बोलेर मात्र के हुन्छ

बोलेर मात्र के हुन्छ

बोलेर मात्र देश बन्ने भए
म बिहान भालेको डाँकबाट बोल्न थालेर
बेलुकी झ्याँउकिरी कराउने बेलासम्म बोलिरहन्थें
लेखेर मात्र देश बन्ने भए
म ठेलीका ठेलीका किताब लेखिदिन्थें
लेखेर नै दिनहुँ पत्र पत्रिका पाना भरिदिन्थें
गाली गरेर मात्र देश बन्ने भए
म शब्दकोशबाट शब्द खोजी खोजी
दिन रात गाली गरिरहन्थें
पर्चा पम्पलेटले मात्र देश बन्ने भए
म रातारात पर्चा पम्पलेट छरेर
संसार ढाकिदिन्थें
भित्ते लेखनले मात्र देश बन्ने भए
म कतै कुनै भित्ता
एक बित्ता पनि
खाली राख्ने थिइन
साराका सारा भित्ताहरू रंगाइदिन्थें
नाराले मात्र देश बन्ने भए
म चौबिसै घण्टा
तीन सय पैसठ्ठी दिन नै
आकाश नै थर्काउने गरी
धरती नै हल्लाउने गरी ड
नारा घन्कारहन्थें
भाषणले मात्र देश बन्ने भए
पहाड जत्रो बिशाल मंच खडा गरेर
चारै दिशा र चारै कोणमा माइक फिट गरी
कुरै पछि ताली ठोक्ने
कुरै पछि मान्छे जुरुक्क जुरुक्क उठाउने
दमदार भाषण दिन्थें
देश बन्नलाई त
सही दर्शन चाहिन्छ
सही राजनीति चाहिन्छ
सही कार्यक्रम चाहिन्छ
सही रणनीति
सही कार्यनीति चाहिन्छ
सही प्रयोग चाहिन्छ
सही दिशा चाहिन्छ
सही दृष्टिकोण चाहिन्छ
सही भिजन चाहिनछ
सही बिचार चाहिन्छ
सही आन्दोलन चाहिन्छ
सही उथलपुथल चाहिन्छ
सही क्रान्ति चाहिन्छ
सही निर्माण चाहिन्छ
संकल्प चाहिन्छ
प्रतिबद्धता चाहिन्छ
समर्पितता चाहिन्छ
साहस चाहिन्छ
दृढता चाहिन्छ
दूरदर्शिता चाहिन्छ
इमान्दारिता चाहिन्छ
त्याग तपस्या चाहिन्छ
आफ्नो लक्ष्यप्रति
अटुट आस्था र आत्म विश्वास चाहिन्छ ।
१७-१२-२०७९