
२०५५ चैत्र ५ मा काभ्रेको अनेकोटमा जनताका बस्तीमा जागरणका गीत, मुक्तिका गीत गाउँदा गाउँदै दुश्मनले घेरा हालेर बाल–कलाकारहरु समेत नभनी गितार, मादल, सारंगीलाई थ्री नट थ्री, एसएलआरभन्दा खतरनाक सम्झ्यो र घर घेरा हालेर बर्बरतापूर्ण हत्या ग¥यो । स्वतन्त्रता र मुक्तिका गीत सङ्गीत दुश्मनका लागि बम र बारुद भन्दा विष्फोटक सावित भए । क. च्याङ्ग्बा लामा, सुभद्रा देवकोटासहित आठ जना जनकलाकारलाई आश्रय लिई बसेको घरभित्रै थुनेर आगो लगाएर पाशविक हत्या ग¥यो । बाल कलाकारसहितका निशस्त्र कलाकार माथिको यो बर्बरताले आतङ्क र भयको सट्टा बदलाभाव सृजना ग¥यो । एक मारे हजार उठछन् भन्ने (धु्रव ज्ञवाली) को गीतझैँ देश जुरुक्क उठ्यो । यसैगरी रोल्पा, जाजरकोट, गोर्खालगायत देशभर भएका कलाकर्मीहरुका हत्या विरुद्धको दिवसको स्मरणमा आज हामी जुटेका छौँ ।
चैत्र ५ लाई स्मरण गरिरहँदा आँखा अगाडि यातनाले थिलथिलो पारिदा पनि नझुकी मृत्यु रोज्ने इच्छुक, सामूहिक बलात्कारको चीत्कार सहेर नगल्ने शारदा, जिउँदै आँखा झिकेर जलाउदा पनि नझुक्ने कुमारी, शिव श्रेष्ठ, ध्रुव ज्ञवालीलगायत सयौंको सिङ्गो तस्वीर खडा हुन्छ । थाहा छ पाइला पाइलामा मृत्यु छ भनेर, दुश्मनको फन्दामा कहाँ र कहिले फसिने हो ठेगान छैन । अनिश्चयको यात्रा छ । तर पनि कहीँ नरोकी बिना सम्झौता मृत्यु रोज्न लालायित छ । हजारौंको लामबन्दीमा मुक्तिको जीजिविषा बाहेक अरु कुनै सपना नै थिएन । पुरातनको ध्वंस नभै नूतन संस्कृतिको निर्माण हुँदैन । त्यही नूतन संस्कृति निर्माणमा खातिर हजारौंको बलिदान, त्याग, वीरताका अद्वितीय शृङ्खला कायम छन् । आँखा अगाडि सहयोद्धा ढलेको छ, आगो ओकली रहेको राइफल खोस्न बढिरहेका हुन्थ्यौं । के यो क्रान्तिकारी रोमाञ्च मात्रै थियो÷हो त ? हिटलरको ग्याँस च्याम्बरको झल्को दिने दुश्मनका यातना शिविर भोग्न किन तयार हुन्छ मान्छे ? बेल्ना पेलेर महिनौं आफ्नो खुट्टाको सहाराले खडा हुन नसक्दा पनि, पिन ठोकेर पाकी रहेका औंलाहरुले गाँससमेत च्याप्न नसक्दा, नुनचुक लाएर तडपाउँदा पनि यातनाको सबै दस्तावेज खुसी खुसी स्वीकार गर्नु कुन संस्कृति थियो÷ छ त ? जनताका छोराछोरी मात्रै मरे, नेताहरुलाई केही भएन भन्ने गलत भाष्य बनाइँदै छ । त्यति बेला परिवारलाई राजनीतिकरण गर्नुपर्छ भनेर परिवार नै आन्दोलनमा होमिएको हो । मुर्खहरु, के मृत्यु उत्सव मान्ने हुल्लडहरुको जमघट मात्रै हो त जनयुद्ध ?
आजको दिन त्याग, बलिदान र समर्पणका कालजयी योद्धाहरुको सम्मान र सम्झनामा सौन्दर्य शास्त्री कमरेड चैतन्य, निनु चापागाईं, प्रा.डा. ताराकान्त पाण्डेय, प्रा.डा जगदीशचन्द्र भण्डारीलगायत सहभागी कार्यक्रममा हामी सहभागी छौँ । नयाँ वा प्रतिरोधी संस्कृति निर्माणका थुप्रै औपचारिक वहसमा हामी सहभागी भएका छौँ । प्रतिरोधि संस्कृति निर्माणको विषय दर्शनको शास्त्रीय बहसभन्दा पनि जीवन पद्धति हो, व्यवहार हो । कसले कुन संस्कृतिको पक्षपोषण गर्छ र कस्तो जीवन शैली अपनाउँछ, पहिचान गर्ने आधार हुनसक्छ । हिजो आफू मात्रै नभई परिवार सबै युद्धमा होमियौं । सामूहिक जीवन पद्धति भत्किएका कारण उत्पीडित उपेक्षित वर्गबाट आएकाहरु आन्दोलनमा टिक्न÷ टिकाउन सकिएन । पारिवारिक नाताभन्दा वर्गीय नाता ठुलो भनेर जीवन त्यतै डोरियो । कमरेडली एकता अनुपम थिए । एउटालाई गोली लाग्दा त्यसको पीडा अर्कोले बोध गर्ने भएको कारण जोखिमभित्र सहजता हुन्थ्यो । आज प्रतिक्रान्तिले जीवनशैली भद्दा बनेका छन् । हिजो सबभन्दा प्रिय लाग्ने कतिपय मान्छेहरु आज सबैभन्दा घृणित पात्रमा फेरिएका छन् । प्रतिक्रान्त्तिकारीहरु प्रतिक्रियावादमा पतन भइसकेका छन्, तिनीहरु बारे बोली रहनु जरुरी छैन । हामी क्रान्तिकारीहरु पनि तिनका बाछिटाले निथ्रुक्क भिजेका छौँ । नेतृत्व प्रतिको अगाध विश्वासमा धोका भएका कारण आज अविश्वासको पल्ला भारी बनेको छ । माओवादी भनेर चिनिन गौरव लाग्ने ठाउँबाट लालसलाम भन्न लजाउने ठाउँमा आइपुगेको छ । सामूहिक उत्पादन, सामूहिक जीवनप्रति विश्वास मरेको छ । जसको कारण व्यक्तिगत पेसा व्यवसाय सफल हुने र सामूहिक कामहरु असफल बन्दै छन् । मानिसको जीवन शैलीमा संस्कृति अभिव्यक्त हुन्छ । प्रतिक्रान्ति विरुद्ध उर्जा दिने नूतन संस्कृति निर्माण गर्न नसकेको कारण यो परिणाम आएको हो । त्याग, समर्पण, ऊर्जा, उत्साह र सपनाहरु उचाईबाट खसेका सिसाझैँ चकनाचुर भएका छन् । चाङ लगाउने हो भने सहिदहरुको सगरमाथा र बगेका रगतको नदी मूल नेतृत्वको सनकले ध्वस्त भयो । हामीले केही गर्नै सकेनौँ । युद्धको आवश्यकताले बनाएको प्राधिकार क्रान्ति सिध्याउने आदेश बन्दा केही गर्न नसक्ने कसरी बन्यो ? हामीले कस्तो संस्कृति निर्माण गरिएछ ? त्यही प्रतिकारपूर्ण नेतृत्वका कारण आन्दोलन ध्वस्त भयो, सबै माओवादी एकै हुन भन्ने मनोविज्ञान तोड्न नसकेकै कारण हामी फरक धारमा छौँ भन्ने स्थापित गर्न सकिरहेका छैनौँ । उत्पीडित उपेक्षित वर्गलाई मन छुने नारा दिएर हाम्रो लागि लड्ने कुनै शक्ति छ र हामी आफैं लड्न पर्छ भन्ने बनाउन सकिएको छैन । आज हाम्रो निम्ति यो गम्भीर चुनौती बनेको छ । वर्गसंघर्षको उभारका बेला महिला सहभागिता संसार चकित पार्ने खालको थियो । शान्ति प्रक्रियामा आइसकेपछि त्यो उल्टो दिशामा पछि हट्यो । पार्टीभित्र पूर्णकालीन जिम्मेवारीमा रहेका दम्पतीमध्ये श्रीमान् पार्टी काममा निरन्तर खट्ने र श्रीमती फेरि घर फर्केर परिवार सम्हाल्ने स्थिति देखाप¥यो । लिङ्ग भेद पार्टीभित्रै देखा परिहाल्यो । महिलाले राजनैतिक साङ्गठनिक जिम्मेवारी सम्हाल्ने गरी पुरूषले पारिवारिक व्यवस्थापन गर्नेतर्फ हामीले सोच्नसमेत सकेनौं । प्रतिरोधी संस्कृति निर्माणको यो जब्बर चुनौती हो ।
हिजो आफैँले स्थापित गरेको संस्कृति निर्ममतापूर्वक हाम्रो जीवन शैली बनाउनु प¥यो । माओवादी आन्दोलन बाहिर पनि प्रतिरोधका भुल्काहरु उठिरहेका छन् । विद्यमान संस्कृति विरुद्ध गरिने स–साना प्रतिरोधहरुलाई संस्थागत गरिनुपर्छ । उत्पादन, श्रममा जोडिएर श्रमजीवीहरु तर्फ फर्कनुपर्छ । हिजोको बलिदानलाई अझै धेरै स्थापित गरेर त्यही अनुरुप ढालेर नयाँ संस्कृति निर्माणका निम्ति निरन्तर क्रान्ति नै आजको आवश्यकता हो ।
(इच्छुक साहित्यिक त्रैमासिक अङ्क नौबाट साभार –सं)