीः ग्रन्थशिल्पी ।

Abrams, M.H. (2007) . A Glossary of literary terms. Delhi: Thomson.

Angels, Frederick (1975). Housing Question. Masco: Progress publishers.

Barry, Peter (2011). Beginning theory. New Delhi: viva Books.

Buell, Lawrence (1995). The Environmental Imagination. London: Princeton University.

Foster, John Bellamy and Burkett, Paul (2010). Marx and the earth an anti-critique. Brill: Boston.

Foster, John Bellamy (2000), Marx’s Ecology: Materialism and Nature. New York: Monthly review press.

Glotflty, cheryll and Harold Fromm (1996). The Ecocriticism Reader: Landmarks in Literary Ecology. Athens and London: University of Georgia press.

Hey wood, Andrew (2011). Political ideologies. New York: Palgrave.

Kerridge, Richard (2007). “Environmentalism and Ecocriticism“. Literary Theory and criticism (Edit.). Patricia Waugh. New York: Oxford.

Marx, Karl (1954) Capital iii. New York: International Publishers

Marx, Karl (1975) Early Writings. New York: Vintage.

Nayar, Pramod K. (2011). Contemporary Literary and cultural Theory. Delhi: Longman.

Rigby, Kate (2007). “Ecocriticism”. Introducing criticism at the 21st century (edt.) Delhi: Rawat Publications.

(इच्छुक सांस्कृतिक प्रतिष्ठानबाट प्रकाशित प्रवर्तक अङ्क आठबाट साभार –सं)